वाग्मती प्रदेशले केन्द्र र सदनलाई बाइपास गर्दै ल्यायो तीन अध्यादेश

वाग्मती प्रदेशले केन्द्र र सदनलाई बाइपास गर्दै ल्यायो तीन अध्यादेश

मकवानपुर : वाग्मती प्रदेश सरकारले निजामती र स्थानीय तह कर्मचारी व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गरेको छ। सङ्घीय सदनमा विचाराधीन रहेको दुई वटा अध्यादेश जारी गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो संशोधित अध्यादेश स्वीकृत गरेको हो।

निजामती ऐन सम्बन्धी अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपश्चात् वाग्मती प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्नेछ। वाग्मती प्रदेश लोकसेवा आयोग गठन गर्ने पहिलो प्रदेश हो।

स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रमाणिकपश्चात् प्रदेश सरकारले स्थानीय तहको कर्मचारी सरुवा समेत गर्न सक्नेछ।

बैठकले प्रदेश गौरव आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधित अध्यादेश पनि स्वीकृत गरेको छ। यो सँगै हेटौँडा अस्पताल र प्रतिष्ठान अलग भएका छन्। अब प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययनका लागि हेटौँडा अस्पताललाई समेत प्रयोग गर्न सक्छ।

‘यस ऐनले चिकित्सा शिक्षालाई थप व्यवस्थित गर्दै लैजान सहजता प्रदान गर्नेछ’, स्वास्थ्य मन्त्री निमा लामाले भने।

बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि ६३ जना प्राविधिक कर्मचारी करार नियुक्ति गर्न अस्थायी दरबन्दी स्वीकृत गरेको छ। जसमध्ये कृषि तथा पशु विकास अधिकृत दश जना, पशु सेवा अधिकृत २० जना र पशु स्वास्थ्य प्राविधिक ३३ जना करारमा नियुक्ति हुनेछन्।

प्रदेश सरकार सञ्चालन गरिरहेको एक विद्यालय एक नर्स कार्यक्रमको संशोधित कार्यविधि पारित गरेको छ। प्रदेशको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई गणतन्त्र दिवस अर्थात् जेठ १५ गते विभूषण प्रदान गर्ने सरकारले तयारी गरेको उनले जानकारी दिए।

सवारी लाइसेन्स वितरण, नवीकरण र परीक्षण गर्न आवश्यक कार्यालय स्थापना गर्ने र कर्मचारी करारमा भर्ती गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। 

२३ चैत, २०७८, १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।