भिजिट भिसामा  विदेश पुर्‍याउन  गिरोह नै सक्रिय : वैदेशिक रोजगार व्यवसायीदेखि कला-सङ्गीत र खेलका व्यक्तिसम्म संलग्न

भिजिट भिसामा  विदेश पुर्‍याउन  गिरोह नै सक्रिय : वैदेशिक रोजगार व्यवसायीदेखि कला-सङ्गीत र खेलका व्यक्तिसम्म संलग्न

काठमाडौँ : भिजिट भिसामा नेपालीलाई युएई पूर्याएर अलपत्र पार्न सङ्गठित समूह नै संलग्न रहेको गृह मन्त्रालयले गठन गरेको समितिले निष्कर्ष निकालेको छ। गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा युएई लगायतका देशमा भिजिट भिसामा मानव ओसारपसार गर्न कुन– समूहका व्यक्तिहरू संलग्न छन् भन्ने खुलाइएको छ।

यसमा वैदेशिक रोजगारीमा संलग्न संस्था र व्यक्ति, टुर अपरेटर, बायु सेवा निगममा काम गर्नेहरू देखि लिएर कला, सङ्गीत र खेल क्षेत्रका संस्था र पदाधिकारीहरू समेत संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा वैदेशिक रोजगारीको खोजीमा भएका युवा युवतीहरू विभिन्न व्यक्तिहरूको सम्पर्कमा आएका गैर कानुनी तवरवाट भिजिट भिसाका माध्यमबाट विदेशमा पुर्याउने गरेको उल्लेख छ।

वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदा समेत भिजिट भिसामा पठाउने बिचौलियाले उनीहरूलाई प्रलोभन देखाई प्रभावमा पर्ने गरेको, वैधानिक प्रक्रियाबाट जाँदा समय लाग्ने र अनेकन अड्चन देखाई छिटो छरितो माध्यमबाट जाने उपायको रूपमा बिचौलियाले भिजिट भिसामा जान बाध्य पार्ने गरेको र भिजिट भिसामा पठाउँदा बिचौलियाहरूको गिरोह  सञ्जालले सक्रियता पूर्वक काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख गरिएको भिजिट भिसामा गैर कानुनी रूपमा नेपालीलाई अन्य देश लैजान सक्रिय व्यक्ति र समूहमा बिचौलिया, ट्राभल्स एजेन्टस् र टुर अपरेटरहरू, होटेल व्यवसायमा संलग्न व्यवसायी, वैदेशिक रोजगार व्यवसायसँग कुनै रूपमा सम्बन्ध रहेका संस्था र ब्यक्ती संलग्न रहेको उल्लेख छ।

वैदेशिक रोजगार अनुमतिप्राप्त व्यवसायी र संस्था, वैदेशिक रोजगार व्यवसाय प्रवर्धन, श्रम प्रतिनिधि, स्वास्थ्य परीक्षणमा संलग्न व्यक्तिहरू, अभिमुखीकरण तथा सीप विकास तालिम सञ्चालन गर्नेहरू, पैसा सटही गर्नेहरू, भिसा प्रोसेसिङ गर्नेहरू संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ।

यसै गरी भाषा प्रशिक्षक, परामर्श सेवा केन्द्र, वायुसेवासँग सम्बन्धित व्यक्तिहरू, इन्टर्नसिपका लागि विदेशमा विद्यार्थीको रूपमा पठाउने होटेल व्यवस्थापन तथा तालिम प्रदायक संस्थाका प्रतिनिधिहरू समेत यसमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार मलेसिया र दुबइमा इन्टर्नसिपका लागि सीमित विद्यार्थी पठाएर अन्य कामदारलाई इन्टर्नको रूपमा पठाउने गरेको उल्लेख छ।

तीर्थयात्रीको रूपमा पठाउने धार्मिक संस्था, कला सङ्गीत, खेलकुद क्षेत्रका संस्थाको नाममा असम्बन्धित व्यक्तिहरू लैजाने, सहकारी, कृषक समूह, उपभोक्ता समूह, बन समूह वा विभिन्न व्यवसायीक समूहको नामबाट सदस्यको रूपमा गैर सदस्य समावेश गरेर लैजाने र विद्यार्थी भ्रमण कार्यक्रम बनाएर गैर विद्यार्थीलाई शैक्षिक संस्थाहरूले लैजाने गरेको प्रतिवेदनमा उल्लेख छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेललाई राज्यका संयन्त्र नै मान्छे बेच्न सक्रिय रहेछ नि भन्ने उकेराको प्रश्नमा कर्मचारी देखि पत्रकार सम्म सबै मिलेको देखिएको बताए। ‘हामीले हेर्दा निजी देखि सरकारी निकाय गैर कानुनी रूपमा विदेश पठाउन सक्रिय रहेको पाइयो,’उनले भने, ‘यसमा कोही छुटेका छैनन्,’ उनले भने।

२० फागुन, २०७८, १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।