कांग्रेस महामन्त्री खड्काविरोधी प्यानलका दुई पूर्वमन्त्रीले चुनाव हारे

कांग्रेस महामन्त्री खड्काविरोधी प्यानलका दुई पूर्वमन्त्रीले चुनाव हारे

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुर्खेतका दुई वटै प्रतिनिधि सभामा संस्थापन पक्षले एकलौटी जितेको छ। 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा झक बहादुर डाँगीको पुरै टिम विजयी भएको छ। सभापति डाँगीले ७१९ मत लिई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी बल बहादुर वलीले १०३ मत प्राप्त गरेका छन्।

क्षेत्रीय सचिवमा मोहन राना र पदम बहादुर खत्री विजयी भएका छन्। सह–सचिवमा प्रेम सिंह ठकुरी र यामलाल पंगाली विजयी भएका निर्वाचन समितिले जनाएको छ। 

यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई,  पूर्णबहादुर खड्का, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्का विजयी भए। कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानमा व्यवस्था भए पनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका थिए।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि संस्थापन पक्षको प्यानलले नै जित हात पारेको छ। क्षेत्रीय सभापतिमा इन्द्रबहादुर रावल ६४८ मत ल्याएर विजयी भए। रावलका प्रतिस्पर्धी ललित भट्टराईले २८८ मत ल्याए। 

सचिवमा दिलीपकुमार वाग्ले र बदबहादुर विष्ट तथा सहसचिवमा गगनबहादुर नेपाली र शेरबहादुर अधिकारी विजयी भएका छन्। 

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रबहादुर थापा, कलमबहादुर खड्का, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तिर्थजंग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केसी, यज्ञबहादुर बुढा क्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती निर्वाचित भएका छन्। 

थापा पञ्चपुरी नगरपालिकाका मेयर र बुढा क्षेत्री कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री हुन्।

महिलातर्फ जानकी सिंह, धनादेवी विष्ट, मुक्तिदेवी पुरी, रुकमणि रेग्मी, खसआर्य पुरुषतर्फ डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, महिलातर्फ जयमाला योगी, हजुरा शाही, आदिवासी जनजाति पुरुषतर्फ पूर्णबहादुर राना, आदिवासी महिलातर्फ अमृता पुलामी मगर, दलितमा लोकबहादुर विश्वकर्मा, शान्ति पहाडी र मुस्लिममा सतार बक्स केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन्। 

२ जना पूर्वमन्त्री र पार्टी सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्व मन्त्री र एक जना पार्टी सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

सुर्खेत–२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। 

यस्तै नेपाली कांग्रेस सुर्खेतका पार्टी सभापति कमलराज रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। तीन पटक मन्त्री भएका जोशीले ३१० मत मात्रै पाएका छन्। 

केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गरेका उनी १३ औँ नम्बरमा आए। त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाए। उनलाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन्। 

यस्तै पाटी सभापति रेग्मी ३२० मत पाएका छन्। पूर्व मन्त्री जोशी, बस्याल र पार्टी सभापति तीनै जना संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए।

८ मंसिर, २०७८, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।