बहादुर प्रहरीको सम्मान : जिउँदोमा असई, मृत्युपछि सई

बहादुर प्रहरीको सम्मान : जिउँदोमा असई, मृत्युपछि सई

सानैमा बाबु गुमाएका उनी पढ्दापढ्दै प्रहरी सहायक निरीक्षकको दर्जामा प्रवेश गरेका थिए। काँधमा क्रस खुकुरी( प्रहरी निरीक्षक) को दर्ज्यानी चिन्ह लगाउने धोको त थियो नै।

त्यही धोको पुरा गर्न उनी काठमाडौँ आए। दरखास्त दिए अनि  स्वास्थ्य परीक्षण गराएर धनगढी फर्किए। उनले जिम्मेवारी पाएका थिए कैलालीको अस्थायी प्रहरी बिट जुगाडाको प्रमुख ।

जगेडा नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै पोके तस्करीमा कहलिएको क्षेत्र हो। पैसा भनेपछि भुतुक्कै हुने प्रहरीका लागि आर्कशक पोस्टिगं।

तर बिक प्रमुख भएपछि नाकामा कडाइ सुरु भयो। उनले पोके तस्करी नियन्त्रणमा कडाइ सुरु गरे।

कात्तिक १ गते बेलुका उनी चौकीका प्रहरी जवान रामबहादुर साउदलाई पछाडि राखेर गस्तीमा हिँडेका उनी चौकी फर्किएनन्।

प्रहरी कर्मचारी हराएपछि सोधखोज सुरु भयो। चौकीबाट केही पर उनले चढेको बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल फेला प¥यो। चौकीको तीन किलोमिटर पर मोहना नदीमा उनको शव। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो भने सुरक्षाका लागि बोक्ने पेस्तोल गायब।

उनीसँगै गएका प्रहरी जवानको अत्तोपत्तो थिएन। तेस्रो दिन उनको शव फेला पर्यो गाढेको अवस्थामा।

अनुसन्धानमा जुटेको प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा १५ जनलाई पक्राउ गरेर अनुसन्धान थाल्यो र ती मध्ये सात जनाको संलग्नता देखिएको भन्दै कानुनी प्रक्रिया अगाडि बढायो ।

पक्राउ परेका राजीव गुप्ता, पर्कु भनिने रोहित राना, राजेन्द्र राना,सुरेश राना, राजकुमार राना, राम निवास राना, दलराम राना र राम गोपाल राना पक्राउ परे। गुप्ता बाहेक सबै पुर्पक्षका लागि थुनामा गए पनि मुख्य योजनाकार देखिएका अमर राना पुस १३ गते पक्राउ परे।

बिक को हत्यासँग जोडियो केराउ तस्करी

तेस्रो देशबाट नेपालमा सामान आयात गरेर भारत तस्करी गर्ने अपराध शैली निक्कै पुरानो हो। कहिले सुपारीको तस्करीको लाइन खुल्छ त कहिले पाम तेलको। पछिल्लो समय केराउ तस्करीकोक्रम बढेको छ।

अमेरिका, क्यानडा लगायतका देशबाट केराउ नेपाल भित्र्याएर चोर बाटोबाट भारत पुर्याउन तस्करको समूह नै सक्रिय हुने गरेका छन्। असई विकको हत्यामा समेत यही केराउ तस्करी जोडियो।

भारतले जुन बस्तुको आयातमा कर लगाउँछ नेपाल हुँदै भारतमा तस्करी सुरु भइहाल्छ। भारतले केराउ आयात करको दर बढाएपछि नेपालबाट केराउ तस्करी हुने क्रम सुरु भएको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बिक र अर्का जवान मारिएको रात तस्कर समूहले गाडामा राखेर २५ क्विन्टल केराउ भारत तस्करी गर्दै थिए।

असई बिक प्रहरी जवानसहित सो क्षेत्रमा पुग्दा विवाद भयो। उनले नियन्त्रणमा लिन खोज्दा तस्करीमा संलग्न समूहहरूले उनलाई नियन्त्रणमा लिएर साथमा रहेको घरेलु हतियार प्रहार गरेर हत्या गरे। प्रहरी जवान पनि उसै गरी मारिए।

तस्करीमा जोडिए स्थानीय व्यापारी गुप्ता। अनुसन्धानको दायरामा आएका उनी धरौटीमा छन् अहिले।

प्रहरी निरीक्षकको सपना अधुरै

प्रहरी निरीक्षक बन्ने विकको सपना अधुरै रह्यो। तर प्रदेश सरकारले मृत्युपछि भए पनि उनको काँधमा लाग्ने ताराको सङ्ख्या भने पनि बढाएको छ। प्रदेश प्रहरीले दुवै प्रहरीको बहादुरीको सम्मान गर्दै मृत्युपछि विकलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा बढुवा गरेको छ भने जवान साउदलाई प्रहरी हवलदारमा बढुवा गरेको छ।

१३ पुस, २०७७, १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।