'काजी' बनेर बक्स अफिसमा कमब्याक गर्न सक्लान् त विपिन ?
काठमाडौं : यतिबेला बजारमा फिल्म ‘लालीबजार’को चर्चा निकै छ। तर यही जेठ ८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘काजी’को माहोल भने केही सुनसान देखिएको छ।
फिल्म व्यावसायिक रूपमा सफल हुनुपर्ने दबाब मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीलाई छ, अझ विशेषगरी विपिनका लागि यो फिल्म चल्नु आवश्यक छ। गत वर्षको ‘ऊनको स्वीटर’बाहेक उनका अन्य फिल्मले निर्माताको लगानी सुरक्षित गर्न सकेका छैनन्।
गत महिना प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले त ५० लाखको समेत व्यापार गर्न सकेन। अबको तीन दिनपछि हलमा लाग्ने उनी अभिनीत फिल्म ‘काजी’लाई दर्शकको साथ पाउनुपर्ने ठूलो दबाब छ। तर, सोही मितिमा दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘मितज्यू’ पनि प्रदर्शनमा आउँदैछ।
साथै अहिले हलमा ‘लालीबजार’, ‘परालको आगो’, ‘मातली मङ्गले’ र केही हिन्दी फिल्महरू प्रदर्शन भइरहेका छन्। ‘लालीबजार’को चर्चा र अन्य फिल्मको भिडमा दर्शकले ‘काजी’ हलमा लागेको पत्तो पाउलान् कि नपाउलान् भन्ने संशय देखिएको छ। फिल्मलाई लिएर दर्शकमा खासै उत्सुकता र माहोल बनिसकेको देखिँदैन।
यद्यपि, अभिनेता विपिन कार्की भने ढुक्क देखिन्छन्। “पहिले हामीले अर्कै कथामा ‘काजी’को काम अगाडि बढाउने सहमति गरेका थियौं, तर पछि टिम फेरिएर आएपछि कथा पनि परिवर्तन भयो,” हालै सञ्चारकर्मीसँगको भेटमा उनले भने, “अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन परेको छ।”
विपिनलाई कथा मन परेर मात्र हुँदैन, मुख्य कुरा दर्शकलाई मन पर्छ कि पर्दैन भन्ने हो। लक्ष्मण रिजालको निर्देशनमा तयार भएको फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिउँवाला गौतमको अभिनय रहेको छ। यति बलिया कलाकारहरूको उपस्थिति र विपिनको अभिनयले दर्शकलाई ‘पहाड’ झैँ निराश त नबनाउला कि ?
जेठ ५, २०८३ मंगलबार १८:३०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।