घुस लिएको आरोपमा नासु खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा नासु खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

खाम्चाले जग्गाको नयाँ स्रेस्ता कायम गर्ने तथा अपुताली जग्गा नामसारी गर्ने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

खाम्चाले जग्गा नामसारी र दाखिला खारेजका लागि मोलमोलाई गरी घुस लिएको भेटिएको आयोगले जनाएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाम्चालाई दुई लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ (१) को देहाय (ग) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरिएको छ।

जेठ ४, २०८३ सोमबार १७:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।