नेपाल मेडिकल काउन्सिलद्वारा ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय स्थगित

नेपाल मेडिकल काउन्सिलद्वारा ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय स्थगित

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले गैरआवासीय (एनआरएन) ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ। 

काउन्सिलले दुई चरणमा गरी ती चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णय गरे पनि चौतर्फी विरोधपछि निर्णय स्थगित गरेको हो।

वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले खारेजी प्रक्रियालाई थाती राख्दै हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो।

यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै लाइसेन्स खारेजीको निर्णय फिर्ता लिन माग गरेको थियो। 

गैरआवासीय नेपाली संघका महासचिव चिरञ्जीवी खड्काले काउन्सिलको निर्णयलाई स्वागतयोग्य बताएका छन्। उनले गैरआवासीय नेपालीहरूका सबै अधिकारहरू नेपाली नागरिक सरह हुनुपर्नेमा जोड दिएका छन्।

काउन्सिलले यसअघि ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज’ गर्ने निर्णय गरेको थियो। 

काउन्सिलले नेपाली नागरिकता त्यागेको भन्दै वैशाख ११ गते १७ जना र वैशाख १८ गते १९ जना गरी ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेको थियो। 

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले अब संसारभरि रहेका गैरआवासीय नेपाली चिकित्सकलाई दर्ताका लागि आह्वान गरिने बताए।

जेठ ५, २०८३ मंगलबार ११:५३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।