तिलगङ्गाका विस्थापित स्थानीयद्वारा पशुपति विकास कोषको कार्यालय अगाडि धर्ना
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको बस्ती हटाएपछि विस्थापित बासिन्दाहरू आन्दोलित भएका छन्। कोषले विगतमा गरेका सम्झौता र सर्तहरूको उल्लंघन गर्दै बलपूर्वक घरटहरा भत्काएको भन्दै स्थानीयहरूले आपत्ति जनाएका हुन्।
सहमति विपरीत गरिएको यस कदमको विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले पीडितहरूले गौशलास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटबाहिर धर्ना दिएका छन्।
धर्नामा सहभागी स्थानीयहरूले आफूहरू सुकुम्बासी नभई लालपुर्जा भएका वास्तविक जग्गाधनी भएको बताएका छन्। उक्त क्षेत्रको केही जग्गा गुठी अन्तर्गत र केही रैकर रहेको उल्लेख गर्दै उनीहरूले गुठीका विभिन्न जात्रा तथा पर्व सञ्चालनका लागि समेत सोही क्षेत्रको आम्दानी प्रयोग हुँदै आएको बताए।
पशुपति बजार र वनकाली क्षेत्रका बासिन्दालाई जग्गा उपलब्ध गराइए पनि तिलगंगाका बासिन्दालाई भने सुकुम्बासीको सूचीमा राखेर डोजर चलाइएको उनीहरूको आरोप छ।


प्रभावित बासिन्दाले कोषसँग भएको सहमतिअनुसार अन्य स्थानमा जस्तै चलनचल्तीको मुआब्जा नभई, सरकारी मूल्याङ्कनकै आधारमा जग्गा खरिद-बिक्री गरी सट्टाभर्ना गर्ने सहमति भएको बताएका छन्। उनीहरुले ‘गुरुयोजना अनुरुपको स्थानान्तरण खै’, ‘डोजर चल्यो १९ मा जानकारी भयो २१ मा’, ‘हामी सुकुमबासी होइनौं’ लगायतका ब्यानर देखाएर प्रदर्शन गरेका हुन्।



तस्बिर :सक्षम घिमिरे/नेपाल न्यूज बैंक
जेठ ६, २०८३ बुधबार १५:०५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।