बेपत्ता भारतीय नागरिकको शव दुई दिनपछि तिनाउ नदीमा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा फेला
पाल्पा : पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।
भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढगाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आफ्ना साथीहरूसँग घुम्न आएका उनी बुधबार बेलुका अन्दाजी साढे ६ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटना लगत्तै खोजी कार्यमा जुटेको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान मात्र रस्तोगीलाई मृत अवस्थामा फेला पारेको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले शुक्रबार बिहान घटनास्थलभन्दा अन्दाजी ५० मिटर तल तिनाउ नदीमा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
जेठ ८, २०८३ शुक्रबार १४:३९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।