राजा वीरेन्द्रले पत्याएका डाक्टर
त्यो बेला डोटीमा महामारीका रूपमा फैलिएको दादुरा संक्रमण नियन्त्रण भएको साढे ८ महिनाजति भएको थियो। दादुरा संक्रमण फैलिँदा निकै खटिएका थिए डा. बाबुराम।
जिल्ला पञ्चायत सभापतिले राजा वीरेन्द्रसँग यसबारे बताएको डा. बाबुरामले सुनाए।
त्यो बेला जिल्ला पञ्चायत सभापतिले वीरेन्द्रलाई भनेको डा. बाबुरामले सम्झिए, ‘डाक्टरसा’ब (डा. बाबुराम)ले धेरै राम्रो काम गर्नुभयो। धेरै बच्चाको ज्यान जोगाउनु भयो।’
अनुमति लिएर अस्पताल छिरे राजा वीरेन्द्र
भ्रमणका क्रममा राजा वीरेन्द्र अनुमति लिएर अस्पताल प्रवेश गरेको उनी सम्झन्छन्।
डोटी अस्पतालमा राजा वीरेन्द्र पुग्दा डा. बाबुराम अस्पतालमा बिरामीको उपचार गरिरहेका थिए। डा. बाबुराम पुग्दा राजा वीरेन्द्र अस्पतालको गेटमा आइसकेका रहेछन्।
त्यो बेला राजा वीरेन्द्रले अनुमति लिएर मात्रै अस्पतालभित्र प्रवेश गरेको डा. बाबुरामले सुनाए।
उनले सम्झिए, ‘म बिरामी हेर्दाहेर्दै अलिकति ढिला भएँ। राजा गेटभित्र पसेका रहेनछन्। सबैजना बाहिर उभिए। म गेटमा गएपछि राजा वीरेन्द्रले डाक्टर म तपाईंकोे अस्पतालभित्र प्रवेश गर्न सक्छु ? भनेर अनुमति मागे। त्यसपछि मैले ‘सवारी होस्’ भनें।’
त्यसपछि मात्रै राजा वीरेन्द्र अस्पतालभित्र प्रवेश गरेर अवलोकन गरेको प्रसंग डा. बाबुरामले सुनाए।
त्यति बेला राजा वीरेन्द्रले आफूसँग अस्पतालको वस्तुस्थितिका बारेमा निकै जिज्ञासु भएर सोधेको उनले सुनाए। त्यो बेला राजाले आफूलाई यहाँ आएको अवधिबारे सोधेको र आफूले दुई वर्ष भएको जवाफ दिएको उनले बताए।
भ्रमण टोलीमा रहेका वीरेन्द्रका भाइ ज्ञानेन्द्रले त्यही बेला आफूलाई जिस्क्याएको प्रसंग डा. बाबुरामले सुनाए, ‘तपाईंलाई त स्वास्थ्य मन्त्रालयले महाराजधिराजको सवारी हुन्छ भनेर एक महिनाअघि काजमा पठाएको हैन र ?’
ज्ञानेन्द्रले जिस्क्याउँदा जवाफ दिन अलि अकमकाएको उनले सुनाए। तर, जिल्ला पञ्चायत सभापतिले ज्ञानेन्द्रलाई जवाफ दिएको उनले सम्झिए, ‘उहाँ (डा.बाबुराम)ले त धेरै बच्चा दादुराले मृत्यु हुनबाट बचाउनु भयो।’
राजा वीरेन्द्रको भ्रमणका बेला जिल्ला अस्पतालमा १० जना बिरामी भर्ना भएको उनी अझै सम्झन्छन्। बिरामी अस्पतालमा भर्ना भएको देखेर राजा निकै संवेदनशील देखिएको डा. बाबुरामले सुनाए। राजाले एक घण्टा अस्पतालमा बिताएको उनले सुनाए।
अस्पताल भ्रमणका क्रममा राजा वीरेन्द्रले डा. बाबुरामलाई सोधे, ‘सरकारले तपाईंलाई के गर्नुपर्छ ?’
राजा वीरेन्द्रको कुरा सुनेपछि डा. बाबुरामले आफूलाई थप अध्ययनका लागि पढ्न पठाइदिन अनुरोध गरेको प्रसंग सुनाए।
राजा भ्रमणबाट फर्किएपछि दुर्गम क्षेत्रमा बसेर काम गर्ने चिकित्सकलाई पढाइका लागि प्राथमिकता दिने नीतिगत निर्णय भएको उनले सुनाए।
डा. बाबुरामलेले भने, ‘मेरो नाम आएन। दुर्गममा दुई वर्ष बस्ने चिकित्सकलाई प्राथमिकतासाथ पढ्न पठाउनु भनेर नीतिगत निर्देशन आयो। त्यो निर्देशन भएपछि दुर्गम बस्ने सबैले अवसर पाए। अहिलेका जस्तो भए मेरो मात्रै नाम पठाउँथे होला।’
त्यसपछि नीति बनेर दुर्गममा काम गरेका चिकित्सकले प्राथमिकता पाउन थालेको उनले सुनाए।
भ्रमणका बेला वीरेन्द्रले अस्पतालमा अत्यावश्यक सामानबारे आफूलाई सोधेको र आफूले एक्सरे मेसिन अभाव भएको बताएपछि भ्रमणबाट फर्किएर मेसिन पठाइदिएको उनले सुनाए।
भ्रमण टोलीमा राजपरिवारका सदस्यसँगै प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी,
तत्कालिन सवारीमन्त्री पशुपति शमशेर जबरा, गृहसचिव (सवारी सचिव) वीरबहादुर शाही, प्रधानसेनापति, प्रहरी प्रमुखलगायत भ्रमण टोलीमा रहेको उनले सुनाए।
०००
भ्रमणको क्रममा राजाको नजरमा डा. बाबुराम परिसकेका रहेछन्। राजा भ्रमणबाट फर्किएपछि आफूले राजाबाट तक्मा समेत पाएको उनले सुनाए। डा. बाबुरामले भने, ‘राजाको भ्रमण भएको एक महिनापछि तक्माको घोषणा गर्दा मेरो नाम पनि परेछ।’
काठमाडौं आएर राजाबाट तक्मा ग्रहण गर्दा निकै हर्षित भएको डा. बाबुरामले सुनाए। उनले भने, ‘टुँडिखेलमा एउटा दिवसको बेलामा वीरेन्द्रले तक्मा लगाइदिए। राजाले जन्मोत्सवको बेला दरबारबाट तक्मा लाइदिन्थे। विकास क्षेत्रको भ्रमणको बेलाकोचाहिँ टुंडिखेलबाट लगाइदिन्थे।’
डा. बाबुरामलाई लाग्याे– राजाको नजरमा पर्याे भने कामको सही मूल्यांकन हुँदो रहेछ।
तर, राजनीतिक व्यवस्था परिवर्तन भएसँगै आसेपासेको बाहेक काम गर्नेको मूल्यांकन नै हुन छाडेको उनको अनुभूति छ। डा. बाबुरामले भने, ‘कामको मूल्यांकन नै हुन छाड्यो। काम गरेको नदेख्ने, जसले काम गरेको छ उसलाई सताउन थाले। त्यसले म नै कति पटक निरास भएको छु।’
कतिपय मन्त्रीले त उल्टापुल्टा काम गर्न लगाएकाले त्यस्तो काम गर्दिनँ भन्दा केही मन्त्रीसँग नै वादविवाद भएको उनले सुनाए।
डोटीमा दादुराको प्रकोप
उनले डोटीमा फैलिएको दादुराको प्रसंग पनि सुनाए। डा. बाबुराम जिल्ला अस्पताल डोटी २०४२ देखि २०४३ सम्म २ वर्ष बस्दा त्यहाँ बालबालिकामा दादुरा फैलिएको थियो। २०४२ चैतदेखि २०४३ जेठ १५ सम्म करिव अढाई महिना प्रकोप फैलिएको उनले सुनाए। त्यो क्षण उनका लागि चुनौती र अविस्मरणीय बन्यो।
राजाले पनि त्यही समस्याको व्यवस्थापन गरेको थाहा पाएपछि उनलाई तक्मा दिने निर्णय गरेका थिए।
त्यो बेला अस्पतालमा आएका बालबालिकाको मृत्यु नभए पनि अस्पतालसम्म नआइपुगेका करिव साढे ३ सय बालबालिकाको दादुराको कारण मृत्यु भएको डा. बाबुरामले सुनाए। डा. बाबुरामले भने, ‘डोटीमा भयानक दादुरा रोग फैलियो। धेरै बच्चाको मृत्यु भयो।’
१२ शय्याको अस्पतालमा एक दिनमा ८५ जनासम्म दादुराका बिरामी बालबालिका भर्ना गरेर उपचार गरिएको उनले सुनाए।
‘म एक जना डाक्टर थिएँ। ३/४ जना नर्स थिएँ। भुइँमा जताततै आमाले बच्चा च्यापेका हुन्थे,’ त्यो बेला दादुराको उपचारमा खटिँदाको प्रसंग उनले सुनाए, ‘हरेकको स्ल्याइन लगाएको थियो। अस्पतालमा खुट्टा हाल्ने ठाउँ थिएन। एकै दिन ८५ जना बच्चा भर्ना गरेर बचायौं।’
अहिलेको कोरोना भाइरस संक्रमणभन्दा दादुराको त्यो महामारी चर्को भएको उनले सुनाए।
त्यो बेला कयौं दिनसम्म नसुतेर सीमित स्रोत, साधन र जनशक्तिका बाबजुत कष्टपूर्ण रूपमा बालबालिकाको उपचारमा खटिएको उनले सुनाए।
उनले सम्झिए, ‘डाक्टरसा’ब मेरो बच्चा सिरियस भयो भन्दै रुँदै आमा–बुबा आउँथे। उठ्यो। उपचार गर्याे। बचायो। सुत्नै नपाइने। मेरो लागि निकै कठिन थियो।’
त्यो बालबालिको उपचार व्यवस्थापन गरेको देखेर डोटी जिल्ला पञ्चायतले पनि पुरस्कृत गरेको उनले सुनाए। राजाले त उनलाई तक्मा नै प्रदान गरे।
कान्तिमा एकैपटक ३ बच्चाको मृत्यु
कान्ति बाल अस्पतालमा काम गर्दा एकै समयमा ३ जना बच्चा गम्भीर बिरामी भएर मृत्यु भएको घटना सम्झिँदा उनलाई अहिले पनि पिरोल्छ।
डा. बाबुरामले सुनाए, ‘राति साढे २ बजेतिर एकै पटक ३ जना बच्चा सिरियस भए। एकैपटक लगातार अस्पतालमा ३ ठाउँका नर्सले फोन गर्नुभयो। म एउटा डाक्टर थिएँ।’
३ जना बच्चा नै गम्भीर भएकाले कुन बच्चालाई पहिले उपचारका लागि जाउँ भन्ने उनलाई ठूलो धर्म संकट आइपर्याे। त्यसपछि उनले सबैभन्दा पहिले फोन गर्ने नर्सकहाँ बिरामी हेर्न जाने त्यसपछि क्रमशः दोस्रो र तेस्रोमा जाने निर्णय गरे। पहिले फोन गर्ने नर्स भएको ठाउँको बच्चाको उपचार गर्न उनी गए।
तीनै जना डेढ/दुई वर्षका थिए। भर्ना भएर उपचार गरिरहेका तीनै जना बच्चा गम्भीर भएका थिए। तर, ३/४ मिनेटको अन्तरालमा एक भवनबाट अर्को भवनमा उपचार गर्न पुग्दा ३ जना नै बच्चा बचाउन नसकिएको उनले सुनाए।
डा. बाबुरामले त्यो बेलाको दुःखद क्षण सुनाए, ‘पहिलो बच्चा हेरें। उपचार गरें। बचाउन सकिएन। दोस्रो बच्चा भएको ठाउँमा पुगें, मृत्यु भइसकेको रहेछ। तेस्रो बच्चाकोमा पुगें, त्यो पनि मृत्यु भइसकेको रहेछ। त्यो बेला दिक्क लाग्यो।’
उनले बच्चाको मृत्युको त्यो कारुणिक दृष्यले पछिसम्म पनि आफूलाई पीडा भएको सुनाए। डा. बाबुरामले भने, ‘बचाउन सकेको भए हुन्थ्यो भनेर कयौं दिनसम्म मनमा कुरा खेल्यो। आमा–बुबा रोएको कारुणिक दृष्य मनमा खेलिरह्यो। मान्छेको मृत्यु त कहाँ सुखद् हुन्छ र?’
अध्ययन र जागिर
डा. बाबुराम गुल्मीको भाद्गाउँमा २०१३ सालमा जन्मिएका हुन्। गुल्मीकै तमघासस्थित महेन्द्र हाइस्कुल’ बाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरे उनले।
एसएलसीपछि उनी काठमाडौं आएर प्रमाणपत्र तहको चिकित्सा शास्त्र विषय अध्ययन गरे। उनले २०३३ सालमा प्रमाणपत्र तहको चिकित्सा शास्त्र विषय महाराज क्याम्पसबाट उत्तीर्ण गरेका हुन्।
उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा २०३४ सालमा एमबिबिएस अध्ययन थाले। तर, त्यो बेला विद्यार्थी आन्दोलनले गर्दा पढाइ पनि प्रभावित बन्यो। जसले गर्दा उनको अध्ययनको समय लम्बियो। र, उनले २०४१ सालमा एमबिबिएस उत्तीर्ण गरे।
त्यसो त नेपालमा एमबिबिएस अध्ययन गर्ने पहिलो ब्याच रहेछ उनको। उनले भने, ‘नेपालको आन्तरिक उत्पादनमा म पहिलो ब्याच हो।’
एमबिबिएस अध्ययनपछि उनले २०४२ सालमा डोटी जिल्ला अस्पतालबाट सरकारी जागिरको सुरुवात गरे। उनले डोटीमा २०४३ सम्म दुई वर्ष काम गरे। त्यसपछि उनले दार्चुला जिल्ला अस्पतालमा डेढ वर्ष काम गरे।
दार्चुलापछि कान्ति बाल अस्पतालमा २०४५ देखि २०५० सम्म करिव साढे ५ वर्ष काम गरे उनले। त्यसपछि उनी जनस्वास्थ्य विषयको अध्ययनका लागि थाइल्याण्डको महिडोल विश्वविद्यालय पुगे। उनले महिडोल विश्वविद्यालयबाट स्नातकोत्तर तह (मास्टर्स अफ पब्लिक हेल्थ) को एक वर्षे कोर्स २०५१ सालमा उत्तीर्ण गरेर नेपाल फर्किए।
डा. बाबुराम थाइल्याण्डबाट फर्किएपछि जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुखको रूपमा २०५२ देखि २०५४ सम्म साढे २ वर्ष काम गरे। काभ्रेपछि उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखामा सुरक्षित मातृत्व’ सम्बन्धि कार्यक्रमको राष्ट्रिय संयोजकको रूपमा २०५४ देखि २०५६ सम्म काम गरे।
यो कार्यक्रम उनी गएपछि नै कार्यान्वयन सुरु भएको रहेछ। त्यसपछि उनी टेकुकै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा २ वर्ष काम गरे।
टेकुपछि उनी स्वास्थ्य मन्त्रालयमा सरुवा भएर २०७० सालसम्म काम गरे। मन्त्रलयमा उनले स्वास्थ्य सुधार कार्यक्रम’को प्रमुख संयोजकका रूपमा काम गरे। त्यो आफ्नो लागि निकै ठूलो जिम्मेवारी भएको उनले बताए।
मन्त्रालयपछि उनले इपिडिमियोलोजी तथा रोग नियत्रन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीमा २०७० असोजदेखि २०७३ साउनसम्म काम गरे। त्यसपछि उनले उमेर हदका कारण सरकारी जागिरबाट अवकास लिए।
डा. बाबुरामले विभिन्न मुलुकमा पुगी स्वास्थ्यसम्बन्धि तालिम लिनुका साथै कोर्स गरेका छन्। उनले जापानबाट मातृशिशु स्वास्थ्य र ग्लोबल हेल्थ अफिसरसम्बन्धी कोर्स गरेका छन्।
त्यसैगरी दक्षिण कोरियाबाट अस्पताल व्यवस्थापनसम्बन्धी तालिम लिएका छन्। उनले थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका र भारत गरी चार देशमा पुगेर चारदेशीय प्राथमिक स्वास्थ्यसम्बन्धी दुई महिने कोर्स गरे। उनले नेपालमा पनि विभिन्न तालिम लिएका छन्।
साउन २, २०७८ शनिबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।