बालकथा ‘जि माने जिराफ’ प्रकाशित

बालकथा ‘जि माने जिराफ’ प्रकाशित

काठमाडौं: जिराफलाई मुख्य पात्र बनाएर लेखिएको बालकथा ‘जि माने जिराफ’  प्रकाशित भएको छ। कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा पुस्तक प्रकाशनमा ल्याएको हो। 

जीवजन्तुको बेग्लै संसार निर्माण गरी एरगन तानलकले लेखेको कथामा हिलाल कोर्कमाजले चित्रांकन गरेकी छन्।

पुस्तकलाई डा. विमलकुमार सुवेदीले नेपालीमा अनुवाद गरेका हुन्। यसका सम्पादक डा. गणेशप्रसाद भट्टराई हुन्। 

कथामा सहरको चिडियाखानामा बस्ने जि माने जिराफ मुख्य पात्र छ। आफ्नो घाँटी अरू जिराफको जस्तो लामो नभएकामा ऊ निकै चिन्तित हुन्छ। एक दिन चितुवाले अभ्यास र आफ्नो कर्मले सफलता पाइन्छ भन्ने सन्देश दिएपछि ऊ निरन्तर अभ्यासमा लाग्छ । अन्ततः उसको घाँटी अरू जिराफको झैं लामो हुन्छ।

कथामा जिराफ स्कुलमा भर्ना भएको, कविता लेखेको, टीभी हेरेको, मोटरसाइकलमा हिँडेको जस्ता रोचक कुरा छन्। अझ जेब्रासँग मिलेर इन्टरनेट चलाएको र गुगल सर्चको सन्दर्भ निकै रमाइलो छ। चरा, गैंडा, हात्ती, कछुवा, ब्वाँसो, बिरालो, कमिलाजस्ता जीवतन्तुबीचको संवाद र सहकार्यलाई पनि लेखकले नौलो ढंगले प्रस्तुत गरेका छन्। 

पुस्तक १० देखि १४ वर्ष उमेर समूहका किशोर उन्मुख बालबालिकालाई केन्द्रित गरी लेखिएको हो। उनीहरूको व्यक्तित्व विकास र चरित्र निर्माणमा सहयोग पुग्ने उद्देश्य राखिएको छ। पुस्तकमा वरिष्ठ मनोविश्लेषक ए सेना सेरजिनको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘यस पुस्तकको मूल कार्य किशोरावयोन्मुख बालबालिकाको इच्छाशक्ति, सुदृढ नैतिकता र चारित्रिक बल बढाई व्यक्तित्वको विकास गराउने र उनीहरुलाई विश्वव्यापीकरणको दुष्चक्रबाट बच्न र आफूलाई हानि हुनबाट जोगाउन मद्दत गर्नु हो।’

८० पृष्ठको पुस्तकको मूल्य २ सय २५ रुपैयाँ छ।
 

२६ असार, २०८०, १३:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।