डोङफेङले ल्यायो 'नामी ०६ ई१' इलेक्ट्रिक एसयूभी, ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज

डोङफेङले ल्यायो 'नामी ०६ ई१' इलेक्ट्रिक एसयूभी, ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज

एजेन्सी : चिनियाँ अटो निर्माता डोङफेङले दक्षिण अफ्रिकी बजारमा इलेक्ट्रिक एसयूभी ‘नामी ०६ ई१’ सार्वजनिक गरेको छ। ५ लाख र्यान्ड (करिब ३७ लाख नेपाली रुपैयाँ)भन्दा कम मूल्यमा यो गाडी दक्षिण अफ्रिकाकै हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी बनेको छ।

बजारमा ‘भिङ्गो’ नामले समेत चिनिने यो मोडलको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्यान्ड तोकिएको छ। यो मूल्य यसअघि बजारमा उपलब्ध जिली ई५ भन्दा करिब २ लाख र्यान्ड कम हो। बक्स ह्याचब्याक र ००७ प्रिमियम सेडानपछि दक्षिण अफ्रिकामा डोङफेङको यो तेस्रो मोडल हो।

दुई भेरियन्टमा उपलब्ध यस एसयूभीमा १२० किलोवाट क्षमताको मोटर र २३० न्युटन मिटर टर्क रहेको छ। यसले शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.८ सेकेन्डमा तय गर्न सक्छ। यसको आधारभूत मोडल (E1) मा ४४.९४ किलोवाट घण्टाको ब्याट्री छ, जसले ४०१ किलोमिटर (CLTC) सम्मको रेन्ज दिन्छ। 

त्यस्तै, उच्च स्पेसिफिकेसन भएको ई३ (E3) मोडलमा ५१.८७ किलोवाट घण्टाको ठूलो ब्याट्री जडान गरिएको छ, जसले ४७१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ।

द्रुत चार्जिङ सुविधा भएको यो गाडीको ब्याट्रीलाई १८ देखि ३० मिनेटभित्र ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। सुविधाका हिसाबले यसमा १२.८ इन्चको डिस्प्ले, ६ वटा एयरब्याग, वायरलेस फोन चार्जर, र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता प्रविधिहरू समावेश छन्।

५०० लिटरको बुट स्पेस रहेको यस गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ब्रेक असिस्ट जस्ता सुरक्षा विशेषताहरू पनि रहेका छन्।

जेठ १, २०८३ शुक्रबार १७:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।