चन्द्रशमशेरको सभा बिर्साउने एमाले महाधिवेशन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी तटमा उद्घाटन भएको छ। नदी किनारमा उल्लेख्य उपस्थितिबीच महाधिवेशन उद्घाटन पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले गरे। एमालेका अनुसार महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि सहभागी भएका छन्।
दुर्भाग्य, पार्टीका अध्यक्ष केपी ओलीका समकक्षी एवं एमाले संस्थापक नेता वामदेव गौतम, पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल सहितको नेतृत्वको सहभागिता बिना भइरहेको महाधिवेशनले कस्तो विचार र कार्यदिशा अंगिकार गर्ला? किनकी एमालेमा अहिले पनि उनीहरूले प्रशिक्षण गरेका कार्यकर्ताको बाहुल्यता छ। त्यसैले चासो र जिज्ञासाको विषय भएको छ।
यद्पि माधव, झलनाथ, वामदेव बिनाको महाधिवेशन कार्यक्रमको उद्घोषण गरिरहेका नेता प्रदीप ज्ञवालीको अनुहारमा विगतमा पार्टी फुट अगावैका कार्यक्रमहरु उद्घोषण गर्दा जस्तो चमक र रौनक भने देखिँदैन्थ्यो। त्यही कार्यक्रममा विशेष अतिथिका रुपमा निम्ताइएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार जीवन पद्धति चलाउन आग्रह गरे। उनले त्यही मूल्य र मान्यतालाई राजनीतिक जीवनमा संस्थागत गर्न आग्रह पनि गरे।
कार्यक्रममा शुभकामना सन्देशका लागि निम्ताइएका माओवादी नेता लीलामणि पोखरेलले सहकार्य र सहअस्तित्वको आवश्यकता औंल्याए।
नेकपा एमालेका लागि नारायणी नदीको किनार सुखदभन्दा पनि दुःखद घटनाको साक्षी पनि हो। यद्पि २०५० साल जेठ ३ गते त्यही नारायणीको किनार दासढुंगामा भएको रहस्यमय दुर्घटनामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। उक्त दुर्घटनालाई एमालेले आफ्ना नेताको हत्या भएको आरोप लगाउँदै सडकदेखि सदनसम्म अनेक ताण्डव गर्दै आयो। तर अहिले पनि उक्त घटनाको निष्पक्ष छानविन हुन सेकेको छैन।
पटक-पटक अल्पमत र बहुमतको सरकारमा नेतृत्व गरे पनि एमालेले उक्त घटनाका बारेमा चासो दिएर न त छानविन नै गर्यो? न त आफ्ना नेता कार्यकर्तालाई सत्यतथ्य जानकारी गराउन नै सकेको छ। त्यही भुलभुलैयामा राखेर पार्टीले सत्ता प्राप्तिको राजनीति गर्दै आयो।
यस पटक संयोगले पार्टी महाधिवेशन नदीको तटमा उद्घाटन गरिरहँदा मुलुकको सर्वोच्च पद राष्ट्रपतिको कुर्सीमा मदन श्रीमती विद्यादेवी भण्डारी विराजमान छिन्। तर पनि मदनको निधनपछि अनेक आन्दोलन र शंका, उपशंका गर्दै आएको पार्टीले अहिलेसम्म चित्तबुझ्दो जवाफ दिन सकेको छैन।
अब दिनसक्ने अवस्था पनि छैन, महाधिवेशनमा पुग्ने कार्यकर्ता वा नेताले उक्त घटनाका बारेमा सायदै जिज्ञासा राख्लान्? हुन त भ्रष्ट्र छबिका ठेकदारले लगानी गरेर ओसारिएका मानिसको बाहुल्य छ भन्ने जानकारी पनि आएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि दल र नेताहरूका चिन्तन र चरित्र पञ्चायतकालीन भन्दा फरक छैन।
पार्टीमा कस्तो तत्व हावी भइरहको छ भन्नेतर्फ पार्टीका बफादार कार्यकर्ता चिन्तित भए पनि नेतृत्वको प्रलोभन र दबाबमा परेर टोपबहादुर रायमाझी मार्काका नेता-कार्यकर्ताले चन्द्रशमशेरको सभामा जस्तै ठिक छ, महाराज भन्नुपर्ने अवस्था छ।
एमाले पूर्वनेताका अनुसार पार्टी यतिबेला बन्द पिंजडाको पक्षी साबित छ। विचार र दर्शनका बारेमा चर्चा हुनसक्ने अवस्था नै छैन। कम्युनिष्ट पार्टीका लागि महाधिवेशनको अझै महत्व हुन्छ। विचारको मन्थन, भविष्यका लागि पार्टी र देशका लागि मार्ग निर्देशन गर्नेगरी नीति र नयाँ बहसको थालनी हुन्छ। यस अघिसम्म वैचारिक मन्थन सहित पाँचौंदेखि नवौं महाधिवेशन गरेको एमालेको दशौं महाधिवेशन भने वैधानिकताका लागि कार्यकर्ताको उल्लेख्य उपस्थिति गराएर सहीछाप लगाउने गरी भैरहेको छ। त्यसको ज्वलन्त उदाहरण हो, सहमतिका नाममा एकपक्षीय प्रतिनिधिको छनोट हुनु। फरक विचार समुहलाई प्रतिनिधि छनोट अवस्थामा नै बन्देज लगाउनु।
पार्टी नेता भीम रावलका अनुसार एकतर्फी रूपमा तलदेखि माथिसम्म नेता र कार्यकर्ता छनोट गरेर महाधिवेशनमा सहभागी गराइँदैछ। महाधिवेशनमा सहभागी कार्यकर्ताले पार्टीको जीवन र दर्शनका बारेमा सायदै चर्चा बहस गर्लान्। करिब तीन महिनाअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले त्यसको छनक दिएकै हो।
पार्टीको जीवन हुन्छ, परिवेश हुन्छ अनि इतिहास पनि। विगत र वर्तमानको समीक्षा गरेर मात्र भविष्यको मार्ग तय गरिन्छ। यतिबेला एमाले महाधिवेशनको बन्द सत्रमा विगतको समीक्षा कसरी होला? बहुमतको केन्द्र सरकार र ६ वटा प्रदेश सरकारको नेतृत्व गरेको पार्टीको सरकार किन ढल्न पुग्यो? कार्यकर्ताले नेतृत्वसँग उक्त विषयमा सायदै जिज्ञासा गर्न सक्लान्?
किनकी, उनीहरुको प्रवेश नै सहमतिका नाममा विवेकमा बन्दक लगाउने सर्तमा भएको छ। त्यसैले त्यहाँ आउने कार्यकर्ताले गाँउ, समाज र देशका बारेमा स्वतन्त्र चिन्तन सहित कसरी बहस गर्न सक्लान्? पार्टीले बहुमतको सरकार चलाउँदा भएका कमीकमजोरी केलाउलान्? माधव, झलनाथ, वामदेव बिनाको एमाले महाधिवेशनले कस्तो कार्यदिशा तय गर्ला?
पार्टीमा कस्तो तत्व हावी भइरहको छ भन्नेतर्फ पार्टीका बफादार कार्यकर्ता चिन्तित भए पनि नेतृत्वको प्रलोभन र दबाबमा परेर टोपबहादुर रायमाझी मार्काका नेता-कार्यकर्ताले चन्द्रशमशेरको सभामा जस्तै ठिक छ, महाराज भन्नुपर्ने अवस्था छ। उनीहरुका लागि चितवनको यात्रा पार्टीको जीवनका लागि भन्दा कोभिडपछिको सयर गर्ने अवसर भन्दा केही हुने छैन।
किनकी, पार्टीमा विविकको ढोका बन्द गरेर, पार्टी नेतृत्व सरकारमा रहँदा गरेको गल्तीलाई दस्तावेजमा ढाकछोप गर्नु छ। त्यही गल्ती ढाकछोप गर्न यो महाधिवेशन केन्द्रित हुनेछ। हैन भने एउटै कार्यकालमा दुई पटक संसदको विघटन हुनु र सर्वोच्च न्यायलयले संसद पुनर्स्थापना गर्नुपर्ने कारण किन आयो, त्यसको चित्तबुझ्दो जवाफ नेतृत्वले दिनुपर्ने हैन? विपक्षीलाई अराजकता र दक्षिणपन्थीको बिल्ला भिराएर कार्यकर्ता प्रशिक्षण गरिरहँदा त्यसले भविष्यका लागि कस्तो एमाले बन्ला?
महाधिवेशन उद्घाटनमा व्यक्त शब्द र प्रस्तुत चरित्रले मनमोहन अधिकारी नेता रहेको पार्टीमा असहिष्णु संस्कार स्थापित गरिँदैछ भनेर बुझ्दा अन्यथा हुने छैन।
एमालेले सरकार सञ्चालन गरिरहँदा केही उल्लेखनीय र राम्रा काम नभएका हैनन्, त्यसका लागि धन्यवाद भन्नै पर्छ। तर पार्टी सरकारमा रहँदा सार्वजनिक भएका घटना ओम्नी, यती, बालुवाटार जग्गा काण्डका बारेमा नेतृत्वले कार्यकर्तासमक्ष चित्तबुझ्दो जवाफ दिनु पर्दैन?
महालेखा प्रतिवेदनले प्रमाणीत गरेको तथ्य, वडा वडामा भ्रष्टाचारले चुर्लुम्म डुबेका छन्, त्यसको जिम्मेवारी साढे ३ वर्ष सत्ता चलाएको पार्टीले लिने कि नलिने? यावत प्रश्नको जवाफ बिना नारायणघाट पुगेका नेता-कार्यकर्ता घर फर्किंदा उसले भविष्यका लागि कस्तो योजना बनाउला? भविष्यका लागि कस्तो समाज कल्पना गर्ला?
पार्टी सरकारमा रहँदा तर मार्न पल्केकाले महाधिवेशनलाई ऐतिहासिक भने पनि दस्तावेज र विचारका हिसाबले एमालेको अहिलेसम्मकै विचारहीन महाधिवेशन हुने देखिन्छ। महाधिवेशन उद्घाटनमा व्यक्त शब्द र प्रस्तुत चरित्रले मनमोहन अधिकारी नेता रहेको पार्टीमा असहिष्णु संस्कार स्थापित गरिँदैछ भनेर बुझ्दा अन्यथा हुने छैन।
कमल थापालाई अथिति बनाएर मञ्चमा निम्ताइँदा हिजोसम्मका सहयात्रीलार्इ छोइछिटो गर्दै गरिएको महाधिवेशनले कस्तो विचारको पक्षपोषण गर्ला?
त्यसो त उक्त पार्टीबाट अलग हुन पुगेका नेता झलनाथ खनालले-एमालेमा हनुमान र दासहरू मात्रै छन्, चितवनमा उनीहरुको कुम्भमेला चल्दैछ, नवौं महाधिवेशनपछि पार्टी नेतृत्वमा दक्षिणपन्थ, अवसरवाद, गुटवाद र विसर्जनवाद हावी हुन पुग्यो भनेर टिप्पणी गरेका छन्। एउटा अतिवादलाई अर्को अतिवादले परास्त गर्नुपर्छ भन्ने कम्युनिष्ट पार्टीको स्कुलिङ नै हो। आफैं बसेर नेतृत्व गरेको पार्टीको महाधिवेशनलाई खनालले सार्वजनिक रुपमा मिडियासँग भने उनीहरुले विधान महाधिवेशनमा बहसलाई खुला गर्न सकेनन्। विचारमा बहस गरेनन्। पार्टीमा लोकतन्त्र नै छैन। केपी ओलीको गुटका हनुमान र दासहरु मात्रै छन्। यसअघि एमालेका महाधिवेशनले राष्ट्रव्यापी रुपमा तरंग पैदा गर्थ्यो। अहिले केही पनि छैन। त्यहाँ सामसुम छ।
तिक्तता र प्रतिशोधले ग्रसित भएर गरिएको महाधिवेशनले कस्तो नेृतत्व छनोट गर्ला त्यो पनि चासोको विषय भएको छ। जसको नीति उसको नेतृत्वको माग गर्दै आएका पार्टी उपमहासचिव घनश्याम भुषालले भन्ने गरेजस्तो पार्टीमा उनको नीति पारित हुने छैन।
एमालेले पनि नेपाल, खनाल पक्षलाई इंगित गर्दै अवसरवाद दक्षिणपन्थीलाई परास्त र सांगठनिक अराजकतालाई अन्त्य गरौं भन्ने नारा उद्घोष गरेको छ। साथै शंखघोष गरेर सांगीतिक कार्यक्रम सञ्चालनबाट महाधिवेशन शुरू गरेको एमालेले आफ्ना पूर्व सहकर्मीलाई लक्षित गर्दै गलत राजनीति संस्कार हुर्किएकोले शंखनाद गर्नु परेको भनेको छ।
जबकी, सहयात्रीलाई यतिसम्म भनेपछि अरुले महाधिवेशनका बारेमा भन्नै परेन। कुन अवस्थामा महाधिवेशन हुँदैछ भनेर? त्यसो त पार्टीमा १० भाइको समूहका नेता भनेर चिनिएका नेता भीम रावलका विचार र प्रतिक्रियाले पार्टीमा लोकतन्त्रको अभ्यास भएन र हुन दिइएन भन्ने विचार मिडियामा सार्वजनिक गरिरहेका छन्। यस्तो अवस्थामा चुनिएको नेतृत्वले कस्तो विचार र दर्शनको नेतृत्व गर्ला?
विगतमा भएका कमी कमजोरी र सरकारबाट विस्थापन हुनु परेका कारणलाई कसरी समीक्षा गर्ला? तिक्तता र प्रतिशोधले ग्रसित भएर गरिएको महाधिवेशनले कस्तो नेृतत्व छनोट गर्ला त्यो पनि चासोको विषय भएको छ। जसको नीति उसको नेतृत्वको माग गर्दै आएका पार्टी उपमहासचिव घनश्याम भुषालले भन्ने गरेजस्तो पार्टीमा उनको नीति पारित हुने छैन। किनकी पार्टी अध्यक्ष केपी ओलीसँग असहमति राख्ने नेतामा अंकित छन्।
अघिल्लो महाधिवेशनमा उनको नीति पारित भएको र नेतृत्वमा केपी ओली आएकोले पार्टीले दुर्घटना व्यहोर्नुपरेको तिक्त अनुभव पार्टीमा छ। तिक्त अनुभव सँगालेका पार्टी अध्यक्ष ओलीले सम्भावित महासचिव पहिल्यै तयार गरेका छन् भनेर बुझ्दा अन्यथा हुने छैन। त्यो कोहो भनेर भनिरहनु नपर्ला। आफ्ना विचार सम्भावित महासचिवलाई लेखाएर तयार गरिएको नीतिलाई पारित गरेर महाधिवेशन सम्पन्न गर्ने छन भन्दा अन्यथा हुने छैन।
महाधिवेशन सम्पन्न भइरहँदा एमाले नतृत्वले आफूहरुबाट भए गरेका गल्तीको प्रायश्चित नारायणी नदीलाई साक्षी राखेर गर्न सके गुट, फुट र झुटले विखण्डित एमाले अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनको सारथि नबन्ला भन्न सकिन्न। अन्त्यमा, हिन्दी चलचित्र 'तिसरी कसम' (सन् १९६६) को यो गीत एमाले नेता एवं कार्यकर्ताका लागि प्रेरक बन्न सकोस्:
साजन रे झुट मत बोलो,
खुदा के पास जाना है,
वहाँ न हाथी है, न घोडा है,
वहाँ पैदल ही जाना है...।
मंसिर १०, २०७८ शुक्रबार २१:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।