प्रशासन र विद्यार्थीको किचलो : उपत्यकाका ५ क्याम्पसले त्रिवि कोषमा पैसा बुझाएनन्

प्रशासन र विद्यार्थीको किचलो : उपत्यकाका ५ क्याम्पसले त्रिवि कोषमा पैसा बुझाएनन्

विद्यार्थीहरूको उपचारलाई सहज बनाउन २०७१ बाटै यो नियम लागु भए पनि विद्यार्थी सङ्गठनका पदाधिकारीले नमानेको भन्दै पब्लिक यूथ, विश्व भाषा, सानोठिमी क्याम्पस, र भक्तपुर बहुमुखी क्याम्पसले पैसा बुझाएका छैनन्। सरस्वती बहुमुखी क्याम्पसले पैसा उठाए पनि कोषमा बुझाएको छैन।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले स्वास्थ्य उपचार खर्चमा छुट पाउने व्यवस्था छ। विद्यार्थीले बिरामी परेको अवस्थामा स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउँछन्। 

हरेक वर्ष पाँच सय बुझाउँदा एक लाखसम्मको छुट पाउने भए पनि क्याम्पस प्रशासनको हेलचेक्र्याइँले विद्यार्थीहरू पाउने सुविधाबाट वञ्चित भएका छन्।

किन रकम नबुझाएको भन्ने जिज्ञासामा अधिकांश क्याम्पस प्रशासनले विद्यार्थी सङ्गठनले नमानेका कारण पैसा उठाउन नसकेको बहाना बनाए।

पब्लिक यूथले स्नातकोत्तरमा मात्रै लियो
‘पब्लिक यूथ क्याम्पस’मा स्नातकोत्तर तहका विद्यार्थीबाट स्वास्थ्य उपचार बापतको शुल्क लिइरहेको भए पनि स्नातक तहका विद्यार्थीबाट कोषका लागि रकम लिन नसकेको क्याम्पस प्रमुख बलराम थापाले बताए।

२०७३ देखि स्नातकोत्तर तहमा स्वास्थ्य उपचार बापतको शुल्क लिएको र त्रिवि कोषमा बुझाइरहेको उनले जानकारी दिए। तर, कोभिडको  कारण पछिल्लो एक वर्षको रकम बुझाउन बाँकी भएको हुन सक्ने उनको भनाई छ।

स्वास्थ्य उपचार शुल्क लिने विषयमा विद्यार्थी संगठनहरुबीच समझदारी नभएकाले स्नातक तहमा सो शुल्क नलिएको क्याम्पस प्रमुख थापाको भनाई छ। उनले भने,‘स्नातक तहको शुल्क लिने विषयमा विद्यार्थी सङ्गठनहरूको बीचमा समझदारी भएन। त्यसैले शुल्क लिइएको छैन।’ 

शुल्क तिर्ने विद्यार्थीहरूले समेत स्वास्थ्य उपचार बापतको छुट सुविधाका लागि सिफारिस नलिएको उनले बताए। क्याम्पस प्रमुख थापाले भने, ‘शुल्क तिरेका विद्यार्थीहरू एक जना पनि स्वास्थ्य उपचार सुविधाका लागि सिफारिस लिन आएका छैनन्।’

सानोठिमी क्याम्पसले शुल्क लियो तर बुझाएन
त्यसै गरी भक्तपुरको सानोठिमीस्थित ‘सानोठिमी क्याम्पस’का क्याम्पस प्रमुख जगत पोखरेलले विद्यार्थीसँग स्वास्थ्य उपचार बापतको शुल्क लिएकाले कोषमा बुझाउने प्रक्रियामा रहेको दाबी गरे। उनले भने,‘अहिलेसम्म बुझाएको छैन। अव बुझाउने प्रक्रियामा छौँ।’

उनले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले कोषमा रकम बुझाउनका लागि पत्र लेखेको जानकारी दिए। क्याम्पस प्रमुख पोखरेलले कोषसँग सम्पर्क भइसकेकाले रकम पठाउने तयारीमा रहेको बताए। उनले भने,‘हामीलाई (त्रिविले) फोन गरिसकेको छ। हामीले हुन्छ, पटाउँछौँ। प्रक्रियामा छौँ भनेका छौँ।’ 

सरस्वती क्याम्पसमा बदमासी : स्वास्थ्य कोषको रकममा लेखा प्रमुखको चलखेल

टियुका विद्यार्थीको उपचारमा ९० प्रतिशत छुट, तर थाहा नै पाउँदैनन् विद्यार्थी

उनले आफू क्याम्पसमा नयाँ भएकाले कुन शैक्षिक सत्र वाट विद्यार्थी स्वास्थ्य उपचार बापतको शुल्क लिएको भन्ने यकिन जानकारी नभएको भन्दै अनभिज्ञता जनाए। ‘म आउनु भन्दा केही समय अगाडिदेखि लिन थालिएको रहेछ। अगाडीको मलाई धेरै थाहा भएन,’ क्याम्पस प्रमुख पोखरेलले भने, ‘म आइसकेपछि पनि लिइएको छ। यो एक वर्ष देखि लिइराखेको छ।’ 

भक्तपुर क्याम्पसमा विद्यार्थीको ताला
उता ‘भक्तपुर बहुमुखी क्याम्पस’ले विद्यार्थीबाट स्वास्थ्य उपचार बापतको शुल्क लिन नसक्नुमा विद्यार्थी सङ्गठन कारक देखिएको जनाएको छ। भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा. कृष्णप्रसाद पोखरेलले त्रिविमा विद्यार्थी स्वास्थ्य उपचार कोष स्थापना भएको सुरुवाती दिनदेखि नै शुल्क लिने प्रयास गरेको बताए। तर, विद्यार्थीहरूको विरोधका  कारण शुल्क लिन नसकिएको  उनको भनाई छ। 

‘शुल्क लिनु भनेर रसिद काट्न थालेका थियौँ विद्यार्थीहरूले विरोध गरे,’ उनले भने, ‘टिचिङमा गएर उपचार गर्दैनौँ। किन चाहियो भनेर दुई महिना क्याम्पस प्रमुखको कोठामा ताल्चा लगाइदिए।’ शुल्क नलिने भनेपछि मात्रै विद्यार्थीले ताला खोलेको उनले बताए।

विद्यार्थीहरूको अवरोधको बाध्यताले शुल्क लिन नसकेको उनको तर्क छ। त्यसपछि रजिष्ट्रारलाई पनि यो विषयका बारेमा जानकारी गराएको क्याम्पस प्रमुख पोखरेलले सुनाए। विद्यार्थीलाई जति सम्झाउँदा पनि स्वास्थ्य उपचार बापतको शुल्क लिन सफल नभएको उनको भनाई छ। अब फेरी माहौल बनाएर आउने सालदेखि शुल्क लिने प्रयास गर्ने पोखरेलको भनाई छ। उनले भने, ‘अस्ति विद्यार्थी कल्याण प्रमुखले पनि फोन गर्नु भएको थियो।’

विश्व भाषामा दोष ६ महिने कोर्सलाई 
काठमाडौँको प्रदर्शनी मार्गमा रहेको विश्व भाषा क्याम्पसले पनि अहिलेसम्म त्रिवि स्वास्थ्य उपचार कोषमा रकम बुझाएको छैन। विश्व भाषा क्याम्पस प्रमुख डा. यादवराज पन्त विद्यार्थीबाटै स्वास्थ्य उपचार बापतको शुल्क उठाउन नसकेको बताउँछन्। विश्व भाषा क्याम्पसमा ६ महिने भाषा विषयको अध्ययन हुन्छ। 

क्याम्पस प्रमुख पन्त विश्व भाषामा अध्ययन गर्ने धेरैजसो विद्यार्थीहरू अन्य क्याम्पसमा पनि पढ्ने भएकाले विद्यार्थीहरूले स्वास्थ्य उपचार बापतको शुल्क तिर्न नमानेको बताउँछन्। उनले भने, ‘यहाँ अरू क्याम्पसका पनि विद्यार्थी पढ्न आउँछन्। त्यसैले विद्यार्थीहरू शुल्क तिर्नै मान्दैनन्।’ अन्य क्याम्पसमा नतिरेका विद्यार्थीका लागि मात्रै भए पनि स्वास्थ्य उपचार शुल्क लिने भनिए पनि सो शुल्क उठाउन नसकेका क्याम्पस प्रमुखको दाबी छ। क्याम्पस स्रोतका अनुसार विद्यार्थी सङ्गठनले शुल्क उठाउने विषयमा सहमति नजनाउँदा स्वास्थ्य उपचार बापतको शुल्क लिन नसकिएको हो।

उता ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ बनेर ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ नै स्थापना भइसकेकाले क्याम्पसले शुल्क उठाउन सकिन भन्न नपाइने त्रिवि स्रोतको तर्क छ। 

विद्यार्थीको प्रश्न,– तिरेको शुल्कको सदुपयोग भएको छ? 
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिना भने विद्यार्थी कल्याणका नाममा शुल्क असुल्ने तर विद्यार्थी कल्याणको नाममा केही काम नहुने अवस्थामा शुल्क उठाउनुको औचित्य नहुने तर्क गर्छन्। उनले भने, ‘क्याम्पसले मनोमानी ढङ्गले खर्च गर्न पाउने देखिएकाले विद्यार्थीसँग अनावश्यक शीर्षकमा पैसा असुल्न पाइँदैन भन्ने कुरा हामीले भनेको हो।’ सुविधाको कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ।

स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट पाउने सवालमा विद्यार्थीलाई जानकारी नै नभएको उनको तर्क छ। महामन्त्री तिमल्सिनाले भने, ‘जानकारी गराउने काम विश्वविद्यालय, क्याम्पसको हो नि त।’

खातामा पैसा राखेर क्याम्पसले स्वेच्छाचारी ढङ्गले खर्च गरेकाले विद्यार्थीले सेवा लिन पाउने निश्चित हुनुपर्ने उनको तर्क छ। उनले भने, ‘विद्यार्थीले उपभोग गर्न सक्ने पक्का हुनुपर्यो। कार्यान्वयन हुन्छ भने त्यसमा हाम्रो अवरोध हुँदैन।’

तर, अनावश्यक रूपमा पैसा उठेर क्याम्पसले, नचाहिने खर्च गर्ने गरी विद्यार्थीसँग पैसा असुल्न नदिने उनको तर्क छ। सदुपयोग नभएको हुनाले यो शुल्क उठाउनुको औचित्य नभएको महामन्त्री तिमल्सिनाको भनाई छ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली पनि स्वास्थ्य उपचार बापतको शुल्क लिने सवालमा केही क्याम्पसहरूमा विद्यार्थी सङ्गठनले असहमति जनाउनु स्वाभाविकै भएको तर्क गर्छन्। क्याम्पसहरूले विद्यार्थीसँग कुन शीर्षकमा कति रकम लिएको हो भन्ने नखुलाएकाले अपारदर्शीताको कारण विद्यार्थी सङ्गठनहरूले असहमति जनाउने देखिएको उनको तर्क छ। 

‘क्याम्पसले विद्यार्थीसँग पैसा लिइसकेपछि पारदर्शी रूपमा विद्यार्थी समुदाय–सङ्गठनलाई दिएका छैनन्,’ उनले भने, ‘विश्वविद्यालयमा शुल्क बढिरहने, सेवा–सुविधा केही प्राप्त नहुने भएपछि विद्यार्थी सङ्गठनहरूले अवरोध गरेको हो जस्तो लाग्छ।’ 

त्रिविका आङ्गिक क्याम्पसहरूले विद्यार्थीसँग शुल्क लिँदा प्रस्ट खुलाएर लिनुपर्ने उनको भनाई छ। स्वास्थ्य उपचार बापतको शुल्क लिए पनि प्रभावकारी कार्यान्वयन नभएको उनी बताउँछन्। शुल्कको दुरुपयोग भएको छ की भन्ने आशङ्काले गर्दा पनि शुल्क लिने विषयमा विद्यार्थी सङ्गठनको अवरोध देखिएको अध्यक्ष पराजुलीको  तर्क छ। 

शीर्षक नै नखुलाई विद्यार्थीबाट एकमुस्ट शुल्क लिएर क्याम्पस प्रशासन तथा लेखा प्रमुख लगायतले रकम हिनामिना गरेको पराजुलीको आरोप छ। उनले भने,‘क्याम्पस प्रशासन, लेखा प्रमुख लगायत मिलेर खान सजिलो बनाउनका निम्ति क्याम्पसले एकमुष्ट पैसा लिइरहेका छन्।’ 

१ असोज, २०७८, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।