भाइरल भिडियोको घटनाबारे छानबिन गर्न इन्टेलिजेन्स र मनोपरामर्शदाता सहितको प्रहरी टोली गठन

भाइरल भिडियोको घटनाबारे छानबिन गर्न इन्टेलिजेन्स र मनोपरामर्शदाता सहितको प्रहरी टोली गठन

काठमाडौँ : मोडलिङ सम्बन्धी एजेन्सी चलाउने मनोज पाण्डेले बलात्कार गरेको दाबी आएको घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। अनुसन्धानमा हदम्याद सम्बन्धी जटिलता देखिएपछि महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वशन्तबहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा सङ्गठित अपराधको अनुसन्धानबारे जानकार महाशाखाका एसपी कृष्ण कोइराला, परामनोविज्ञान तथा डिएसपी कोपिला चुँडाल, महानगरीय प्रहरी परिसर काठमाडौँका इन्टेलिजेन्स प्रमुख हरि बस्नेत र महिला सेल प्रमुख सपना खड्का सदस्य छन् ।

बुधवार सामाजिक सञ्जालमा एक युवतीले आफूमाथि भएको यौन हिंसा र बलात्कारका घटनाबारे उल्लेख गर्दै भिडियो सार्वजनिक गरेपछि सार्वजनिक बहस सुरु भएको थियो। कानुनी हदम्यादका कारण अनुसन्धान हुन नसक्ने देखिएपछि महिला हिंसा सम्बन्धी कानुनमा रहेको हदम्याद हटाउन दबाब सुरु भएपछि गृह मन्त्रालयले समिति गठन गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो।

'अनुसन्धान प्रक्रिया सुरु गर्न देखिएका कानुनी जटिलतासँगै घटनाको गहन अनुसन्धान गर्न समिति गठन भएको छ,' समिति संयोजक तथा महाशाखा प्रमुख कुँवरले भने' अनुसन्धानलाई अगाडि बढाउन प्रहरी गम्भीर छ।'

६ जेठ, २०७९, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।