डा. नीतिको प्रसव पीडा र खुसी : चाइनिज क्यालेन्डर ‘फलो’ गर्दा पनि छोरी जन्माउँन सकिनँ
त्रिभुवन विश्वविद्यालयको उप-प्राध्यापक डा. नीति अर्याल खनाल ‘जेन्डर’ विषयको विशेषज्ञ हुन्। मातृत्वको विषयमा समेत विशेष अनुशन्धान गरेकी निती आफैं दुई सन्तानकी आमा हुन्। उनै नीतिले आफ्ना प्रसव पीडा र खुसी उकेरासँग साटिन्ः
मेरो जन्म गोरखामा भयो। बुवा सरकारी सेवामा लागेपछि करिब १३ महिनाको हुँदा मलाई डोकोमा बोकेर त्रिसुलीसम्म ल्याएको रे।
मेरो पढाई, लेखाई, हुर्काइ सबै काठमाडौंमै भयो। हिन्दु विद्यापिठ नेपाल भन्ने विद्यालयकै आवासिय भवनमा बसेर पढ्न थालियो। त्यो विद्यालयमा मैले सात कक्षासम्म पढें। ८, ९ र एसएलसी भने आनन्द विद्यापिठबाट गरें।
त्यतिबेला एसएलसीमा राम्रो नम्बर ल्याए साइन्स पढ्ने भन्ने हुन्थ्यो। तर खै किन हो मलाई विज्ञान विषयमा खासै रुची बढेन। सोसोलोजीमा एमए गरें।
एमए सकेर विद्यालयमा पढाउन थालेपछि मेरो विवाह भयो। मेरो श्रीमान् दधिराम खनाल पनि त्यतिबेला विद्यालयमा पढाउनुहुन्थ्यो।
हाम्रो भेट त भएको थियो तर जीवन बिताउने साथीका रुपमा एकअर्कालाई हेरेका थिएनौं। तर मेरो बुवालाई उहाँ एकदमै मन पर्नु भएछ। त्यसैले हाम्रो विवाह भयो।
विवाह नगरेरै यदि यो समाजमा बच्चा जन्माउन मिल्थ्यो भने म विवाह गर्दैनथें होला जस्तो लाग्छ। किनभने मलाई बच्चा खुबै मन पथ्र्यो।
विवाहको कुरा हुँदै मैले सिधा भनेकी थिएँ, ‘म एकदमै ‘एम्बियस’ केटी हुँ। मेरो करियरको लोभ मलाई धेरै छ। खाना पकाउन त मलाई रमाइलै लाग्छ तर भाँडा माझ्न सक्दिन। तपाई पनि माझ्न सक्नुहुन्न भने मान्छे राख्नपर्छ, त्यो मान्छेलाई मैले कमाएर तलब दिन्छु।’
उहाँले हुन्छ भनेपछि हाम्रो विवाह भयो। मेरो योजना अनुसार विवाह भएको तीन या चार महिनामै ‘बेबी कन्सिभ’ भयो।
योजना कस्तो थियो भने, एकपटक पढ्न जान विदेश ट्राई गर्ने, असफल भए बच्चा जन्माएपछि मात्रै जाने, सफल भए आएपछि बच्चा जन्माउने। विदेश जाने पहिलो प्रयास फेल भयो, यता पेटमा बच्चा आयो।
बच्चा पेटमा आउँदा पनि मैले मेरो अध्ययन अनुशन्धानको काम छाडिनँ। भात पेटमा पर्नै हुँदैनथ्यो। नुनिलो पटक्कै खान मन लाग्दैनथ्यो।
बच्चा पेटमा आएपछि मैले आठ महिनासम्म ड्राई फ्रुटस्, दुध र फलफूल खाएर गुजारा चलाएँ। भात त पल्लो घरमा पोकेको बास्नाले समेत वाक्क बनाउँथ्यो।
सुरुमा नियमित चेकजाँचका लागि ओम अस्पताल गएकी थिएँ। तर त्यहाँको चिकित्सकको व्यवहार राम्रो लागेन। त्यसपछि पाटन अस्पतालमा चेकजाँच गराएँ। पाटनमा डाक्टर खुबै मज्जाको हुनुहुन्थ्यो।
मेरो बच्चा पेटमा भएकै समयमा मैले अस्पतालमा गर्भवती महिलालाई चिकित्सक र नर्सले गर्ने व्यवहारबारे एक अनुशन्धान गरिरहेकी थिएँ।
चिकित्सकले दिएको डेट भन्दा एक हप्ता अघि हल्का रगत आयो। त्यो समयमा न वाटर ब्रेक भएको थियो, न पेट नै दुखेको थियो।
बेलुकीतिर अस्पताल गएको, भोलीपल्ट बिहान ११ बजेतिर त मेरो काखमा बच्चा आइहाल्यो।
बच्चा जन्माउने समयमा भएको प्रसव पीडा निकै दर्दनाक थियो। अहिले महिलाहरुलाई बच्चाको अनुहार देखेपछि प्रसव पीडा भुलें भन्न बाध्य बनाइएको छ।
शरीर बाहिर लागेको घाउ र मनको घाउ दुई फरक कुरा हुन्। मन खुशी हुँदैमा शरीरको घाउ नदुख्ने भन्ने त हुँदैन नि।
तर यो समाजमा पुरुषहरुले लेखेको दुइचार ओटा साहित्यको भरमा मातृत्व अनुभवका कारण बच्चा देखेपछि तनको दुखाई कम भयो भन्ने भाष्य निर्माण गरिएको छ।
आफ्नो पेटबाट निस्केको एउटा बच्चा देख्दा रमाइलो लाग्नु, मेरो हो भन्ने लाग्नु, माया लाग्नु फरक कुरा हो र शारीरिक दुखाई फरक कुरा हो।
साहित्य जस्तो बच्चा देख्ने बित्तिकै शरीर चंगा हुने हैन। घाउ निको हुने हैन।
मैले पहिलो सन्तान छोरा पाएँ। बच्चा जन्मेपछि केही समयसम्म भने म ‘एन्जाइटी’को सिकार भएँ। करियरदेखि हरेक कुरा दिमागमा आउँथ्यो र म छटपटिन्थें।
त्यो बच्चा जन्मिसकेपछि करियर ओरेन्टेड महिलाले भोग्नुपरेको अर्को दर्दनाक पीडा यो पनि हो।
तर म त्यत्तिकै भने बसिनँ। फेरि विदेश पढ्न जान ‘स्कलरसिप’मा फर्म भरेकी थिएँ। यो पटक नाम निस्कियो। १८ महिनाको बच्चा छाडेर म पढ्न गएँ।
तीन सेमेष्टर थियो अष्ट्रेलियाको पढाइमा। झण्डै चार बर्षपछि पढाइ सकेर नेपाल आएँ र अर्को बच्चाको योजना बनाएँ। योजना अनुरुप नै गर्भवती पनि भएँ।
अर्को बच्चा मलाई किन चाहिएको थियो भने, एक्लो हुँदाको पीडा मैले भोगेकी थिएँ। मेरो दिदी त हुनुहुन्थ्यो तर उहाँ भारतमा बस्नुहुन्थ्यो। मलाई मेरो दाइ, दिदी, भाइ, बहिनीको अभाव खड्केको थियो।
पहिलो सन्तान छोरो भएकाले दास्रो सन्तान छोरी जन्माउने इच्छा थियो। साथीभाइले चाइनिज क्यालेन्डर फलो गरेमा भनेकै ‘जेन्डर’को बच्चा जन्माउन सकिन्छ भनेका थिए। मैले चाइनिज क्यालेन्डर फलो गरें, छोरी जन्माउन।
चाइनिज क्यालेन्डर फलो गरेर मेरा साथीहरुले चाहेको बच्चा जन्माएको उदाहरण नभएको होइन। त्यसको सम्भाव्यता ९९.९९ छ भनेर तालिकामा समेत लेखिएको थियो।
तर म यस्तो मानिस परें जो ०.०१ भित्र परें। दोस्रो बच्चा पनि छोरा नै जन्मियो।
दोस्रो बच्चाको समयमा पनि पहिलो जस्तै भयो। फरक यत्ति हो, जेठो छोरो पेटमा हुँदा जनआन्दोलन थियो। नेपाल बन्द कतिबेला हुन्छ, कहाँ दंगा हुन्छ भन्ने डर थियो। दोस्रो बच्चा जन्माउँदा देशमा शान्ति छाएको थियो।
दोस्रो बच्चा जन्मने बित्तिकै म टीयूमा जागिरे पनि भइहालें। उप-प्राध्यापकमा नाम निकालेर मैले पढाउन थालें। जेन्डरका विषयमा थप अध्ययन अनुसन्धान गरें। यहि विषयमा पीएचडी पनि गरें।
यो पनि
माघ २९, २०७९ आइतबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।