कतारी अमिरले किन लगेनन् 'खगेन्द्रप्रसाद' र 'रुद्रकली' ?

कतारी अमिरले किन लगेनन् 'खगेन्द्रप्रसाद' र 'रुद्रकली' ?

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको २२ घन्टे राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भइसकेका छन्। 

आफ्ना पूर्व निर्धारित कार्यक्रम सकेर उनी दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किए। तर, पूर्वनिर्धारित नै मानिएको नेपाल सरकारले उपहारस्वरूप दिने भनिएको दुई वटा हात्ती नलगी उनी फर्किए।  

कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ तत्काल कतार नलगिएको बताइएको छ।

कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँग त्यो हात्ती नगएको हो। आज सोल्टी होटलमा भएको दुई पक्षीय वार्तामा हात्ती उपहारको सम्झौता एजेण्डा पनि बनेको थिएन।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले कतारको तर्फबाट तयारी पूर्ण नभएको कारण आजैको दिन पठाउन नमिलेको बताए। उनले भने, 'हामीले पठाउनका लागि पुरै तयारी गरेका छौँ तर उताबाट प्रक्रिया पुरा नभएको कारण पठाउन नमिलेको हो।'

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ। सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ। कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ। वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन। 

प्रवक्ता ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको थियो।

१२ बैशाख, २०८१, १६:३४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।