फिल्म निर्माताको लगानी स्टारमा कि स्क्रिप्टमा !

फिल्म निर्माताको लगानी स्टारमा कि स्क्रिप्टमा !

काठमाडौँ : वैशाख १४ गते रिलिज भएको फिल्म ‘बोक्सीको घर’ को लगानी कति? निर्माण टिमले खुलाएका छैनन्। तर, यो थोरै लगानीमा बनेको फिल्म हो भन्ने चयन भएका कलाकार अनि लोकेसनले नै देखाउँछ। तर आम्दानी भने सार्वजनिक गरिसकेको छ निर्माण टिमले।

लगानीकर्ता तथा अभिनेत्री केकी अधिकारीका अनुसार फिल्मले ६ करोड बढी ग्रस कलेक्सन गरिसकेको छ। सामान्य रूपमा बुझ्दा ग्रस कलेक्सनको तीन भागको एक भाग मात्र निर्माताले पाउँछन्। यति व्यापार भएको आधारमा फिल्मको लगानी उठ्नु भनेको फिल्मको लगानी एक करोड हाराहारीकै देखिन्छ।

नेपाली फिल्म क्षेत्रमा फिल्म निर्माण गरेर राम्रो कमाई गर्ने निर्माताहरूको सूचीमा पर्ने निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखे, ‘पोस्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टीस्टारर फिल्म भन्दा बलियो छ। त्यसैले स्टारमा होइन, स्क्रिप्टमा लगानी गरौँ।’

नेपाली फिल्म क्षेत्रमा स्टारमा ध्यान दिने कि स्क्रिप्टमा भन्ने बहस चलेको लामै समय भइसक्यो। बहसको निष्कर्षमा प्राय स्टार कलाकार भन्दा स्क्रिपमा ध्यान दिनुपर्ने निस्कन्छ।

तर, व्यवहारमा स्टारकास्टले नै महत्त्व पाउँदै आएको छ। धेरै कमजोरीका बाबजुद पनि राम्रो व्यापार गरिरहेको बोक्सीको घर मात्रै हैन मार्केटले स्टार नमानेका कलाकार लिएर बनाइएको ऐना झ्यालको पुतलीले पनि राम्रै व्यापार गरेको थियो। तर, यी अपवाद हुन्।

त्यसको उदाहरण अपवाद बाहेक स्क्रिप्ट लेखकले हजारभित्रकै पारिश्रमिकमा चित्त बुझाउन बाध्य हुनु तर एकै कलाकारले ५० लाखसम्म पारिश्रमिक सहजै पाउनुले नै यसको अवस्था देखिन्छ। प्रदर्शन भएका फिल्मका आधारमा लगानी सुरक्षित गर्न अनमोल केसी निर्माताका लागि त्यति सुरक्षित अभिनेता हैनन्। तर, उनलाई निर्माताहरू ५० लाखसम्म पारिश्रमिक दिइरहेका छन्।

प्रदीप खड्का, दयाहाङ राई, विपिन कार्कीदेखि सौगात मल्लसम्मको पारिश्रमिक पनि ३० देखि ५० लाख कै हाराहारीमा देखिन्छ। अभिनेत्रीहरूको हकमा स्वस्तिमा लगायतका एकाधको मूल्य सातदेखि १५ लाखसम्म देखिन्छ।

नेपालमा अधिकांश ठुला बजेटका फिल्मको लगानी चार करोड हाराहारीमा देखिन्छ। त्यसको आधारमा लगभग ४० प्रतिशत त कलाकारको पारिश्रमिकमै सकिने देखिन्छ। कथा, पटकथा, छायाङ्कनसहित प्राविधिकहरूको पारिश्रमिक, लोकेसन, ड्रेस,सहित पोस्ट प्रडक्सनका लागि बजेटको आधा हाराहारी बजेट बच्ने गरेको छ।

एकै कलाकारलाई ५० लाख दिएर बनेको फिल्म रिलिज हुँदा अधिकांश फिल्मले त्यही मुख्य अभिनेता या अभिनेत्रीलाई दिए बराबरको व्यापार नभएका फिल्महरूको सङ्ख्या टन्नै हुन्छन्। फिल्म कमजोर हुनुमा कलाकारको अभिनयको पक्ष पनि कारण देखिन्छ नै मूल कारण भने कमजोर कथा अनि पटकथामै देखिन्छ जसमा फिल्म निर्माणकोक्रममा सबैभन्दा कम लगानी भएको हुन्छ। अनि अपजस पाउँछ उही पटकथाकारले।

स्टारकास्टकै पछि लागिरहेका कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई पनि यसमा भने चित्त बुझेको देखिएन। दयाहाङ र मिरुनाको ह्याङमा देखिएका उनी स्टारमा भन्दा पनि स्क्रिप्टमा लगानी गर्नुपर्ने बताउँछन्। 

‘यो महँगा कलाकार भनेर लगानी गरेको चाही मलाई पनि राम्रो लाग्दैन। कलाकार मात्रै महँगो राखेर या स्टार राखेर मात्रै फिल्म चल्दैन। त्यसको लागि त तपाईँले कन्टेन्टमा नै बल गर्नुपर्छ। स्क्रिप्टमा नै समय र बजेट खर्च गर्नुभयो भने राम्रो फिल्म बन्छ भन्ने मलाई लाग्छ र यो अन्तर्राष्ट्रिय कुरा हो’ उनले उकेरासँग भने।

उनी फिल्मको कथाअनुसार महँगै स्टारडम भएका कलाकार राख्दा फरक नपर्ने तर महँगो पारिश्रमिक लिँदैमा कलाकारको स्टारडम नहुने बताउँछन्।

उनले थपे, ‘स्क्रिप्टले मागेको हो भने त महँगै कलाकार चाहियो। तर महँगै कलाकारको, स्टारडमकै पछाडि मात्रै लाग्नु नराम्रो कुरा हो भन्छु। त्यसको सट्टामा पटकथामा नै जोडबल गरेर सक्षम, दक्ष, अनुभवी कोही नयाँ कलाकारसँग काम गर्दा राम्रो कुरा होला, एउटा स्रष्टा इमानदार हुने हो भनेदेखि।’

फिल्म निर्देशक तथा समीक्षक नवीन सुब्बा फिल्ममा कलाकार र स्क्रिप्ट नै बलियो हुनुपर्ने बताउँछन्। उनका अनुसार नेपालमा दुवै पक्ष कमजोर छन्। 

 ‘नेपालमा जसरी कलाकार राम्रो छ भन्ने कन्सेप्ट छ नि, तिनीहरूले एक्टिङ राम्रो गर्नु पर्यो। अहिलेका सुपरस्टार भन्नेहरू, युवाहरूको एकदमै आइडल अनमोल केसी, प्रदीप खड्काहरूले एक्टिङ गर्छन् त? एक्टिङ गर्नुपर्यो  नि। उनीहरूमा मात्र लगानी गरेर भएन’ उनले भने।

उनका अनुसार जति महँगो कलाकार लिए पनि स्टोरी झुर छ भने त्यो फिल्म राम्रो बन्नै सक्दैन। अनि स्टोरी राम्रो तर कलाकार झुर छ भने पनि त्यो फिल्म राम्रो बन्दैन।

 ‘उनीहरूले एक्टिङ क्षमताको विकास गर्नुपर्यो। थिएटरबाट आएका कलाकारहरूको पनि क्षमतामा विकास हुनुपर्यो क्या। हरेक कुरामा अपडेट हुँदै जानुपर्यो। अर्को कुरा स्क्रिप्टमा पनि काम गर्नुपर्यो,’ उनले भने। 

नेपालमा जति पनि फिल्म बनेका छन् तिनीहरूको पटकथा कमजोर भएको नवीन बताउँछन्।

‘नेपालमा बनेका फिल्महरू पटकथा नै होइन,’ उनले भने, ‘हाम्रो फिल्म मेकिङमा एउटा स्टार लिने अनि कथा लेख्न थाल्ने भयो। त्यसरी हुँदैन। पहिला स्क्रिप्ट लेख्ने अनि कुन पात्र सही हुन्छ त्यो लिनु पर्यो।’

नेपाली फिल्ममेकरले स्टार लिएपछि पैसा हात पर्ने र बल्ल कथा लेख्ने बानीका कारण फिल्म कमजोर बनेको उनको मत छ। फिल्मका लागि स्क्रिप्ट र कलाकार दुवैमा लगानी गर्नुपर्ने भन्दै त्यसका लागि फिल्ममेकरले आफ्नो काममा ध्यान दिन जरुरी रहेको निर्देशक तथा समीक्षक नवीनको भनाई छ। 

अभिनेता कृष्ण मल्ल भने फिल्मको कथा तथा पटकथाका साथै स्टारडम भएका कलाकार पनि आवश्यक रहेको बताउँछन्।

उनले नेपाली फिल्म ओटिटी लगायत डिजिटल प्लेटफर्ममा बेच्नका लागि र विदेशमा चलाउनका लागि भए पनि स्टारकास्ट आवश्यक पर्ने बताए। 

तर, उनका विचारमा फिल्मको हिरोलाई विभिन्न स्टार दिएर उचालेकै कारण नै नेपाली फिल्म कमजोर बन्ने गरेको हो। 
उनले अहिले चलिरहेको बोक्सीको घरको उदाहरण दिँदै स्टारकास्ट नभए पनि फिल्म चल्ने उनले बताए।

‘बोक्सीको घर’ एउटा स्टारकास्ट बिना पनि चलेको छ। सुपरस्टार र मेघास्टार भएको फिल्म पनि फ्लप भएको छ,’ उनले भने, ‘निर्माताहरूले ओटिटी प्लेटफर्ममा बेच्नका लागि अलिक स्टार खोज्ने गरेका छन्। त्यसैको लागि स्क्रिप्ट भन्दा पनि महँगा कलाकार खोजेका हुन कि?’

एउटा कलाकारले ५० लाख लियो भने उसको नामबाट १ करोड भन्दा माथिको फाइदा निर्मातालाई हुनुपर्ने उनको तर्क छ। उनको तर्कमा दम पनि छ। तर यहाँ एक कलाकारले लिएको पारिश्रमिकको दोब्बर हैन कि पारिश्रमिक बराबर व्यापार नगराउने महँगा स्टारकास्टहरु टन्नै छन्।

‘एउटा कलाकारले ५० लाख पारिश्रमिक लिएको खण्डमा उसले नामबाट निर्मातालाई एक करोड फाइदा दिन सक्नुपर्छ। नत्र त महँगो कलाकार हुँदैमा फिल्म चल्छ भन्ने छैन,’ उनले भने।   

उनलाई निर्माताहरूले हिरोलाई विभिन्न स्टारको उपाधि दिएकोमा मन परेको रहेनछ। यस्तो उपाधिले निर्माता आफैँलाई घाटामा पारेको तर्क गरे।

उनले भने, ‘एउटा हिरोलाई स्टार, सुपरस्टार, मेघास्टार भन्दै प्रोड्युसर, मिडियाले र दर्शकले प्रमोद गरेका छन्। यसको अर्थ उनीहरूले विदेशमा फिल्म बिक्रीका लागि गरेको फण्डा हो।’

२३ बैशाख, २०८१, १४:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।