राउल कास्ट्रोमाथि मुद्दा चलाउने अमेरिकी निर्णयको रुस र चीनद्वारा कडा आलोचना
एजेन्सी : क्युबाका पूर्वराष्ट्रपति राउल कास्ट्रोमाथि हत्याको मुद्दा चलाउने अमेरिकी निर्णयको चीनपछि अब रुसले पनि कडा आलोचना गरेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार रुसी सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै रुसको लामो समयदेखिको मित्र राष्ट्र क्युबाविरुद्ध अमेरिकाले चालेको दबाबमूलक कदम र कास्ट्रोमाथि मुद्दा चलाउने निर्णय अस्वीकार्य रहेको बताएका छन्।
उनले थपे, ‘हाम्रो मान्यता के छ भने, कुनै पनि पूर्व वा बहालवाला राष्ट्रप्रमुखविरुद्ध हिंसाको सीमासम्म पुग्ने खालका उपाय वा तरिकाहरू कुनै पनि परिस्थितिमा प्रयोग गरिनु हुँदैन।’
यसअघि चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकाले ‘हरेक कुरामा बल प्रयोग गर्ने धम्की दिन बन्द गर्नुपर्ने’ बताएका थिए। चीन क्युबाको समर्थनमा दृढतापूर्वक उभिएको पनि उनले स्पष्ट पारेका थिए।
अमेरिकाले सन् १९९६ मा दुईवटा विमान खसालेको घटनालाई लिएर कास्ट्रोमाथि आरोप लगाएको छ। उक्त घटनामा चार जनाको ज्यान गएको थियो, जसका कारण वासिङ्टन र क्युबाबीच कूटनीतिक तनाव बढेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगातार दबाब बढाउँदै आएका छन् र त्यहाँको कम्युनिस्ट सरकार हटाउने कुरा पनि खुला रूपमा व्यक्त गर्दै आएका छन्।
अमेरिकाले क्युबामाथि नयाँ प्रतिबन्धहरू लगाउँदै त्यहाँ तेल आपूर्तिमा समेत रोक लगाएको छ। यस प्रतिबन्धका कारण क्युबामा इन्धन संकट झन् गहिरिएको छ भने बिजुली कटौती र खाद्यन्न अभाव जस्ता गम्भीर समस्याहरू सिर्जना भएका छन्।
जेठ ८, २०८३ शुक्रबार १०:४८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।