बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड

हेटौंडा : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्। जुन चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ। प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तिय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्मकट्टेलले बताए।

विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षातर्फ जोड दिँदै बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २४ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैगरी खानेपानी उर्जा तथा सिँचाई मन्त्रालयको लागि ९ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरको छ। 

१ असार, २०७९, २०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।