संसदीय दलको नेतामा अहिले देउवाको विकल्प छैन : पूर्णबहादुर

संसदीय दलको नेतामा अहिले देउवाको विकल्प छैन : पूर्णबहादुर

काठमाडौँ : कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा खुलेका नेता उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसमा सबै दलले स्विकार्ने नेतृत्वका लागि देउवालाई साथ दिएको दाबी गरेका छन्।

उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई स्वाभाविक प्रतिस्पर्धाको रूपमा लिनुपर्ने बताउँदै यस पटक पार्टीको तर्फबाट देउवाले नै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था रहेको दाबी गरेका हुन्।

संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवा भारी मतकासाथ विजयी हुने ठोकुवा समेत गरेका थिए।

देउवाकै उहाँको नेतृत्वमा कांग्रेस पहिलो पार्टी भएको छ र उनीसँग सबै दल जोड्ने अनुभव रहेकाले संसदीय दलको नेतामा उनको विकल्प नभएको उनको तर्क थियो।

'शासन चलाउने अनुभव आवश्यक छ। सबै दलले स्विकार्ने नेतृत्व पनि आवश्यक छ, उनले भने' शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन बाँकी छ। १२ बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने अबको सरकारको जिम्मेवारी भएकाले अधुरो काम र संविधानको रक्षा समृद्धिको लागि देउवाको नेतृत्व आवश्यक छ।'

उनले आफू पार्टीको नेतृत्वको पुस्तान्तरणको पक्षमै रहेको तर सो समय भविष्यमा आउने तर्क गरे। देउवाको नेतृत्वमा पुस्तान्तरण हुँदै जाने भन्दै उनले  द्वन्द्वको पारेका घाउ पुर्न माओवादी, एकिकृत समाजवादी र एमालेलाई समेतसँगै लिएर जानुपर्ने अवस्था रहेकाले सरकारको नेतृत्व पुन देउवाले नै गर्नुपर्ने बताए।

'परिवर्तनको क्षमता गगन वा अरूसँग छैन भनेको होइन, उनले पत्रकारमाझ भने' युवा साथीहरूले पनि सोचौँ। सर्वसम्मत रूपमा सभापतिजीलाई अघि बढाउ।'

कांग्रेस संसदीय दल निर्वाचन फलोअप

 

५ पुस, २०७९, १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।