शंकरापुरकी सहायक कम्प्युटर अपरेटर समिता जो उपमेयर बनेर कार्यालय फर्कन चाहन्छिन्

शंकरापुरकी सहायक कम्प्युटर अपरेटर समिता जो उपमेयर बनेर कार्यालय फर्कन चाहन्छिन्
तस्बिर : नवराज गुरुङ

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी समिता श्रेष्ठ साँखुकी स्थानीय बासिन्दा हुन्। नेपाली कांग्रेस र एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेकी समिता अहिले अन्तिम चरणको घरदैलो कार्यक्रममा व्यस्त छिन्।

माओवादी केन्द्रकी चण्डिका दंगाल, एमालेकी लक्ष्मी केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी विजया तामाङ उनका मुख्य प्रतिस्पर्धी रहेका छन्। आफ्ना प्रतिस्पर्धीहरुलाई उम्मेदवारी दर्ता गराउने क्रममा पहिलो पटक चिनेको बताउने समिता सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने बताउँछिन्।

‘मेरा सबै प्रतिस्पर्धी महिला नै हुनुहुन्छ। हामी मित्रवत रुपमा आ-आफ्नो चुनाव प्रचारमा छौं,' उनी भन्छिन्, ‘यतिन्जेल महिला दिदीबहिनीहरु घरमै बसिरहनुभएको थियो। चुनावमा नेतृत्व लिने हिसाबले बाहिर निस्कनुभएको छ । शंखरापुर नगरबासीले जसलाई विश्वास गर्नुहुन्छ उहाँ नेतृत्वमा आउनुहुन्छ । त्यसैले मलाई डरभन्दा खुसी लागेको छ।’

को हुन् समिता ? 
साँखुकी स्थानीय बासिन्दा समिता उपमेयरमा लड्नुअघि शंखरापुर नगरपालिकाको योजना शाखामा सहायक कम्प्युटर अपरेटरको रुपमा कार्यरत थिइन्। पाँच वर्षअघिको स्थानीय निर्वाचनमा उपमेयर पदमा लड्न इच्छुक भए पनि कर्मचारी भएकोले पाइला रोकिएका थिए। नगरपालिकाको योजना शाखामा काम गर्दागर्दै चुनाव जित्न सकेमा अझै राम्रोसँग काम गरेर देखाउने अठोट लिएर उनी मैदानमा उत्रिएको बताउँछिन्।

‘योजना शाखामा बसेर काम गर्दा मलाई अझै राम्रोसँग काम गर्न सक्छु भन्ने महसुस भयो। आत्मविश्वास बढ्दै गयो,’ उनी सुनाउँछिन्, ‘उपमेयर भएर काम गर्न पाए जनतालाई अझै धेरै सेवा दिन सकिन्छ। भइरहेका र नयाँ कार्ययोजनालाई अलग तरिकाले अघि बढाउन सकिन्छ। नगरपालिकालाई मेरो खाँचो छ भन्ने लागेर मैले उम्मेदवारी दिएँ।’ 

निकै फुर्तिली समिताले शंखरापुरबासीको मन जित्ने कर्मचारीको रुपमा पहिले नै पहिचान बनाइसकेकी छिन्। स्थानीयको काम छिटो र छरितो सम्पन्न गर्ने कर्मचारीको रुपमा उनी चिनिन्छिन्। त्यस कारण पनि नगरबासी आफूप्रति सकारात्मक रहेको उनको भनाइ छ।

‘योजना शाखामा हुँदा मैले गरेको काम उहाँहरुले देख्नुभएको छ। सेवाग्राहीका काम विनाझन्झट गरिदिने व्यक्तिको रुपमा मलाई हेर्नुहुन्छ,' समिता सुनाउँछिन्, ‘भोट माग्न जाँदा पनि स्थानीयले ‘अरुहरुलाई त हामीले चिनेको पनि छैन, बैनी आउनुभयो हामी एकदमै खुसी छौं। तपाईंबाट अझै राम्रो कामको अपेक्षा छ’ भन्नुहुन्छ। उहाँहरुले विश्वास गर्नुभएको छ। उहाँहरुको मन जितेको छु जस्तो लाग्छ।’

स्थानीय समस्या
काठमाडौंभित्रका अन्य नगरपालिकाको तुलनामा शंखरापुर नगरपालिकालाई अझै पनि आर्थिक रुपमा कमजोर र पिछडिएको नगरको रुपमा हेरिन्छ। राजधानी काठमाडौका अधिकांश भेगमा खानेपानी र सडकको समस्या हल भइसकेको बताइए पनि शंखरापुर नगरपालिकाभित्र यो समस्या अझै छ।

घरदैलो अभियानमा रहेकी समितालाई स्थानीयले सुनाउने पनि यिनै समस्याहरु  हुन्, खानेपानी, बाटो, शिक्षा र स्वास्थ्य। यसबारे उनी भन्छिन्, ‘घरदैलो कार्यक्रममा जाँदा यहाँका स्थानीय दिदीबहिनीहरुले आफूले भोग्दै आएको समस्या सुनाइरहनुभएको छ। एक/दुई ठाउँमा खानेपानीको गम्भीर समस्या छ। नगरपालिकाभित्र सडक पुगिसके पनि अधिकांश सडक ग्राभेल मात्र छ। खाल्डाखुल्डी पुर्नुपर्ने छ। स्थानीयले बर्खामा हिलो, हिउँदमा धुलोको समस्या झेलिरहनुभएको छ।’

आर्थिक अवस्था कमजोर स्थानीयहरुले आफ्ना बालबच्चाको पढाइ र नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदिन समिता समक्ष माग राख्दै आएका छन् । 

‘कमजोर आर्थिक अवस्था भएकाहरुले आफ्ना बच्चाहरुलाई स्कलरसिपमा पढाइदिनुपर्यो भन्नुहुन्छ। स्वास्थ्य चौकी नभएको वडामा कम्तीमा एउटा स्वास्थ्य चौकी बनाइदिन भन्नुभएको छ। स्थानीयको माग पूरा गर्न तयार रहनेछु,’ उनी भन्छिन्।  

यदि यो स्थानीय निर्वाचनमा आफ्नो जित भएमा पहिलो चरणमा खानेपानीको समस्याको हल गर्ने योजना श्रेष्ठको छ। दोस्रो चरणमा सडक, शिक्षा र स्वास्थ्य समस्या समाधान गर्ने उनको योजना छ।

यसबाहेक सिपमुलक तालिम उपलब्ध गराउनुपर्ने त्यहाँका महिलाको माग छ। आफूहरुले जितेको खण्डमा नगरपालिकाको तर्फबाट गरिनुपर्ने कार्यमा समिता प्रतिबद्ध देखिन्छिन्। ‘हामीले जितेमा नगरबाट सकिने सबै सहयोग गर्छौं भन्ने प्रतिबद्धता राखेका छौं,’ उनी थप्छिन्, ‘दिदीबहिनीको चाहनाअनुसार सिपमुलक तालिमहरु प्रदान गर्नेछौं।’ 

यसका साथै अन्यायमा परेकालाई न्याय दिलाउने, हरेक काममा पारदर्शीता कायम गर्ने, नगरपालिकाभित्र खुलेका अनाधिकृत क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउने उनको योजना छ। 

‘घोषणापत्र चाहिँ बनाउँदै छौं तर उपमेयर पद आफैंमा न्यायिक मुद्दा हेर्ने भएकोले अन्यायमा परेकोलाई पक्षपातविना न्याय दिलाउने, सत्यमा आधारित हुने, योजना र बजेटको काममा पारदर्शिता देखाउने,  आवश्यकताअनुसार बजेटको बाँडफाँड गर्ने मेरो योजना छ,’ उनी भन्छिन्, ‘शंखरापुरमा क्रसर उद्योग धेरै खुलेको आरोप जुन छ, यसलाई कानुनी दायराभित्र बसेर काम गर्दा सही नतिजा आउँछ । नियममा छ भने ठिक छ, नियम विपरीत भएमा कारबाहीको दायरामा ल्याउँछौं। बन्दै गर्नुपरे पनि गर्छौं।’

२७ बैशाख, २०७९, १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।