राष्ट्रपतिको शाही शैलीको सवारी संशोधन गर्न सरकार तयार , संसद्मा भयो आलोचना

राष्ट्रपतिको शाही शैलीको सवारी संशोधन गर्न सरकार तयार , संसद्मा भयो आलोचना

काठमाडौं : राष्ट्रपतिको रूपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अन्तिम सम्बोधन गर्न जानेक्रममा सडक ठप्प पारेर विद्या भण्डारीको सवारी चलाउँदा नकारात्मक प्रतिक्रिया आएपछि विशिष्ट पदाधिकारीको सवारीको विषय प्रतिनिधि सभामा प्रवेश भएको छ।

विशिष्ट व्यक्तिको सवारी सम्बन्धी कार्यविधिमा उल्लेख नभएको सम्बोधनका लागि पनि राजकीय शैलीको सवारी चलाउँदा शुक्रवार तीन घण्टा बढी काठमाडौँको सडकमा सवारी अवरुद्ध भएको थियो।

मिडियादेखि सामाजिक सञ्जालसम्म आलोचना भएपछि आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले राष्ट्रपतिको सवारीबारे नीतिगत, कार्यविधिगत र व्यवहारिक प्रश्न उठाए।

शुक्रवार राष्ट्रपति भण्डारीको सवारी चलाउँदा राष्ट्रपतिको सरकारी निवास शीतल निवासदेखि नयाँबानेश्वरमा रहेको संसद् भवनसम्मको सडक अवरुद्ध बनेको थियो।

पूर्ण रूपमा सडक खाली गराएर सवारी चलाउँदा सर्वसाधारणले सास्ती पाए। सुरक्षाकर्मीबाट चिकित्सक कुटिए। आइतबार संसद्मा एमालेका सांसद रघुजी पन्तले नै राष्ट्रपतिको सवारीको समयमा आफू एक घण्टा जाममा परेको सुनाएका थिए।

आफू मोटरसाइकलमा रहेको र जनताको गाली सुन्नुपर्छ भनेर मास्क लगाएर, लोगो छोपेर हिँड्नुपरेको उनले बताएका थिए। उनले सवारीको प्रणालीमा सुधार गर्न समेत माग गरेका थिए।

उनले सवारीको शैलीमा राष्ट्रपतिको दोष नभई त्यो सरकार र सुरक्षा संयन्त्रको भएको भन्दै राष्ट्रपतिको भने वचाउँको प्रयास गरेका थिए। उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने माग गरेका थिए।

नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले भने राष्ट्रपति भण्डारीको आलोचना गर्दै 'राजा रानीको जस्तै तामझाम र तडकभडक देखिएको' बताइन्।

उनले शक्तिको चरम दुरुपयोग गरेर, डाक्टर पिटेर सर्वसाधारणलाई दुख दिएर राजा रानी जस्तो हिजोकै तामझाम, तडक भडक शैली र प्रवृत्तिका कारण जनताले लोकतन्त्रको अनुभूति गर्न नसकेको भन्दै प्रश्न गरेकी थिइन्' यही हो हामीले दुख गरेर ल्याएको लोकतन्त्र?’

कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले ‘राष्ट्रपतिको अस्तव्यस्त सवारी कहिले अन्त्य हुने भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने माग राखेका थिए।

पुनरावलोकन गर्न सरकार सहमत

कुन पदाधिकारीकारीलाई कस्तो खालको सुरक्षा अनि कसको सवारी कुन शैलीमा चलाउने भन्ने निर्देशिका गृह मन्त्रालयले बनाउँछ। अहिले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार सवारी र सुरक्षाको प्रबन्ध हुने गरेको छ।

सडकै पुरै बन्द गरेर हुने विशिष्ट व्यक्तिको सवारीको लामो समयदेखि आलोचना हुने गरे पनि सरकार कार्यविधि सुधार्न तयार भएको थिएन।

उकेराले शनिवार अहिले कार्यान्वयनमा रहेको कार्यविधिमा सुधार सम्भव छ या छैन भनेर सवारीसम्बन्धी जानकार र नेपाली सेना र गृह मन्त्रालयका अधिकारीसँग कुरा गरेको थियो।

कुराकानीमा तीनै पक्षबाट सवारीको समयमा सर्वसाधारणको आवागमनमा असर नपर्ने गरी सवारी चलाउने गरी कार्यविधि संशोधन गर्न सकिने बताएका थिए।

राष्ट्रपतिको सवारीमा हिँड्न खोजेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक प्रहरीबाट कुटिएको विरोधमा नेपाल चिकित्सक सङ्घले आइतबार आकस्मिक कक्ष बाहेकको सेवा बन्द गरे। अनि सङ्घसँग वार्ता गर्न सरकार तयार भयो।

सरकारी वार्ता टोली र सङ्घका पदाधिकारीबिच आइतबारै छ बुँदे सहमति भयो जसमा विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी प्रावधानबारे अध्ययन गर्ने समेत उल्लेख छ।

प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे अनि सङ्घका अध्यक्ष लोचन कार्कीको हस्ताक्षर रहेको सहमति पत्रको चौथो बुँदामा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आम नागरिक अनि विशेष गरी स्वास्थ्य संस्था र विश्वविद्यालय लगायतका संवेदनशील संस्थाहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकार समक्ष सुझाव पेस गर्ने सहमतिमा उल्लेख छ।

यसले सवारीको शैलीमा सुधारका लागि सरकार राजी भएको देखिन्छ। तर सोही बुँदामा ' स सुझाव सरकारले यथाशीघ्र कार्यान्वयनमा ल्याउने' उल्लेख गरी समय तोकिएको छैन।

२९ माघ, २०७९, २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।