आरोही कल्पनाको प्रसव पीडा र खुसी : छोराको प्रश्नले सगरमाथा चढायो

आरोही कल्पनाको प्रसव पीडा र खुसी : छोराको प्रश्नले सगरमाथा चढायो

छापा पत्रकारिताबाट करिअर सुरु गरेकी कल्पना महर्जन टेलिभिजन पत्रकारिताहुँदै अहिले आफ्नै युट्युब च्यानलमा सक्रिय छिन्। घुमघाम, संस्कृति,जात्रा लगायत कार्यक्रममा रुचि राख्ने उनी सगरमाथा आरोही समेत हुन्। कल्पनाले २०७५ जेठ ९ मा नेपालबाट र २०७६ जेठ ९ गते तिब्बतबाट सगरमाथा आरोहण गरिन्। अहिले उनको ८ वर्षको छोरा छ। धेरैले बच्चा सानो भएकोले काम गर्ने सकिएन भन्ने गरेको सुनिन्छ। तर उनलाई यो बहाना हो जस्तो लाग्छ।  

बच्चा नै आफ्नो हिम्मत मान्ने कल्पनालाई सानोमा बच्चा छोडेर सगरमाथा चढ्न जाँदा धेरैले निष्ठूरी आमाको ट्याग पनि लगाइदिए। तर छोराले आफूप्रति गर्व गर्ने सक्ने इतिहास बनाएकोमा उनी दङ्ग छिन्। उनीसँग प्रसव पीडा भन्दा धेरै खुसीको अनुभव रहेछ। उनले प्रसव पिडा र खुसी स्तम्भका लागि उकेरासँग बाँडेको अनुभव :

०००

काम गर्दा छोरीको रूपमा जति स्वतन्त्रताको अनुभव हुन्थ्यो बुहारी भएपछि जिम्मेवारी र कसैले केही भन्ला कि भन्ने डर हुँदो रहेछ। त्यसैले विवाहको सुरुवाती दिनमा केही गर्ने भन्ने लाग्यो। केही भन्न पनि डराउँथेँ।  

जन्मेको सानागाउँ र कर्म घर ठेचो उस्तै खालको पुरानो नेवारी बस्ती हो । जहाँ छोरी, बुहारीको लागि सीमाहरू हुन्थे। तर म पत्रकारितामा सक्रिय रहेकाले ती बुहारीको सीमा भित्र रहिरहन सम्भव थिएन। 

तर बिहे लगत्तै बच्चा जन्माउन प्रेसर आउन थाले । आफू बलियो हुँदा बच्चा पायो भने बच्चालाई राम्ररी स्याहार सुसार गर्न सकिन्छ भन्थे। सासूको कुरा पनि सही नै थियो।

विवाह गरेको ३ वर्ष पछि म गर्भवती भए। गर्भ बसे पनि मेरो सक्रियता घटेन। एक्टिभै थिए। काम गर्दा मेरो पेटमा बच्चा पो छ भन्ने नै बिर्सन्थे। 

म त्यो बेला माउन्टेन टिभीमा काम गर्थे। बागबजारको ५ तल्लामाथि अफिस थियो । तल, माथि गरी रहनु पर्ने। बिस्तारै हिँड्नै नआउने, दगुर्ने बानी थियो मेरो। सहकर्मीहरू डराउँथे । तिमी प्रेगनेन्ट छौ है, ध्यान देऊ  भनिरहन्थे।

म हरेक दिन ठेचोबाट बागबजार स्कुटरमा आउँथेँ । त्यति बेला मैले पर्यटन सम्बन्धी कार्यक्रम चलाउँथेँ । गाउँघरतिर गर्भवती महिलाले भैरव र दक्षिणकाली माता दर्शन गर्नु हुदैंन भन्ने कथन थियो । भैरव मन्दिर जाँदा बच्चा तुहिने जनधारणा रहेछ। मलाई यस्तो कुरामा त्यति वास्तै नहुने। 

धेरै पटक भैरवकै मन्दिरमा गएर कार्यक्रमहरू गर्नुपर्यो। 

७ महिनाको बच्चा पेटमा हुँदा चम्पादेवी हाइकिङमा गएको थिएँ। धेरैले यस्तो बेला पनि हाइकिङ आयो भनेर गाली गरे। म सधैँ सोच्थेँ, मेरो बच्चा मेरो पेटबाटै एक्टिभ होस्। म डेलिभरीको अघिल्लो दिनसम्म पनि अफिस गइरहेँ। 

कार्यालय र घर अलि टाढा थियो। डेलिभरीको दिन नजिक आउँदा चैँ केही होला कि भनेर डर चैँ लाग्यो। नर्मल डेलिभरी भयो । बिहान ४ बजे बच्चा पाए। दिउसो ११ बजे त घरै फर्के । बच्चा र म दुवै स्वस्थ थियौँ । 

बच्चाको सामीप्यले गज्जबको रोमाञ्चकता दिंदो रहेछ । बल्ल आमाको महत्त्व र आभासलाई नियाल्न पाएँ ।

०००

छोरो तीन महिनाको मात्र थियो। अन्तर मिडिया वाल क्लाइमिगं प्रतियोगिता हुँदै छ भन्ने खबर सुनेँ। सुत्केरी ज्यान। तर प्रतियोगितामा भाग लिन हुटहुटी बढ्यो।

‘भर्खरको सुत्केरी, जीउ बिग्रन्छ, जानु पर्दैन’ भनेर घरमा दबाब आउने नै भयो। तर लुसुक्क नाम लेखाइसकेको थिए।

घरमा सासू हुने भएकाले बच्चा छाड्न समस्या थिएन। तर जुन दिन प्रतियोगिता हुने त्यही दिन गाउँमा देउता ल्याउने रहिछ। सासू देउता लिन जानुपर्ने भयो। बच्चा कसलाई छाड्ने तनाव भयो। तर जसरी पनि भाग त लिनु नै थियो।

माइत गएर बच्चा छाडे। अनि लागे प्रतियोगितामा भाग लिन। सुत्केरी ज्यान कमलो त हुन्छ। तर कमजोर अनुभव चैँ गरिन मैले। 

मलाई जसरी पनि उत्कृष्ट १० भित्र पर्नु थियो। त्यही अनुसार प्रदर्शन पनि गरे। राम्रो भएको थियो। प्रतियोगिताको अन्तमा टप टेनको नाम आउन थाल्यो। टप २सम्मको नाम आउँदा पनि म परिन। खिन्न लाग्यो। तर पहिलो नम्बरमा मेरै नाम रहेछ। कम्ता खुसी लागेन।

मलाई घर फर्कन हतार भइसकेको थियो। दूध चुहिएर गाह्रो भइरहेको थियो। छाती फुट्ला झै भयो। तर आयोजकले प्रमाण पत्र र अवार्ड नलिई जानै दिएनन्। यता आफूलाई कतिखेर घर पुगूँ भइसक्यो। हातमा प्रमाण पत्र र अवार्ड पर्नासाथ माइततिर दगुरी हाले। बच्चालाई दूध खुवाएपछि पछि बल्ल आनन्द भयो।

०००

माउन्टेन एकेडेमीले नेपालमा पहिलो पटक २५ जना महिलाहरूलाई ट्रेकिङ गाइडको ट्रेनिङ आयोजना गर्यो। त्यति बेला छोरो जम्मा १८ महिनाको थियो । तालिमको क्रममा १ हप्ता त फिल्डमै जानुपर्ने। काममा यताउता गइरहे पनि बेलुका बच्चा छाडेको थिइन्। दोधारमा परे।

तर क्लाइम्बर बन्ने सपना यसरी इमोशनल भएर त कहाँ पुरा हुनसक्छ र। बच्चाको इमोशनमा फसियो भने बरबाद हुन्छ भनेर सहभागी भए। आफ्नो सपनाको कुरा पनि त भयो नि। दिनकै भिडियो कल गर्थे। बच्चाको अनुहार हेरेपछि जाँगरै अर्को हुने। तर तालिमको दौरानमा पनि दूध चुहिएर हैरान भए। छोराको खुब माया लाग्यो। बेकारमा आएछु जस्तो नलागेको हैन। तर मन दहे बनाए। 

त्यो प्रशिक्षणपछि ममा आरोहणप्रतिको मोह झन् बढ्यो। सगरमाथा नै चढ्नुपर्छ कि क्या हो भनेर जोस पो आयो त। तर बच्चा भर्खर तीन वर्षको मात्र भएको थियो।

सगरमाथा चढ्ने अनुमति पाउन पहिला ६ हजार मिटरको हिमाल चढेको सर्टिफिकेट चाहिने रहेछ। मेरापिक हिमाल चढ्यो भने त्यो योग्यता पुग्ने रहिछ। त्यही योजना बनाए। घरमा समस्या त आयो नै तर ढिपी गरेरै गए।

मेरापिक चढ्दा मलाई लेक लाग्यो। फोक्सोमा पानी जम्ने र  दिमागमा पानी जम्ने दुवै समस्या भयो। यी दुवै समस्या हुँदा बाँच्ने प्रतिशत धेरै कम हुँदो रहेछ। 

म त ७ दिनसम्म कोमामा पुगेछु। होस आउँदा हस्पिटलको बेडमा हात, खुटा बाँधिएको अवस्थामा थिएँ।

होस आउनासाथ पहिलो याद छोराकै आयो। तर नर्मल वार्डमा नसारी बच्चा ल्याइदिएनन्। वार्डमा सारे लगत्तै छोरा दगुरेर मलाई अँगालो हाल्न आउँदै थियो । मेरो घाँटीमा टेप देखेपछि डरायो।

घाँटीमा प्वाल पारेर खाना ख्वाएको रहेछ । छोरा त भाग्यो। मलाई नरमाइलो लाग्यो। ‘मामु धेरै दिन हस्पिटलमा बस्नु हुँदैंन, निको भएर छिटो घर आउनु । म स्कुलमा राम्रोसँग पढ्दै गर्छु’ भनेर छोरो गयो। त्यो रात मलाई निन्द्रै लागेन।

घर फर्किएपछि हिमाल आरोहणको सपना त्याग्न दबाब आउने नै भयो। पहिलो प्रयासमै नसोचेको दुर्घटना भयो। दोस्रो जन्म पाएको थिए मैले। धन्न बाँचियो। परिवारका सदस्यलाई हिमालले नै ज्यान लैजाला भनेर पिर लाग्नु स्वाभाविक पनि हो।

त मेरो मनमा भने हिमालको आर्कशण घटेको थिएन। सगरमाथा चढ्नकै लागि मैले दोस्रो जन्म पाएको हुँ भन्ने लाग्थ्यो। राती सुत्ने बेलामा छोरालाई आफू हिमाल चढ्दाको कथाहरू सुनाउँथे। उसले सोध्थ्यो‘ सगरमाथाको चुचुरोमा कहिले जाने ?’ यसले हौसला बढाउँथ्यो।

०००

सन् २०१७ मा ५ जना महिला पत्रकारहरू सगरमाथा चढ्ने तयारीमा रहेछन्। उनीहरूले अनुभवका लागि मसँग भेटे। उनीहरूले मलाई पनि सँगै जाऊँ भन्न थाले। राम्रो मौका थियो सगरमाथाको चुच्चोमा पुग्ने।

तर यता घरमा हिमालको नामै सुन्न नचाहने वातावरण थियो। अनुमति पाउने सम्भावनै थिएन।

त्यसैले थाहै नदिई म तालिममा सहभागी हुन थाले। छोरालाई चैँ भनेको थिए ‘कसैलाई नभन है’ भनेर।

बिहान ४ बजे उठेर घरको सबै काम सक्काएर ७ बजे बालाजु पुग्थे तालिम लिन। तालीम सकेर दिनभर अफिस। अफिसबाट घर फर्किएर घरधन्दा। निकै व्यस्त भए। 

तालिम सकियो। सगरमाथा चढ्न जाने भइयो। तर घरमा थाहै थिएन। छोराले पनि कसैलाई भनेन है।

सगरमाथा आरोहण समूहलाई राष्ट्रपतिबाट बिदाइ हुने भयो। म शीतल निवास पुगे। तस्विरसहित समाचार सार्वजनिक भएपछि घरकाले थाहा पाए। मेरो फोटो आएको पत्रिका बोकेर छोरोले सबैलाई देखाउँदै हिँड्यो। फेरि केही होला कि भनेर घरका डराएका थिए। 

०००

६ हजार मिटरको हिमाल चढ्न दोलखाको रोल्वालिङ छानियो। हिमाल चढ्न जाने दिन नजिकिदैजाँदा छोराले मुख बिगारेर ‘मामु फेरि बिरामी हुन्छ कि’ भन्दा चैे  मुटु भक्कानियो । मैले केही बोल्नै सकिन। उसैले ‘गणपति बाबालाई प्रार्थना गर्छु,तपाई जानु, केही हुन्न’ भन्यो।

छोरोले मेरो सफलताको लागि गायत्री मन्त्र, महामृत्युञ्जय मन्त्र समेत कण्ठ पारेको थियो। ५ वर्षको छोराको यी कुराहरूले मलाई हौसला दिन्थ्यो। डर लाग्दैन थियो । 

रोल्वालिङ चढ्न दोलखा हिँडेको पनि घरमा कसैलाई थाहै दिइन। छोरालाई चैँ भने खुसुक्क। घरबाट भागेर हिमाल चढ्न गए जस्तै थियो त्यो। 

श्रीमान्लाई चैँ भन्नुपर्छ कि भन्ने लाग्यो। कोटेश्वर पुगेपछि ‘रोल्वालिङ चढ्न सफल भएपछि आफै फोन गर्छु’ भनेर म्यासेज पठाए।

बिरामी भएर फर्कनुपर्दा धेरैले नेवारकी छोरी त्यसमा पनि बच्चा भइसकेकी आइमाईलाई हिमाल चढ्न सम्भव छैन भन्थे। कतिले त कल्पनाले पागलपना देखायो भनेर टोल छिमेकले गाली पनि गरे। काममा पनि जिस्काउँथे। यसले मनमा इख बढायो। इखले हिम्मत दियो।

आरोहण सफल भयो। श्रीमान्लाई फोन गरेर भने‘यो पाली केही भएन। चढे।’ घरका सबै खुसी भए।

घर फर्किएपछि सबै दङ्ग। २ वटा हिमाल चढे नि त। घरमा मिटिङ नै बस्यो। अनि त्यही। अब सगरमाथा चढ्छु भने। कसैले प्रतिक्रिया जनाएनन्। मौन स्वीकृतिको रूपमा बुझे त्यसलाई।

छोराले हरेक दिन ‘सगरमाथा चढेर आउनै पर्छ, मेरो चिन्ता नगर्नु’ भन्थ्यो। त्यसले ममा हिम्मत बढाइरहेको थियो।

०००

महिला टोलीले सगरमाथा चढ्ने अनुमति पायो। हामी गयौँ। पक्कै सकिन्छ भन्ने आँट थियो सबैमा। तर पाँच हजार २ सय  मिटर उचाइमा पुगेपछि मलाई समस्या भयो। मेरो फोक्सोमा पानी जम्यो। फर्किएर हिमाल रेस्क्यु सेन्टरमा बसे।

नाम्चे फर्किएर हाइअल्टीट्युटको उपचार गराए। अस्पतालमा बस्दा छोराले ‘मामु टपमा पुग्नुभयो’ भनेर सोध्दा बोल्नै सकिन । म कति रोएँ भन्नै सक्दिन । जसरी नि चढ्छु भन्ने लाग्यो। बच्चाको मायाले पनि मर्दिन भन्ने लाग्यो त्यो बेला। अनि आफै रिस्क लिएर फेरि चढ्न लागे बेसक्याम्पतिर।

नभन्दै सगरमाथाको चुचुरोमा पुगे।

चुचुरोमा उभिएर यताउता हेर्दाको आनन्द अर्कै। अब छोराले‘ टपमा पुग्नुभयो’ भन्दा उत्तरहीन हुनुपर्दैन भन्ने लाग्यो मनमा। कतिखेर छोरो भेटौँ भइहाल्यो नि।

तल ओर्लिएर छोरालाई भने‘मामा टपमा पुगे नि।’ छोरो दङ।

काठमाडौँ पुग्न हप्ता दिन जति लाग्ने भयो। त्यो एक हप्ता कति लामो लाग्यो हो मलाई त। कतिखेर छोरो भेटौँ भनेर ऐँठनै भइसकेको थियो।

कराते राष्ट्रिय प्रशिक्षक तारा गुरुङको प्रसव पीडा र खुसी : स्वार्थी आमा पो भए कि !

०००

विमानस्थलको टर्मिनलबाट बाहिर निस्कँदा हातमा वेलकम ब्याक लेखेको ब्यानर बोकेर उभिएको थियो छोरो। गाउँबाट बाजासहित आएका थिए स्वागत गर्न। छोरालाई च्याप्पै च्यापेर अँगालो हाले। कति मिठो अँगालो। कति आनन्द आएको नि त्यो बेला। अहिले सम्झँदा पनि रमाइलो लाग्छ।

घर गएपछि बाहिर निस्कन लाज लाग्यो मलाई। किन लजाउने टपमा सबै पुग्छन् र भन्दै छोराले हात समातेर बाहिर डुल्न लैजान्थ्यो। 

अहिले छोरा तेक्वाण्डोमा ब्ल्याक बेल्ट भइसक्यो।

०००

दुई पटक मृत्युको मुखमा पुगेर फर्किएको म त्यसै घरमा के गरेर बस्ने भन्ने लाग्न थाल्यो। फेरि तिब्बततिरबाट सगरमाथा चढेँ । गाह्रो भएन पहिलाको जस्तो। अहिले गिनिज बुक रेकर्डको लागि तयारीमा छु । छोरो मैले विश्व रेकर्ड राखेको हेर्न चाहन्छ। मलाई हौसला दिइरहन्छ।

धेरै आमाहरू सन्तानलाई कमजोरीको रूपमा लिन्छन्। तर मेरो लागि त सन्तान कहिल्यै कमजोरी भएन। हौसलाको स्रोत भयो। म गर्व गर्न लायक आमा बन्न चाहन्थे। दुई पटक मृत्युको मुखमा पर्दा भगवान् यसरी निर्दयी हुन सक्दैन, मेरो बच्चाको मातृत्व खोस्न सक्दैन भन्ने विश्वास थियो। 

पहिलो पटक सगरमाथाको बिचैबाट फर्किएको बेला छोराले‘मामु टपमा पुग्ने भो’ नभनेको भए सायद सगरमाथा चढ्ने मेरो सपना सपनै रहन्थ्यो। 

माघ २५, २०७७ आइतबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।