'कोहलपुर एक्सप्रेस'को चोरी काम सम्झिएर केकीलाई 'बोक्सीको घर' मा खुच्चिङ त नगर्लान् नि दर्शकले !

'कोहलपुर एक्सप्रेस'को चोरी काम सम्झिएर केकीलाई  'बोक्सीको घर' मा खुच्चिङ त नगर्लान् नि दर्शकले !

काठमाडौं : फिल्मबारे जानकार, सञ्चारकर्मी र कलाकारलाई रिलिज अगाडि फिल्म देखाएर रिलिजको माहौल बनाउने। यही त हो फिल्म प्रिमियर गर्नुको अर्थ।

प्रिमियर हुने फिल्मका कलाकारको आशा र अपेक्षा सुन्ने अनि फिल्म हेरेका जानकार र कलाकारको प्रतिक्रिया लिन नै प्रिमियर गर्ने त हो। तर हिजोआज यो फिल्मको प्रिमियर साथीभाइ र आफन्तलाई निःशुल्क फिल्म देखाउने मौका जस्तो भइरहेको छ।

नेपाली सेलिब्रिटीहरु पछिल्लो समय फिल्म प्रिमियरमा कमै देखिन्छन्। फिल्मको प्रिमियरमा कलाकार/पत्रकार अनि फिल्मका जानकार भन्दा  उहीँ परिवारको जमघट हुन थालेको छ।  बुधवार फिल्म ‘बोक्सीको घर’को प्रिमियरको हालत पनि उस्तै देखियो, आफन्त, परिवारको सदस्य, फिल्म क्षेत्रका साथीहरू।

करिब चार सय हाराहारीको भिडमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,निर्देशक दीपाश्री निरौला,ज्ञानेन्द्र देउजा,प्रशान्त ताम्राकार,प्रकाश सपुत,स्वस्तिमा खड्का,निशा अधिकारी लगायतका केही कलाकार नभएका हैनन् तर भिडमा ती कता हराए कता।

फिल्म हेरेपछिको प्रतिक्रिया दिँदै शोभित बस्नेत र सलोन बस्नेतले केकीले अभिनेत्री गौरीको ठाउँ लिएको भन्दै प्रशंसा गरे। तर गौरी मल्ले भने फिल्म हेरे पनि कुनै प्रतिक्रिया नदिइन बाहिरिइन्। उनी जसरी हलमा प्रवेश गरेकी थिइन् त्यसै गरी बाहिरिएपछि पत्रकारहरू छक्क परे। पत्रकारले प्रतिक्रिया लिन खोज्दा हातले पर्दैन पर्दैन भन्दै बाहिरिएकी थिइन्।

पहिलो फिल्म कोहलपुर एक्सप्रेस बनाएकी केकीले सिधै भारतीय फिल्म मुम्बई एक्सप्रेसको नेपाली भर्सन बनाएकी थिइन्। यत्रो फिल्म खेलेकी अनि बाबु पनि फिल्म क्षेत्रकै, उनले अनजानमा यसरी फिल्मको कथा चोरेको त के होला र!

बोक्सीको घरको हकमा यो तहको चोरीको बात लाग्ने जोखिम छैन। किनकि यो पहिल्यै प्रदर्शित नाटक बोक्सीको घरमा आधारित फिल्म हो। कथा अर्ग्यानिक।

एक गीत अनि ट्रेलरले केकीको अभिनयको सङ्केत गरेको छ। प्रिमियरपछि केही कलाकारले प्रशंसा पनि गरेका छन्। केकीको अभिनयमा फरकपन देखिन्छ पनि। दर्शकले अनुभव गरेको हकमा केकीको उत्कृष्ट फिल्म बन्न नि सक्छ यो।

तर, केकीको पहिलो फिल्मबाट दर्शकले आश गरेका थिए। केकीले कथा चोरेर फिल्म बनाएकाले दर्शक निराश भएका थिए। धोकै भएको थियो। यो पटक अर्ग्यानिक कथामा फिल्म बनाएर केकीले आश गर्दा दर्शकले कोहलपुर एक्सप्रेसको धोका सम्झेर खुच्चिङ त के गर्लान् र! 

१२ बैशाख, २०८१, ००:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।