चौतर्फी आलोचनाका बाबजुद व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गा फिर्ता गर्दै एमाले

चौतर्फी आलोचनाका बाबजुद व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गा फिर्ता गर्दै एमाले

काठमाडौं : एमालेले व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा नलिने भएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी गुरुङलाई धन्यवादसहित उक्त जग्गा फिर्ता गर्ने प्रस्ताव गरेका हुन्। 

प्रस्तावअनुसार अब एमालेले काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै स्वामित्वको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्नेछ। उपमहासचिव योगेश भट्टराईका अनुसार सचिवालयमा प्रस्तुत यस प्रस्तावबारे छलफल भइरहेको र शुक्रबार बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ।

२०८१ असोजमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दिने र अत्याधुनिक भवन बनाइदिने घोषणा गरेका थिए।

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले उक्त भवनको शिलान्यास समेत गरेका थिए। तर, व्यवसायीबाट ठूलो परिमाणमा जग्गा र भवन दान लिने निर्णयको पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो।

दान लिने निर्णयको विरोध गरेको भनेर त्यतिबेला एमालेले पार्टीका नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही समेत गरेको थियो। पछिल्लो समय सर्वोच्च अदालतको फैसलासँगै बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउन कानुनी बाटो खुलेपछि एमाले पुरानै स्थानमा फर्कने निष्कर्षमा पुगेको बताइएको छ। 

२०७२ सालको भूकम्पले बल्खुस्थित मुख्यालय ध्वस्त भएपछि एमाले विगत नौ वर्षदेखि भाडाका भवनमा बस्दै आएको छ। धुम्बाराही र थापाथली हुँदै हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन भइरहेको छ। अब १३ रोपनी क्षेत्रफल रहेको बल्खुको जग्गामा नयाँ भवन निर्माणको तयारी भइरहेको बताइएको छ।

प्रतिष्ठानको भवन खाली गर्नुपर्ने अवस्था आएकाले नयाँ भवन नबनुञ्जेलका लागि पार्टीले पुनः अर्को भाडाको घर खोजी गर्ने तयारी समेत गरेको छ।

जेठ ७, २०८३ बिहीबार १७:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।