रवीले भने : गाडी फुटाएको घटनालाई अतिरञ्जित नगरौँ

रवीले भने : गाडी फुटाएको घटनालाई अतिरञ्जित नगरौँ

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले इच्छा मनकामनाको लेवाटारमा भएको घटनालाई अतिरञ्जित नगर्न आग्रह गरेका छन्।

गठबन्धनबाट चितवन-२ का उम्मेदवार उमेश श्रेष्ठको टोली अनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने समूहको बाटैमा जम्काभेटमा एक व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता चढेको गाडीको  अगाडिको सिसा फुटाएका थिए।

फेसबुक लाइभमा आएका लामिछानेले यस घटनालाई अतिरञ्जित नगर्न र आफ्ना पार्टीका कार्यकर्तालाई उत्तेजित नहुन आग्रह गरे।

'घटनाले म पनि आक्रोशित भए। तर हामीले संयमित हुनुपर्छ। अर्का उम्मेदवारले बढी मान्छे बोकेर लैजानु भएको थियो। प्रहरी प्रशासनले त्यो पनि हेरोस्' उनले भने।

प्रहरी घटनास्थलमा हुँदा पनि मूकदर्शक बनेको भन्दै उनले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै यस्ता घटना दोहोरिन नदिन प्रशासन चनाखो हुनुपर्ने बताए।

घटनामा आफूलाई केही नभएको र एक जना साथीको हातमा सानो घाउ लागेको भन्दै उनले पार्टीका सबैलाई संयमित भएर काम गर्न आग्रह गरे।

चितवनका एसपी नवराज अधिकारीका अनुसार दुवै दलको प्रचार टोलीबिच जम्काभेट भए पनि माहौल सामान्य रहेको र हात मिलाएर छुट्टिँदै गर्दा एक व्यक्तिले गाडी फुटाएको र उनको खोजी भइरहेको बताए।

२७ कात्तिक, २०७९, २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।