पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ।
बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाडी भागका केही तथा तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
---
जेठ १, २०८३ शुक्रबार ०७:१५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।