‘क्रान्तिकारी’ बादलको ‘पश्चगामी’ यात्रा

‘क्रान्तिकारी’ बादलको ‘पश्चगामी’  यात्रा

काठमाडौं : संसद् विघटनसँगै आइतबार एकाएक राजनीतिक कोर्सले बाटो बदल्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरि मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै नेपालको भावी राजनीतिक यात्राले मात्र बाटो बदलेन, तत्कालिन माओवादी केन्द्रको कोटाबाट गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’को मौनताले समेत उनको राजनीतिक यात्राको बाटो बदल्यो। 

संसद् विघटनको प्रस्ताव राष्ट्रपतिबाट सदर भएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षधरका ७ मन्त्रीले संयुक्त राजीनामा घोषणा गर्दा त्यहाँ बादलको नाम थिएन। 

नेकपामा बढ्दो धुव्रीकरणसँगै ‘बादल’ प्रायः मौन नै बस्दै आएका थिए। उनको यो मौनता राजनीतिक खिचातानीप्रतिको वितृष्णाको रूपमा पनि हेरिएको थियो। गुटगत भेलामा कतै नखुले पनि उनले पुष्पकमल दाहाललाई भेट्न छाडेका थिएनन्। यसले मन्त्री पदमा रहेसम्म प्रधानमन्त्री ओलीलाई नचिढ्याउने तर निर्णायक अवस्थामा दाहालको पक्षमा हुने आँकलन गरिएको थियो। 

तर, आइतबारको घटनाक्रमले दृष्य प्रष्ट बनायो। अब दाहालसँग बादल छैनन्। उनी ओलीको कित्तामा प्रवेश गरिसके।

ओलीलाई प्रधानमन्त्री पदबाट गलहत्याएर आफू प्रधानमन्त्री बन्न माधव नेपाल र झलनाथ खनालको साथ दिएर दाहालले खेलेको खेलको प्रत्युत्तरमा ओलीले संसद विघटन गराएको आइतबार दिनभरको दृष्यले प्रष्ट पार्यो नै। कतिपयले आइतबार सामूहिक राजीनामा आउँदा बादलको नआउँदा दाहालले खेलेको छिर्के दाउप्रतिको असन्तुष्टिको रूपमा लिँदै भोलि नेकपा विभाजित भएको अवस्थामा उनी प्रचण्डतिरै फर्कने आँकलन पनि गरेको देखियो। तर, मौन बस्ने बादलको मनमा कुनचाहिँ राजनीतिक ‘खिचडी’ पाकेको छ, खुलेको छैन।

तर, बादलको यो कदमले सशस्त्र द्वन्द्वताका बनाएको निडर साहसी लडाकुको छवि अवसरवादी नेतामा रूपान्तरण भने गरेको छ।

ढुलमुले बादल

बादलको पछिल्लो राजनीतिक कदम ढुलमुले नै देखिन्छ। शान्तिपूर्ण राजनीतिमा आएलगत्तै माओवादीले पहिलो संविधानसभाको चुनावमा बहुमत प्राप्त गरी सरकारको नेतृत्व गर्ने अवसर पाउँदा उनी रक्षामन्त्री भएका थिए। बादलकै क्रान्तिकारी निर्णयका कारण तत्कालीन सेनापति रूपमाङ्गत कटुवाललाई हटाउने निर्णय गर्याे, जुन माओवादीका लागि गलत कदम बनिदियो।

सेनापति प्रकरणकै कारण प्रचण्ड नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको थियो। तत्कालीन समयमा माओवादीले सत्ताबाट बर्हिगमनपछि ‘नागरिक सर्वोच्चता’को आन्दोलन सुरु गर्याे। वास्तवमा यी सवै बादलकै हठका कारण भएको मानिन्छ, जसलाई जनयुद्धमा होमिएका माओवादीले प्रतिष्ठाको बिषय बनाएका थिए। 

सत्ताबाट बर्हिगमनपछि प्रचण्डसँग कुरा नमिलेर छुट्टिएका बादल मोहन वैद्य  ‘किरण’ पक्षमा देखिएका थिए। वैद्यबाट छुटेर ‘विप्लव माओवादी’ बनेपछि उनी केही समय वैद्यसँगै रहे। 

वैद्य माओवादीले राजनीतिक ओझ पाउन सकेन। त्यसपछि उनी पम्फा भुसाल लगायतका नेताहरूसहित पुनः प्रचण्ड नेतृत्वको पार्टीमा फर्किए। त्यो पनि महत्त्वपूर्ण जिम्मेवारीसहित। 

स्थानीय निकायको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको तत्कालीन माओवादी केन्द्रले प्रदेश र केन्द्रको राजनीतिमा नेकपा एमालेसँग सहकार्य गर्दै पार्टी एकतासम्मको चरणमा पुग्यो। बहुमतसहित सरकार बनाउँदा दाहालले नै उनलाई तत्कालीन माओवादीको कोटामा गृहमन्त्री बनाए।

गृहमन्त्रीको यात्रासँगै उनको प्राथमिकता बदलिँदै गयो। सत्ताको चास्नी मिठो लाग्न थाल्यो बादललाई। त्यो चास्नीको स्वाद कतिसम्म गढेको रहेछ आइतबार देखियो।

सर्वहारा वर्गको राज्य स्थापना गर्ने असफल यात्रा सात दलसँगको सहकार्यबाट संसदीय राजनीतिमा प्रवेश भए पनि बादल यो राजनीतिको खेलमा प्रवेश गरिसकेका थिएनन्। ओझपूर्ण छवि कायमै राखेका थिए।

गणतान्त्रिक नेपालमा उनले सर्वहारा वर्गको मुक्तिको पक्षमा जोशिला भाषण गरिरहे। गणतन्त्रप्रतिको भक्ति र आत्मीयतामा कुनै शंका गर्ने विन्दु दिएनन् उनले। तर, गणतन्त्र स्थापनाका लागि आन्दोलन हुँदा ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्ने ओलीको कित्तामा बसेका उनको यात्रा अब अग्रगामी हुने या पश्चगामी सायद उनी नै जानकार देखिएनन्।

आइतबार नेकपाका दुवै पक्षले जे जस्तो खेल खेले, त्यो पक्कै ‘फेयर प्ले’ थिएन। ‘फाउल’को हिसाव गर्ने हो भने यो खेलमा दाहालको टिमले भन्दा ओलीको टिमका सदस्यले नै बढी ‘फाउल’ खेलेका छन्। ‘एल्लो कार्ड’ पाएका छन्।

यो अवस्थामा उनी न दाहालतिर न ओलीतिर हुनसक्थे नै। तर, उनको मौनताले उनी ओलीतिरै बढी ढल्किएको देखियो। ‘बादल’ हुन् कुनै पनि बेला राजनीतिक रंग बदलिने सम्भावनाको अन्त्य भने भइसकेको छैन।

५ पुस, २०७७, २२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।