असार मसान्तभित्र १७ लाख स्मार्ट लाइसेन्स छापिने, सुरक्षण मुद्रण केन्द्रमा काम तीव्र
काभ्रे : काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र थप १७ लाख थान ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ।
यातायात व्यवस्था विभागसँग वैशाख ४ गते भएको दोस्रो चरणको सम्झौताअनुसार केन्द्रले वैशाख तेस्रो सातादेखि छपाइ सुरु गरिसकेको छ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छापेर वैशाख पहिलो साता नै विभागलाई बुझाइसकिएको छ।
हाल नौ इन्जिनियर र १६ प्राविधिक गरी २५ जना कर्मचारी छपाइ कार्यमा खटिएका छन्। केन्द्रले लाइसेन्सका साथै हुलाक सेवा विभागका लागि हालसम्म ३० लाख थान हुलाक टिकटसमेत छापेर हस्तान्तरण गरिसकेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले केन्द्रको अनुगमन गर्दै बजेट अभावमा काम नरोकिने र एक वर्षभित्र केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको बताएका छन्।
राहदानी, बैंक नोट र अन्तः शुल्क स्टिकर लगायतका सामग्री नेपालमै छाप्न सकिने यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक १० अर्ब रुपैयाँ बाहिरिनबाट जोगिने अपेक्षा गरिएको छ।
वैशाख २८, २०८३ सोमबार १४:०३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।