'साझा पार्टीले वैकल्पिक राजनीति दूषित बनायो, अब विवेकशील नाम हटाए हुन्छ'

'साझा पार्टीले वैकल्पिक राजनीति दूषित बनायो, अब विवेकशील नाम हटाए हुन्छ'
तस्बिर : कृष्पा श्रेष्ठ

पार्टी दर्ता गर्न त धेरै लामो समय लाग्यो है?
हजुर, धेरै समय लाग्यो नि।

पार्टी दर्ता गर्ने कि नगर्ने दोधारमा हुनुहुन्थ्यो कि क्या हो? 
होइन। पार्टी दर्ताको प्रक्रिया चलिनै रहेको थियो। डेढ वर्ष साझासँग एकीकरण गर्दा नै हामी साझासँग सहकार्य गर्न सक्दैनौँ भन्ने बुझिसकेका थियौँ। साझासँग उज्वल दाइसहित छुटिट्एपछि निर्वाचन आयोगले ४० प्रतिशत पुगेन भनेर विवेकशील नाम राखेर नयाँ दल दर्ता गर्न मानेन। अनि हामी अदालत गयौं। त्यो मुद्दा अझै चलिरहेकै छ अदालतमा।

यो बीचमा हामीले राष्ट्रिय सम्मेलन गरेर राजनीतिक रुपमा पार्टीको नेतृत्व परिर्वतन गरेर मिलन पाण्डेलाई नेतृत्व दियौं। उहाँ लगायतका साथीहरु फेरि साझा नै फर्किनु भयो। दलमा भएको मतदानमा बहुमत एकीकरणको पक्षमा देखिएपछि हामीले व्यक्तिगत अधिकार प्रयोग गरेर नजाने निर्णय गर्यौं। केही साथीहरु मन नभए पनि बहुमतको निर्णय भनेर जानुभयो। केही अब एक्लै परिन्छ भनेर जानुभयो।

उज्वल दाइसहित हामी जो-जो पुन: एकतामा गएनौं, हामी कार्ययोजना बनाउन सक्रिय थियौं। यही बीचमा कोरोनाको महामारी आयो। उज्जवल दाईले २ वर्ष नेतृत्वमा आउन्न भनेर मलाई जिम्मा दिनुभएको थियो। उहाँको स्वास्थ्य खराब भयो। नसोचेको भयो, उहाँको निधन भयो। त्यसले पनि केही समय वित्यो। अवस्था सहज हुँदै गएपछि साथीहरु भेला भएर तेलकोटमा गएर छलफल गर्यौ। दल दर्ता गर्ने सहमती भएपछि नयाँ दर्ता हुने पार्टीको कार्यदिशा लगायतका कामहरु गर्यौं। निर्वाचन आयोगले अगाडि विवेकशील शब्द राम्न मानेन। अनी अगाडि नेपाल राखेर पार्टी दर्ता भयो। 

भनेपछि मिलनजीलाई अध्यक्ष चुन्दा कानुनी रुपमा तपाईंहरु पार्टीको हैसियतमा हुनुहुन्थेन?
अहँ थिएन। अदालतमा मुद्दा चलिरहेको थियो। अहिले पनि मुद्दा चलिरहेको छ नि। हामी कानुनी रुपमा नयाँ दलको अवस्थामा नभए पनि विवेकशील अभियानका आधारमा राजनीतिक रुपमा भने संगठन थियो। 

दोस्रो पटक मिलनजीहरु साझामा जाँदा तपाइँहरुको एक समूह पुन: साझामा एकीकृत नहुनुको कारण?
हामीले १८ महिना प्रयास गरेकै हो नि सँगै काम गर्न। तर सहकार्य सम्भव भएन। त्यसपछि हामी साझासँग छुट्टिएर रोल्पा गयौँ। वैचारिक रुपमा स्पष्ट भयौँ। उहाँहरु लुम्बिनी जानुभएको थियो। लुम्बिनीमा जनमत संग्रहको कुरा उठेकै थियो नि त्यही बेलामा। जब एकीकरणको कुरा आयो, पुन: दोस्रो पटक किन गल्ती गर्ने भनेर हामी नगएका हौँ।

साझासँगको सहकार्यमा समस्या चाहिँ के आयो त्यो बेलामा?
मुल समस्या वैचारिक नै हो। गणतन्त्र, संघीयता अनि धर्म निरपेक्षताका बारेमा उहाँहरु प्रष्ट देखिनुभएन। हामीले यसबारे कुरा उठाउँदा कुरा प्रष्ट नै नभन्ने। विस्तारै भइहाल्छ भनेर टार्ने। साझामा गएपछि हाम्रा एजेण्डा र अभियान पनि ठप्प जस्तै भए। प्राय: सार्वजनिक स्थानमा कार्यक्रम हुँदा आयोजकले फोहोर जस्ताको त्यस्तै छाडेर हिँड्थे। हामी गएर सफा गर्थ्यौँ। उहाँहरु त अब नेता भएर पनि फोहोर उठाउँदै हिँड्न सुहाउँदैन भन्ने। हामीलाई त्यो चित्तै नबुझ्ने। विवेकशील अभियान यस्तो हैन नि त। 

उहाँहरुको कार्यशैली परम्परावादी देखियो। म नेता हुँ, मैले भनेको मान्नुपर्छ भन्ने खालको चरित्र देखियो। उहाँहरु सानो समूहमा काम गर्न रुचाउने अनि सूचना पनि सकेसम्म लुकाउने। यस्तै भएपछि साझामा बस्न सकिँदैन भन्ने भएर नै छुट्टिएका हौँ। 

विचारधारा कस्तो नमिलेको भन्न खोज्नुभएको? 
हामी रोल्पा गएर आएपछि उहाँहरु लुम्बिनी जानुभएको थियो। त्यतिबेला नै प्रष्ट थियो त उहाँहरुको विचारधारा। उहाँहरुले संघीयता र धर्मको बारेमा जनमत संग्रहको कुरा लुम्बिनीमै गर्नुभएको हैन र! जब मिलनजी अध्यक्ष भएपछि एकताको कुरा भयो हामीले त उहाँहरुसँग हाम्रो विचारै मिल्दैन, गठबन्धन गर्न सकिएला तर पार्टी नै एक नगरौँ भनेकै हो। मान्नुभएन। उहाँहरुले बहुमतको निर्णय गराएर एकता गर्नुभयो। हामी असहमत बाहिरै बस्यौँ। हामीले त्यो बेला सही भनेका थियौँ भन्ने अहिले त देखिइहाल्यो।

पार्टी विभाजित भएपछि उही नाम समात्ने समस्या तपाईंहरुमा पनि देखियो नै। यो विवेकशील नाम छाडेर अरु नाम किन नराखेको?
हामीमा विवेक हुनुपर्छ भनेर राखेको नाम हो यो। यो राजनीतिक नाम मात्रै नभएर सामाजिक अनि जीवनशैलीको दर्शन समेत बोकेको शब्द हो। यो एक अभियानै हो नि। साझाले पनि विवेकशील शब्द राखेको छ। तर उहाँहरुको कार्यशैलीमा यो शब्दको मर्म नै झल्किँदैन। यो अभियानको नेतृत्व उहाँहरुले गर्न सक्नुहुन्न। उहाँहरुमा यसको माया पनि छैन। साझासँग विवेकशील शब्द जोडिँदा यसको दुरुपयोग भइरहेको छ। उहाँहरुले बरु यो नाम छाडेर साझा नै राखे हुने। उहाँहरुलाई विवेकशीलको नाम र अभियानसँग कुनै मतलब छैन। लक्ष्य नै चुनाव र सत्ता मात्रै थियो र छ उहाँहरुको। राजनीतिमा चुनाव र सत्ता स्वभाविक हो तर समाजको मुद्दा उठाएर न राजनीति गर्नु हो, त्यो देखिँदैन उहाँहरुसँग।

अपनत्व नै नहुने नाम किन बोकिरहनु हैन? 

वैकल्पिक राजनीति गर्ने भन्नुभयो तर पुरानै राजनीतिक दलमा जस्तै फुट्ने, आरोप लगाउने नै भयो है तपाईंहरुमा पनि? 
टुट्ने फुट्ने हाम्रो सामाजिक रोग नै रहेछ। हामीले नचाहँदा नचाहँदै यो भयो। रवीन्द्र मिश्रजी र बाबुरामजीहरुसँग पहिले पनि कुरा भएको थियो। उहाँहरुलाई सत्तामा मात्रै लगाव भएको र रुपान्तरणको लागि लगाव नभएको पहिले नै देखिएको थियो। बाबुरामजीहरु नयाँ पार्टी दर्ता गरेर उता लाग्नुभयो। मिश्रजीले पनि साझा गठन गर्नुभयो। स्थानीय तहको निर्वाचनमा हामीले अनि साझाले भिन्न उम्मेदवार उठाएपछि यी दुवै पार्टी मिलेको भए परिवर्तन सम्भव हुन्थ्यो भन्ने जनभावना देखेपछि कतै सहकार्य गर्न सकिन्छ कि भनेर एकता गरेका थियौँ। यही गल्ती भयो।

विचारधारा र कार्यशैली  नमिली एक हुन हुँदैनथ्यो। मुद्दामा आधारित हुन्छ राजनीति। एउटा हाम्रो रोग भनेको इगो पनि हो। आफैं अध्यक्ष हुने र आफूले भनेको हुनुपर्छ भन्ने संस्कार हावी देखियो। तर हामीले त यो प्रकारको राजनीति सफा गर्छौ भनेर लागेका हौँ नि। यसैमा फस्न त आएका हैनौं। तर कतै सहकार्य मिल्छ कि भन्दा हामी दलदलमा फस्यौँ। साझासँगको सहकार्य हाम्रा लागि दलदल भयो।

विवेकशीललाई राजनीतिक रुपमा धेरै क्षति भयो हैन?
हो। हाम्रो चार वर्ष त खेरै गयो नि। तर हामी राजनीतिक रुपमा परिपक्व हुँदै गएका छौँ। राजनीति भनेको लामो रेसको दौड हो। अहिले हामीले कति वर्षमा के-के गर्ने भनेर योजना बनाएका छौँ। ३ वर्ष, ५ वर्ष, १० वर्ष अनि १५ वर्षको कार्ययोजना बनाएका छौँ। परिवर्तन रातारात सम्भव रहेनछ भन्ने बुझेका छौँ। हामीले जे चाहेका छौँ, त्यसका लागि कमसेकम १५ वर्ष त लाग्छ भन्ने हाम्रो ठम्याइ छ। अब त्यसरी नै अघि बढ्छौं। हतारिदैनौँ।

तपाईंहरुको दलको राजनीतिक, सामाजिक र  आर्थिक एजेण्डा के हो? 
हाम्रो राजनीतिक विचारधारा रुपान्तरणकारी मार्ग नै हो। नेपालमा धेरै लेफ्ट छन्। साझा पार्टी, राप्रपा राइटिस्ट भए। हामी सेन्ट्रल हौं। हाम्रो चाहिँ मानवता, स्वतन्त्रता समानता र स्वाभिमान बटम लाइन नै हो। 

अर्को, सहभागितामुलक लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता र धर्म निरपेक्षतामा हामी अडिग छौँ। यसमा केही सुधार आवश्यक होला। यसको रिस्टक्चर गर्न सकिएला। तर अब नेपाल गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट पछाडि हट्न सक्दैन र हट्न हुँदैन भन्नेमा हामी प्रष्ट छौँ।

आर्थिक रुपमा हामी समन्वयकारी पूँजीवादको पक्षमा हो। मान्छेहरु पूँजीवाद भन्न डराउँछन्। तर हामीले परिकल्पना गरेको पूँजीवाद आधारभूत आवश्यकता सबैलाई समान रुपमा होस् त्यसपछि बजार पूर्ण प्रतिष्पर्धामा आधारित होस् भन्ने हो। 

यसको अर्थ खुल्ला अर्थतन्त्रको पक्षधर हौँ हामी। तर शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारमा राज्यको पनि दायित्व हुने भएकाले यस्ता क्षेत्र राज्यको नियन्त्रणमा हुनुपर्छ भन्ने हाम्रो धारणा हो।

धर्म निरपेक्षता र संघीयतामा पहिले प्रष्ट हुनुहुन्थेन। अहिले लेख्नु भएछ है?
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता त विवाद गर्ने विषय नै होइन। स्वीकार्ने नै हो भन्ने बुझ्यौँ हामीले। तर अहिले विवेकशील साझामा देखिएको विवादपछि भने हामीले लेख्न आवश्यक ठान्यौँ। विवेकशीलमा हामीले संविधान पनि बनाएका थियौँ। त्यतिबेला ३ प्रदेशको परिकल्पना गरेका थियौँ। संविधानमा केही विषय परिमार्जन गर्नुपर्ने विषय पनि छन्। तर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र जस्ता आधारभूत कुरा छोड्ने भन्ने त हुँदैहुन्न नि। 

संविधान परिमार्जन गर्ने भन्नुभयो। मधेसवादी दलले पनि यही भन्छन्। तपाईंहरुको असुन्तुष्टि केमा हो? 
विशेषगरी नागरिकतामा हो। महिला र पुरुषमा जुन प्रकारको विभेद छ यो परिमार्जन हुनुपर्छ भन्ने हाम्रो लाइन हो।  नागरिकता सम्बन्धी जुन प्रावधान संविधानमा राखिएको छ, यसले महिलालाई दोस्रो दर्जाको रुपमा राखेको छ। यो परिमार्जन हुनुपर्छ। संविधान गतिशील दस्तावेज हो। समयअनुसार यो परिमार्जन भइहाल्छ पनि।

अहिलेको संघीयताको मोडलमा असहमति हो?
नेपालमा संघीयता आउनु अगाडि नै हामीले संघीयताको मोडल बनाएका थियौँ। त्यो चार प्रकारको थियो। तीन प्रदेश अनी राजधानी रहेको काठमाडौँलाई अमेरिकाको वासिङटन डिसी जस्तै केही विशेष अधिकार हुनुपर्ने हाम्रो सोच थियो। हामी छलफलमै रहँदा नेपालमा संघीयता आयो। बढो खुसी भयौँ हामी। संघीयता नेपालका लागि राम्रो हो। यसको पूर्ण अभ्यास हुन नपाउँदै यसबारे असन्तुष्टिहरु आएका छन्। अभ्यास गर्दै जाने क्रममा आवश्यकता अनुसार यसमा परिमार्जन गर्न सकिन्छ। यसको संख्यामा पुनर्विचार गर्न सकिन्छ। संख्या चाहिँ अलि बढी भयो भन्ने हाम्रो मत हो।

तपाईंहरुको कार्यशैली केवल हल्ला मात्र गर्ने नतिजा नआउने खालको भयो भन्ने आलोचना पुरानै हो। अबका दिनमा मुद्दा कसरी उठाउनुहुन्छ, पपुल्यारिटीको कि सैद्धान्तिक आधार पनि हुन्छ? 

मुलत: सैद्धान्तिक नै हो। पपुल्याराटीलाई पनि हामीले नजरअन्दाज गर्न सकिन्न। काम गर्दा चर्चा हुनु स्वभाविक पनि हो। यस अगाडि हामीले जति अभियान चलायौँ त्यसको जस खोजेनौँ। हाम्रो उद्देश्य जे अजेण्डा उठाएको हो त्यो पूरा हुनुपर्छ, जोसुकैले पओस् भन्ने हो। जस्तो डा. गोविन्द केसीको अभियानमा हामी सक्रिय रुपमा लाग्यौं। तर जस खोजेनौँ। तर राजनीतिक दल भएपछि जस पनि चाहिने रहेछ। नागरिकसम्म पुग्दा के काम गर्यौंस भन्ने प्रश्नको उत्तर त दिन सक्नुपर्यो नि।

अहिले एमसिसीबारे धेरै विवाद भइरहेको छ। यसबारे तपाईंहरुको धारणा? 
एमसिसी पास हुनुपर्छ। यसमा किन विवाद गरिराख्नु पर्यो र? विकासका लागि उत्पादन र वितरण हुनुपर्छ। पूर्वाधार चाहिन्छ। एमसिसीले पूर्वाधार त बनाउँछ नि। 

अमेरिकी सेना आउँछ भन्नेदेखि अनेक प्रकारका हल्ला चलेका छन् त? 
(हाँस्दै...) सेना त एमसिसीबाट कहाँ आउला र? प्लेनबाट आउँला नि। म आइटी पढेको मान्छे। १/२ मिलियन डलर ह्याकरहरुलाई दिने हो भने ध्वस्त बनाउन सक्छन् हाम्रो देश। त्यसैले विकास परियोजनामा सुरक्षा खतरा हुन्छ भन्ने मलाई लाग्दैन। अहिले सुरक्षाको मोडल धेरै परिवर्तन भइसकेको छ। यो बुझ्न जरुरी छ।

कहिले साझासँग मिल्ने कहिले छुट्टिने गर्दा विवेकशीलको संगठन त ध्वस्त भयो होला नि। अब कसरी संगठन अगाडि बढाउनुहुन्छ? 
हो नि। साझासँग मिलेर त हामीलाई ठूलो क्षति भयो। साझासँग एकता गर्दा तल्लो तहसम्म काम गर्ने १० हजार जना थियौँ। जतिखेर जहाँ बोलाए पनि आउने। जे काम अह्राए पनि गर्ने ऊर्जाशील साथीहरु हुनुहुन्थ्यो। साझालाई काम गर्ने जनशक्ति चाहिएको रहेछ। त्यो विवेकशीलबाट पायो। तर अहिले धेरै साथीहरुले साझा के हो भनेर बुझिसक्नुभयो। पहिले संगठनमा क्राइसिस थियो, अब छैन। अब विस्तारै फेरि पहिलेकै अवस्थामा फर्कंदै छौँ। संगठन विस्तार गर्न समय लाग्छ तर उत्साह घटेको छैन। 

नेपालमा संगठनको लागि क्याम्पसहरु उर्वरभूमि मानिन्छन्। तपाईंहरु त्यता पनि जानुहुन्छ? 
संगठन विस्तारको लागि जाँदैनौँ तर राजनीतिक चेतना फैलाउन त गइहाल्छौँ नि। अरु पार्टीले जस्तो कार्यकर्ता नै निर्माण गर्ने जसरी जाँदैनौँ हामी। मुद्दामा त गइन्छ। स्टुडेन्ट काउन्सिल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर भ्रातृ संगठन होइन। 

दल दर्तापछि मिलनजीले फेसबुकमा माफी माग्दै कुनै न कुनै समय संगठनमा एक हुन्छौं भनेर लेख्नुभएको थियो। उहाँहरुसँग पुन: एकता सम्भव छ?
साझासँग त सम्भावना छैन। तर व्यक्तिगत रुपमा त विवेकशील अभियानलाई स्वीकार गर्ने जोसुकैसँग पनि सहकार्य हुनसक्छ। तर हेरौँ के हुन्छ। आउने नआउने त अब उहाँहरुलाई सोध्नुपर्ला। हाँस्दै...

स्थानीय निर्वाचनमा जुन खालको माहोल बन्यो, मतदाताले जसरी विश्वास गरे, त्यो आधार त भत्कियो हैन?
जुन योजनाका साथ स्थानीय तहको निर्वाचनमा हामी विवेकशीलको रुपमा सहभागी भयौँ, त्यसको नतिजा उत्साहप्रद रह्यो। त्यही चुनावमा यिनीहरु किन अलग भएर चुनाव लडेका होलान्, एक भए हुने नि भन्ने जनभावनाको कदर गर्दै साझासँग एकता भएको थियो। तर एकतापछि सबै आधार भत्कियो। हामी जित्न चुनावमा गएका थिएनौँ। जे नतिजा आए पनि आफ्नो जिम्मेवारीमा निरन्तर खट्ने भन्ने नीति थियो। एकतापछि अल्मलियौँ। त्यसले तल्लो तहसम्म प्रभाव परेको छ। त्यो रिकभर गर्न तीनदेखि पाँच वर्ष त लाग्छ। हामी इमान्दार राजनीति गर्छौँ। त्यसले गुमेको विश्वास पुन: फर्काउन सकिने विश्वास छ।

अब स्थानीयदेखि केन्द्रसम्म चुनाव हुँदैछ। तपाईंहरु सहभागी हुन्हुन्छ कि?
कुनै वडामा नेतृत्व लिएर विवेकशीलले चाहेको प्रणाली यस्तो हो भनेर नमुनाको रुपमा काम गर्ने लक्ष्य त छ। तर तत्काल चुनाव हाम्रो टार्गेट होइन। तर कुनै न कुनै भूमिकामा सहभागी हुन्छौँ। कुन रुपमा जाने भन्ने बारेमा भने छलफलमै छौँ।

भारतमा जसरी आम आदमी पार्टी उदाएर दिल्लीमा शासन गर्यो र आउटपुट दिएपछि संगठन विस्तार गर्यो तपाईंहरुको रणनीति पनि त्यही हो? 
वडा होस् या नगरपालिका कुनैमा चुनाव जितेर काम गर्न सके हामीले चाहेको मोडल देखाउन सक्थ्यौं भन्ने छ। हेरौँ के हुन्छ। तर जनविश्वास बढाउन कुनै न कुनै तहमा आम नागरिकसँग जोडिएर काम नगरी हुन्न भन्नेमा भने अब हामीमा अन्योल छैन।

वैकल्पिक पार्टीको रुपमा साझा पार्टी आउनु वैकल्पिक राजनीतिलाई क्षति हो? 
वैकल्पिकलाई दुई तरिकाले हेर्न सकिन्छ। एउटा नयाँ दल आउने भन्ने पनि भयो। नयाँ आउनासाथ पुरानोको विकल्प त भयो नि। अर्को वैकल्पिक बन्ने कि विकल्प दिने भन्ने हुने रहेछ। साझासँग एकीकरण गरेर गल्ती गरेका हौँ। त्यो लुकाउनु पर्दैन। हाम्रो पाँच वर्ष खेर गयो। तर अब पुरानो कुरामा मात्र अल्झिएर काम छैन। यसले एक खालको परिपक्वता पनि ल्यायो नि। अब त्यो अनुभवलाई सँगालेर काममा जुट्ने हो।

साझाले वैकल्पिक राजीनीतिलाई दूषित बनाएको हो?  
यो त हो। विकल्प दिने भनेर पो वैकल्पिक राजनीति गर्ने भनेको त। वैकल्पिक राजनीति हिन्दु राष्ट्रसँग गएर जोडियो। विवेकशील शब्द गणतन्त्र विरोधी समूहसँग गएर जोडिदा साह्रै चित्त दुखेको छ। त्यसैले हाम्रो आग्रह साझा पार्टी उहाँहरुले छानेको नाम हो। त्यो नै पूर्ण छ। अब विवेकशील नाम छाडिदिए हुने।

रवीन्द्र मिश्रजीहरुलाई विवेकशील भन्ने नाम छोड्दिनूस् भन्नुभा छ? 
तपाईंहरुले भनिदिनूस् न। हाँस्दै...

तपाईंको व्यक्तिगत कुरा गरौँ, घरमा को-को हुनुहुन्छ? 
श्रीमान्, छोराछोरी र म। 

अघि गाउँमा हुर्केको भन्नुभएको थियो, कुन जिल्ला ? 
काभ्रेको तिमाल गाउँमा हो। छात्रवृत्तिमा पढ्ने अवसर पाएँ। कम्प्युटर साइन्समा मास्टर्स गरें। जर्मनीमा १६ वर्ष काम गरेँ।

राजनीति गर्छु भन्ने कहिले लाग्यो? 
पहिल्यैदेखि हो। तर सन् १९९८ देखि नै एनजिओ चलाएको थिएँ। बच्चा-बच्ची पढाउँथ्यो त्यो एनजिओले। तर एनजिओले भनेजसरी काम गर्न सकेन। राजनीति गर्नुपर्छ भन्ने लाग्यो। सन् २०१३ मा उज्वलजीसँग भेट भयो। अनि जोडिएँ राजनीतिमा। 

मैले छात्रवृत्ति पाएर निजी स्कुलमा पढ्न पाएँ। मेरा साथीहरु राणाका छोराछोरी हुन्थे। उनीहरुको घर जाँदा ठूलो घर, धेरै जग्गा देख्थेँ। मेरो किन भएन? हामी किन एउटै कोठामा खुम्चिनुपर्ने भन्ने लाग्थ्यो। सायद त्यति नै बेला मेरो मनमा समाज रुपान्तरण हुनुपर्छ भन्ने लागेको थियो। 

पुरानो पार्टीमा किन लाग्नु भएन? 
पुरानो पार्टीमा लागौँ न त भन्ने पनि नआएको होइन। कांग्रेस राजनीतिमा आउने विचार पनि गरेकै हो। जसै कांग्रेसले माओवादीसँग गठबन्धन गर्योर मेरो मन मर्यो । सैद्धान्तिक रुपमा कांग्रेस ठिक भए पनि व्यवहार ठिक छैन।

कम्युनिष्ट राजनीतिले आकर्षित गरेन?
कम्युनिस्टहरुले पूँजीविहीन राज्यको परिकल्पना गर्छन्। उनीहरुको जुन प्रकारको सिद्धान्त छ त्यो असम्भव छ। उनीहरुको नीति एउटा छ व्यवहार अर्कै। यसले मलाई आकर्षित गरेन। जब नीति र व्यवहारै मिल्दैन नि, त्यसबाट राज्यको रुपान्तरण सम्भव छैन। अब व्यक्तिगत पूँजीविहीन राज्य नै लक्ष्य हो भने कार्यक्रम, व्यवहार पनि सोही अनुसार हुनुपर्ने हैन र? त्यस्तो छ र?

मंसिर ९, २०७८ बिहीबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।