जसको 'भाग्य'ले जापानी फौजको कब्जामा परेका बा फर्किएर आए

जसको 'भाग्य'ले जापानी फौजको कब्जामा परेका बा फर्किएर आए

डाक्टर देशराज बहादुर कुँवरको जीवन खोतल्नु पहिले उनका बारेमा छोटो परिचय प्रस्तुत गर्नु राम्रै होला।

नेपालको मनोचिकित्साको इतिहासमा पहिलो डा. विष्णुप्रसाद शर्मालाई मानिन्छ। दोस्रो उनै डा. कुँवर हुन्। करीब २५ वर्ष अगाडि डा. विष्णुप्रसाद शर्माको देहान्त भयो। अहिले मनोचिकित्साको ज्युँदो इतिहास डा. कुँवर हुन् भन्दा फरक नपर्ला।

वि.सं. १९९४ मंसिर १८ मा जन्मिएका डा. देशराज यही महिना आफ्नो ८७औं जन्मदिन मनाउने तरखरमा छन्। पोखरा स्थित हेम्जामा जन्मिएका डा. देशराजलाई उनको बाले १४ महिनाकै छँदा छाडेर दोस्रो विश्वयुद्धका लागि विदेश गए। आफ्नो भाइलाई आमाको गर्भमा नै छाडेर विदेश गएका बालाई कुँवरले साढे चार वर्षपछि मात्र भेटे।

'ब्रिटिसका तर्फबाट लडेका मेरा बा लगायत ५० हजार ब्रिटिश फौजलाई जापानी फौजले बन्धक बनाएको थियो। तीमध्ये पाँच हजार बन्दी मात्र मुक्त भएर फर्किन सके। त्यसमा मेरा बा पनि पर्नुभयो। उनी भन्छन्, 'हाम्रो भाग्यले बा फर्कनुभयो।'

बाले उनलाई भनेअनुसार जापानी सेनाको कैदमा बाँच्न निकै कठिन थियो। खान एक छाक रोटी दिन्थे। त्यो पनि माथिबाट फालेर। त्यसरी फालेको रोटी धेरै फेला पार्नेले धेरै खान्थ्यो अनि थोरै फेला पार्नेले थोरै। लगाउन एउटा कट्टु मात्र दिने गर्थे रे। बडो दर्दनाक अवस्था थियो रे त्यहाँ। बुबाहरू त ज्यान जोगाएर भाग्न सके। बाँकीको अवस्था के भयो खोजी नै भएन।

आफू जन्मेको ठाउँमा स्कूल थिएन। काउराको रुखमुनि एक पण्डितको सहारामा पढ्ने र पढाउने काम शुरु भयो। कुँवरले दुवो काटेर पाटी बनाउँथे अनि निगालाको कलम बनाएर लेख्ने गर्थे।

पढाइको सिलसिलामा देहरादून
६ वर्षको उमेरमा आफ्ना बासँग भारतको देहरादून पुगेका कुँवरले त्यहाँ एक कक्षादेखि नै पढ्न थाले। न्वारनको नाम देहराज भएका कुँवरको वास्तविक नाम दिलबहादुर हो।

आफ्ना शिक्षकले नाम के हो भनेर सोध्दा उनी 'देहराज' भन्ने गर्थे। शिक्षकले उनको बोली नबुझेर हाजिरकापीमा देशराज लेखिदिएका रहेछन्। पछि उनी देशराजकै नामले चिनिन थाले।

उनी पढ्ने देहरादूनको स्कूलमा हिन्दी अनिवार्य थियो। नेपाली पढ्न पनि नपाइने। एकजना नेपाली गुरुको सल्लाह र आडभरोसमा उनले ऐच्छिक विषयका रूपमा नेपाली पढ्न पाउनुपर्छ भनेर आन्दोलन नै गरे।

स्कूल सञ्चालक समितिले उनलाई १५ जना विद्यार्थी पुर्याए ऐच्छिक नेपाली पनि पढ्न पाइने बताए। उनले भूगोल र नागरिक शिक्षा पढ्दै गरेका विद्यार्थीहरूलाई फकाएर नेपाली पढ्न राजी गराए र ९ कक्षादेखि ऐच्छिक नेपाली पढ्न पाइने भयो।

\

कहिल्यै दोस्रो नभएका कुँवर आफूले एसएलसी दिने स्कूलमा सबै शिक्षकले प्रथम श्रेणीमा उत्तीर्ण हुने आशा राखेता पनि दोस्रो श्रेणीमा पास भए। उनी त्यो दिन धेरै रोएको सुनाउँछन्।

प्रथम श्रेणीका लागि ८ नम्बर मात्र पुगेन। अन्य साथी फेल भएकोमा रोए। उनी दोस्रो श्रेणी आएकोमा रोए।

सन् १९५५ मा १७ वर्षको उमेरमा एसएसली पास गरेका कुँवरले सन् १९५७ मा आइएस्सी पास गरे। भारत स्वतन्त्र भएपछि ब्रिटिस आर्मीबाट इन्डियन आर्मी भएका बाले गर्दा नै उनले निःशुल्क पढ्न पाएका थिए।

कहिल्यै मञ्चमा गएर नबोलेका कुँवर एक वादविवाद प्रतियोगितामा भाग लिँदा प्रथम भए। प्रथम हुँदा आफूले प्राप्त गरेको नगद पुरस्कार उनले दोस्रो भएकी एक छात्रालाई दिएका थिए।

उनको पढाइको लगाब र सफलता देखेर एक हिन्दु महासंघ अन्तर्गतको समूहले उनलाई आफ्नो प्रचारप्रसारका निम्ति बोलायो। प्रचार गर्दा उनी थुनामा परे। त्यसपछि काठमाडौं फर्किएका कुँवरले कोलोम्बो प्लान अन्तर्गत एमबिबिएस पढ्न सरकारी मेडिकल कलेज, पटियाला भारत जाने मौका पाए।

देशैभरिबाट २० जना विद्यार्धी लैजाने भनिएकोमा २ सय ८० प्रतिस्पर्धी थिए। प्रतिस्पर्धा गरेर २० जनाभित्र आफूलाई अटाएका कुँवरले सन् १९५७ मा एमबीबीएस उत्तीर्ण गरे।

प्रसङ्ग विवाहको
सिमलामा नर्स पढ्दै गरेकी एक युवती पटियालामा मेल ट्रेनिङमा आउँदा उनको भेट भएको थियो। त्यो भेट विस्तारै प्रेममा बदलियो।

नेपाल फर्किएपछि उनैसँग उनको विवाह भयो। उनीहरूको विवाह काठमाडौंको एउटा मन्दिरमा सामान्य रूपमा भयाे र उनीहरूको दाम्पत्य जीवन अघि बढ्यो। उनकी श्रीमती नेपालकै पहिलो क्वालिफाइड नर्स पनि हुन्।

राजपरिवारको डाक्टर
राजा महेन्द्रले आफ्नो परिवारको निम्ति चिकित्सककाे रूपमा उनलाई छाने। उनले राजा वीरेन्द्र युवराज हुँदा उनीसँगै पूरै नेपाल घुम्न पाए।

वि.सं. २०२२ सालमा युवराज वीरेन्द्र अनि अन्य सहयोगी भएर सिन्धुपाञ्चोकको बाह्रबिसेबाट धरानसम्म पुगेको र हिँडेरै फर्किएको सम्झना उनीसँग ताजै छ। त्यो यात्रा १७ दिनसम्म हिँडेर नै पूरा गरेका थिए उनीहरूले। त्यही सम्बन्धले उनी लामो समयसम्म राजपरिवारसँग जोडिएका थिए।

'डिप्रेशन' भन्ने शब्द नै नसुनेका कुँवरले सन् १९६३ मा डिप्लोमा इन साइकोलोजिकल मेडिसिन, युनिभर्सिटी अफ लन्डनमा पढ्ने जाने अवसर पाए। त्यहाँ उनले अरूले चार वर्षमा पूरा गर्ने कोर्ष १८ महिना मै राम्रो नम्बर सहित पास गरे।

त्यो नतिजाबाट प्रभावित भएर बेलायत सरकारले उनलाई केही समय बेलायतमै राख्न चाह्यो। उनी केही समय करारमा काम गरेर नेपालै फर्किए र अहिलेसम्म नेपालमै रहेर मनोचिकित्सक क्षेत्रमा काम गरिरहेका छन्।

१५ मंसिर, २०७९, १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।