कीर्तिपुर हत्या प्रकरण : प्रहरीले गोली चलाएर समात्यो हत्या आरोपी शाहीलाई
काठमाडौं : कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको घटनाका मुख्य आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।
काठमाडौंको चोभारमा बिहीबार आरोपी सुजन शाहीलाई गोली हानेर समात्नु परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको उनको भनाई छ। यही वैशाख २३ गते कीर्तिपुर नगरपालिका-१० पोडेटोल (ढोकासी टोल) गार्डनस्थित गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रहर गरी हत्या गरिएको थियो।
उक्त घटनाका मुख्य अभियुक्त शाही घटनापश्चात् काठमाडौंका विभिन्न ठाउँमा लुकी बसेको सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो।
सोही क्रममा कीर्तिपुर नगरपालिका-६ चोभारमा उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि गोली चलाएर शाहीलाई नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले बताए।
वैशाख ३१, २०८३ बिहीबार २१:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।