मन्त्रीको हातमा झाडु

मन्त्रीको हातमा झाडु

काठमाडौं : सोमबारदेखि देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरू भएको छ।

सोमबार वीर हस्पिटलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताको सहभागितामा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन भएको हो। उनले हातमा झाडु लिएर सरसफाइ समेत गरेकी थिइन्।

उद्घाटनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ भनेर लागिपरेको जानकारी दिइन्।

‘यो अभियान एक हप्तासम्म सञ्चालन हुन्छ। हस्पिटलमा मात्र नभएर देशैभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ,’ उनले भनिन्, ‘घर, बाटो या कार्यालय हरेक स्थानको सरसफाइ कार्यक्रम दिनचर्यामा ल्याउनुपर्छ भनेर लागेको छौं। हामीले सुरुवात चाहीं हस्पिटलबाट गरेको हौँ।’

त्यस्तै उनले वीर हस्पिटलको सरसफाइमा पहिले भन्दा धेरै परिवर्तन पाएको भन्दै अझ धेरै प्रयास गर्ने हस्पिटलको प्रतिबद्धता रहेको बताइन्।

उनले बीमाको विषयलाई पनि जोड्दै बीमा पेचिलो बन्दै गइरहेको र जनतामैत्री कसरी बनाउन सकिन्छ भनेर गहन छलफल गरिरहेका बताइन्।

सरकारले आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको हो।

वैशाख २८, २०८३ सोमबार ११:३९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।