विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको बारे सदनमा कुरा उठ्यो, कारबाहीको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि लागेको गम्भीर आरोपको विषय प्रतिनिधि सभामा प्रवेश गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सो विवादित प्रकरणबारे सदनको ध्यानाकर्षण गराएकी हुन्।
सांसद कार्कीमाथि एक नाइजेरियाली युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको र बेपत्ता भएको आरोप सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर सांसद विकले सदनमा प्रश्न उठाएकी हुन्।
सदनमा बोल्दै सांसद विकले भनिन्, ‘सत्तापक्षका एकजना सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता पारेको कुरा सामाजिक सञ्जालमा सर्वत्र छ। यसले निकै पीडादायी अवस्था सिर्जना गरेको छ। यस्ता घटनाले अन्तर्राष्ट्रिय जगत्मा नेपालीहरूलाई हेर्ने दृष्टिकोण र हाम्रो राष्ट्रियतामाथि नै प्रश्न उठाएको छ। उनीहरूले हाम्रो देश र नागरिकलाई कुन रूपमा बुझ्छन्?’
सांसद विकले यस प्रकरणको यथार्थ के हो भन्दै सदनलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन्।
उनले यदि यो घटना सत्य प्रमाणित भएमा सांसद कार्कीलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने अडान समेत राखेकी छन्।
जेठ ५, २०८३ मंगलबार १२:४८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।