दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसलापछि केसी : 'अराजक मेडिकल व्यापारीको मुद्दाको फैसला न्यायालयले सुधार्नुपर्छ'

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसलापछि केसी : 'अराजक मेडिकल व्यापारीको मुद्दाको फैसला न्यायालयले सुधार्नुपर्छ'

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले संचालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतले जारी गरेको फैसलाप्रति आपत्ति प्रकट गरेका छन्।

डा.केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत्र १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दा उपर गरेको फैसला र त्यसले सृजित हल्लाले ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्नसक्छ र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, उनले ऐन प्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प नरहेको उल्लेख गरेका छन्।

डा.केसीले भनेका छन्, ‘अदालतको फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई वल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ। यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन।’

१३ चैत, २०८०, १५:५२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।