मूर्तिकार बाबुछोरा

मूर्तिकार बाबुछोरा

एकजना मूर्तिकार बाबाले आफ्नो छोरालाई पनि मूर्ति बनाउँन सिकाउँथे । उनीहरुले मूर्ति बनाएर सहरमा बेच्न लैजान्थे । सुरुमा त बाबाको मात्र मूर्ति विक्री हुन्थ्यो । छोराको मूर्ति विक्री नै हुँदैनथ्यो । बाबाले आफ्नो मूर्तिलाई एक हजार रुपैयाँमा बेच्ने गर्थे ।
छोराले मूर्ति बनाउँन सिक्दै गयो । बाबाले पनि सिकाउँदै गए । केहि वर्षमा छोराले बनाएका मूर्ति पनि बजारमा विक्री हुन थाले । तर बाबाको मूति एक हजार रुपैयाँमा विक्रि हुन्थ्यो भने छोराको मूर्तिहरुले मुश्किलले २०० रुपैयाँ पाउँथे ।
घर आएपछि बाबाले छोरालाई मुर्ति बनाउँदा भएका गल्तीहरु औल्याईदिन्थ्यो । छोराले पनि अर्कोपटक मूर्ति बनाउँदा त्यो गल्ती सच्च्याउँथ्यो र बजारमा बेच्न लैजाँदा अलिक बढि मूल्य पाउँथ्यो ।
 

 

बिस्तारै छोराका मूर्तिहरु पनि ५०० रुपैयाँसम्ममा विक्रि हुन थाले । तर छोरा अझै खुशि थिएन । बाबाले पनि छोराले बनाएको मूर्तिमा गल्तीहरु देखाईरहन्थ्यो । त्यसलाई सच्च्याउँन भन्थ्यो । छोराले पनि त्यो कुरा मानेर अर्कोपटकमा गल्ती सुधार्दै मूर्ति बनाउँथ्यो । त्यो मूर्तिले बिस्तारै ७०० रुपैयाँ पाउँन थाल्यो । त्यसपछि पनि बाबो गल्ति देखाई नै रहन्थे अनि छोराले गल्ती सच्याउँदै मूर्ति बनाउँथ्यो र त्यो मूर्तिले अझ राम्रो मूल्य पाउँथ्यो ।
हुँदा हुँदा एकदिन त यस्तो पनि आयो छोराको मूर्ति बाबाको मूर्तिभन्दा बढिमा विक्रि हुन थाल्यो । तर पनि बाबाले छोराको मूर्तिमा केही न केही गल्ती देखाएर त्यसलाई सुधार्ने सुझाव भने दिन छाडेन । एकदिन त छोरालाई पनि निकै रीस उठ्यो र बाबालाई


" मेरो मूर्ति तपाईंको भन्दा महँगोमा विक्री हुन्छ अब मलाई तपाईंले सिकाउनु पर्दैन"  भनेर जवाफ फर्काईहाल्यो ।


छोराको यो जवाफ सुनेर बाबा एकपटक मुसुक्क हाँस्दै छोरालाई हेर्दै भन्यो ।


"छोरा जब म तिमीजत्रै थिएँ त्यो बेला ममा यस्तैगरि आफ्नो कलाप्रति घमण्ड जागेको थिएँ । मेरो मूर्तिलाई त्यो बेला नै मान्छेहरुले एकहजारमा किन्थे । त्यसैले मलाई लाग्न थाल्यो म नै सर्वश्रेष्ठ हुँ र मेरो कलामा कहिल्यै खोट हुँदैन । थाहा छ त्यसपछि मैले ज्यादा सिक्न छोडेँ । तर त्योबेलादेखि आजसम्म मेरो मूर्तिले एकहजारभन्दा बढि मूल्य कहिल्यै पाएन । अब तिमी पनि यसरी आफ्नो कलामा कसैको सुझावलाई स्वीकार्न सक्दैनौं र आफैलाई सर्वश्रेष्ठ ठान्छौ र सिक्न छाड्छौ भने तिम्रो प्रगति पनि यहीँ रोकिन्छ ।"
बाबाको यो कुरा सुनेर छोराको शीर लाजले झुक्यो र अबदेखि कहिल्यै घमण्ड नगर्ने अनि अरुको सुझावलाई मनन् गर्ने बाचा गर्यो । बाबाले पछि खुशी हुँदै छोरालाई अंगालोमा लिए ।

६ असार, २०७८, १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।