कर्णालीको स्वास्थ्यमा रोकिएन मिलेमतोको श्रृंखलाः आपूर्ति केन्द्रमा दुई करोड ४८ लाखको तेस्रो ‘भ्रष्टाचार प्याकेज’
काठमाडौँ : केन्द्रमा सुशासन र भ्रष्टाचारको विपक्षमा झन्डै दुई तिहाइको जनमत आए्पनि कर्णाली सरकार भने भ्रष्टाचारमा निरन्तर सक्रिय देखिएको छ।
सुर्खेतस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब चार करोड आठ लाखको टेन्डरमा भ्रष्टाचारजन्य कसुर गर्दै निश्चित कम्पनीलाई टेन्डर दिन प्याकेजमा खरिद अगाडि बढाएको थियो। अर्को दुई करोड १२ लाखको टेन्डरमा बदमासी गरेको विषय समेत उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो।
यी दुई मात्रै हैन, उकेराको खोजमा केन्द्रले दुई करोड ४८ लाखको अर्को तेस्रो टेन्डरमा पनि उस्तै प्याकेजिङ गर्दै बदमासी गरेको फेला परेको छ। उकेराको खोजमा केन्द्रले गरेको टेन्डरमा सेटिङको श्रृंखला नै देखिएको छ।
केन्द्रले २०८२ फागुन ५ मा टेन्डर आह्वान गरी फरक–फरक प्रकृतिका १० किसिमका एक सय ४८ वटा स्वास्थ्य उपकरण तथा सामग्रीहरूको एउटै प्याकेज बनाएर निश्चित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्नेगरी करिब चार करोड आठ लाखको टेन्डर प्रक्रिया अगाडि बढाएकोबारे खुलासा गर्दै उकेराले फागुन २९ मा समाचार सम्प्रेषण गरेको थियो।
केन्द्रले नै २०८२ फागुन ४ मा अर्को पनि टेन्डर आह्वान गर्दै फरक–फरक प्रकृतिका ९ किसिमका एक सय चार वटा स्वास्थ्य उपकरण तथा सामग्रीहरू( ‘बायोमेडिकल इक्विप्मेन्ट’)को एउटै प्याकेज बनाएर निश्चित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्नेगरी करिब दुई करोड १२ लाखको खरिद प्रक्रिया अगाडि बढाएको तथ्य पनि उकेराले चैत ३ मा समाचार सम्प्रेषण गरिसकेको छ।
उकेराको खोजमा केन्द्रको सेटिङको शृङ्खला भने यतिमा मात्रै सीमित भएको देखिएन। केन्द्रले २०८२ फागुन ११ मा अर्को पनि टेन्डर आह्वान गर्दै फरक–फरक प्रकृतिका १८ किसिमका दुई सय ४६ वटा स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री (ल्याबोरेटोरी इक्वीप्मेन्ट) को एउटै प्याकेज बनाएर निश्चित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्नेगरी करिब दुई करोड ४८ लाखको खरिद प्रक्रिया अगाडि बढाएको तेस्रो तथ्य उकेराले फेला पारेको छ।
केन्द्रले करिब दुई करोड ४८ लाखमा खरिद गर्नेगरी १८ किसिमका दुई सय ४६ वटा स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्रीको एउटै प्याकेज (सिंगल प्याकेज) बनाएर खरिदमा प्याकेजिङ लक्ड गर्दै फागुन ११ टेन्डर आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाएको हो। यो टेन्डरमा पनि कुन उपकरण कतिमा खरिद गर्न लागेको हो भन्ने टेन्डर कागजातमा खुल्दैन। यस अघि उकेराले खुलासा गरेका दुई टेन्डरमा पनि यस्तै नै समस्या थिए।
संशोधित भ्रष्टाचार निवारण ऐन, २०८१ को प्रावधान अनुसार यो सिधै भ्रष्टाचार देखिन्छ नै। ऐनमा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।
केन्द्रले करिब दुई करोड ४८ लाखमा खरिद गर्ने गरी १८ किसिमका दुई सय ४६ वटा स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री (ल्याबोरेटोरी इक्वीप्मेन्ट) को एउटै प्याकेज बनाएर अगाडि बढाएको खरिद प्रक्रियाको सूची हेर्दा अधिकांश असम्बन्धित उपकरणहरूलाई एकै प्याकेजमा राखिएको प्रस्टै देखिन्छ।
केन्द्रले सार्वजनिक गरेको टेन्डरमा एक आपसमा असम्बन्धित ‘ल्याबोरेटोरी अटोक्लेभ (डिजिटल)’ २० वटा, ‘बायोकेमेस्ट्री एनालाइजर–सेमी अटोमेटेड’ ५ वटा, ‘ल्याबोरेटोरी इन्कुबेटर (डिजिटल)’ १९ वटा, ‘बायोलोजिकल बाइनोकुलर माइक्रोस्कोप’ १० वटा, ‘हेमाटोलोजी एनालाईजर (३–पार्ट डिफ्रेन्सियशन)’ ५ वटा, ‘ल्याबोरेटोरी भीडिआरएल स्याकर (डिजिटल)’ २० वटा, ‘ल्याबोरेटोरी ओभन (डिजिटल)’ २० वटा, ‘ल्याबोरेटोरी वाटर बाथ (डिजिटल)’ २० वटा, ‘फुल्ली अटोमेटिक कोलोरिमिटर (डिजिटल)’ २० वटा, ‘ल्याबोरेटोरसि सेन्ट्रीफ्युज मेसिन (डिजिटल)’ २० वटा, ‘ल्याबोरेटोरी ब्लड ट्युब रोलर (डिजिटल) २० वटा, ‘डिएलसी–काउन्टर, डिजिटल’ २० वटा, ‘ल्याब रेफ्रीजेरेटर २डिग्री सेल्सियस ̴ ८डिग्री सेल्सियस (सिंगल डोर)’ १० वटा, ‘फ्लोरेस्सेन्स इम्युनोसरी एनालाइजर (एफआइए)’ १० वटा, ‘माइक्रोपिपेट सिंगल च्यानल (भेरियबल १०–१०० μ१ एन्ड १००–१००० μ१)’ २१ वटा, ‘इलेक्ट्रोलाइट एनालाइजर’ २ वटा, ‘फ्रिजर (ल्याबोरेटोरी, अल्ट्रा लो (–८० डिग्री सेल्सियस))’ २ वटा र ‘मर्चरी फ्रिजर (+१० डिग्री सेल्सियस टु–२० डिग्री सेल्सियस)’ २ वटालाई एउटै प्याकेज बनाएर टेन्डर गरेको छ।
टेन्डरमा भएको यो सूचीले नै फरक–फरक प्रकृतिका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री (ल्याबोरेटोरी इक्वीप्मेन्ट) को छुट्टाछुट्टै टेन्डर गर्नुपर्नेमा केन्द्रले सोलोडोलो रूपमा करिब दुई करोड ४८ लाखमा खरिद गर्ने गरी १८ किसिमका दुई सय ४६ वटा स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्रीको एउटै प्याकेज बनाएर टेन्डर गरेको पुष्टि हुन्छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक कृष्ण सापकोटा अनि केन्द्रमा करारमा रहेका बायोमेडिकल इन्जिनियर दमन खड्का खरिद प्रक्रियाको बदनियतमा प्रत्यक्ष संलग्न देखिन्छन्। उकेराले यस अघि फेला पारेको दुई वटा र यो सहित तीन वटा टेन्डरको तथ्य हेर्दा यी दुई पात्र शृङ्खलाबद्ध रूपमा नै खरिद सेटिङमा सक्रिय भएको देखिन्छ।
खरिद सेटिङमा खरिद समिति, लेखा प्रमुख, प्रशासन प्रमुखको भूमिका हुन्छ नै। खरिदलाई पारदर्शी बनाउने वा सेटिङ अनुसार नै अगाडि बढाउने भन्ने विषयमा सम्बन्धित मन्त्रालयका सचिव र मन्त्रीको पनि जिम्मेवारी हुन्छ। तर, उनीहरू भने यसरी हाकाहाकी भइरहेको खरिद सेटिङमा पछिल्लो समय मौन नै बसिदिने रणनीतिमा पुगेको देखिन्छ।
कर्णालीको सुर्खेतस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मिलेमतोमा निकालेको खरिदबारे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र मन्त्रालयका सचिव धोलकराज ढकालले यो टेन्डरका विषयमा सोधपुछ गरेर निर्णय गर्ने बताएका थिए।
उकेरालाई प्राप्त जानकारी अनुसार सचिव ढकालले मन्त्रालयमा बोलाएर केन्द्रका निमित्त निर्देशक सापकोटा लगायतलाई सामान्य सोधपुछ गरे। तर, सापकोटा लगायतले नियम सङ्गत नै खरिद प्रक्रिया अगाडि बढाइएको दाबी गरेपछि सचिव थप छानबिन गरेर टाउको नदुखाउने मुडमा पुगेको स्रोतले उकेरालाई जानकारी दियो।
यो विषयमा कुराकानीका लागि उकेराकर्मीले मंगलबार साँझ सचिव ढकाललाई सम्पर्क गर्दा उनले कार्यालय समयमा फोन गर्न अनुरोध गर्दै फोन राखिदिए।
केन्द्रका प्रमुखको सेटिङमा ‘भ्रष्टाचारको तेस्रो प्याकेजिङ’
कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेन्डरमा राखेको स्वास्थ्य उपकरणको प्याकेज हेर्दा भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार प्रस्टै भ्रष्टाचार देखिन्छ नै।
संशोधित भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब दुई करोड ४८ लाखमा खरिद गर्ने गरी १८ किसिमका दुई सय ४६ वट फरक प्रकृतिका उपकरणको एउटै प्याकेज बनाएर अगाडि बढाएको यो खरिदको मापदण्ड हेर्ने हो भने सिधै भ्रष्टाचार देखिन्छ।
ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।
ऐनले यस्तो काम गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख गरेको छ।
ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।
यसअघि उकेराले खुलासा गरेका दुई टेन्डर र यो टेन्डरमा एकै प्याकेजमा राखिएका अधिकांश स्वास्थ्य उपकरण तथा सामग्री भिन्न–भिन्न प्रयोजन र विशेषताका रहेको प्रस्टै देखिन्छ।
१८ असम्बन्धित सामग्रीको ‘टेन्डर प्याकेज’ बनाएर लक्ड
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८२ फागुन ११ (२०२६, फेब्रुअरी २३) करिब दुई करोड ४८ लाखमा खरिद गर्ने गरी १८ किसिमका दुई सय ४६ वटा फरक प्रकृतिका स्वास्थ्य उपकरण तथा सामग्री (ल्याबोरेटोरी इक्वीप्मेन्ट)को एउटै प्याकेज बनाएर टेन्डर आह्वान गर्यो। त्यसमा फरक प्रकृतिका सामग्रीको एकै प्याकेज बनाइयो।
यी मध्ये कुन सामग्रीको सम्भावित मूल्य कति पर्छ भन्ने विषय समेत टेन्डर कागजातमा भएको जमानत रकम (बिड सेक्युरिटी अमाउन्ट)मा खुल्दैन। सोलोडोलो रूपमा १८ किसिमका दुई सय ४६ वट फरक प्रकृतिका स्वास्थ्य उपकरण तथा सामग्री को खरिदका लागि एकमुष्ट रकममा टेन्डर प्रस्ताव गर्नुपर्ने प्रावधान राखिनुले नै खरिद सुरु गर्दा नै बदनियत देखिन्छ।
केन्द्रले एउटै प्याकेज बनाएर प्रक्रिया अगाडि बढाएको यो टेन्डरमा १८ किसिमका फरक–फरक प्रकृति र विशेषता भएका सामग्री नै देखियो। यस अघिका दुई टेन्डरमा जस्तै यो टेन्डरमा पनि भएको मुख्य बदमासी नै यही हो। उकेराले यस अघि खुलासा गरेको केन्द्रकै करिब चार करोड आठ लाख र दुई करोड १२ लाखको टेन्डरमा पनि यस्तै बदमासी छन्।
यो टेन्डरमा भएको सामग्रीमध्ये उच्च ताप र चाप प्रयोग गरेर स्वास्थ्य उपकरण तथा सामग्रीलाई जीवाणुरहित (स्टेरिलाइज) गर्न ‘ल्याबोरेटोरी अटोक्लेभ (डिजिटल)’ मेसिन प्रयोग गरिन्छ।
‘बायोकेमेस्ट्री एनालाइजर–सेमी अटोमेटेड’ रगत तथा अन्य नमुनामा रहेका तत्वहरूको परीक्षण गर्ने उपकरण हो। सूक्ष्मजीव वा कोषहरूको वृद्धि गर्न नियन्त्रित तापक्रममा राख्न ‘ल्याबोरेटोरी इन्कुबेटर (डिजिटल)’ यन्त्रको प्रयोग गरिन्छ।
‘बायोलोजिकल बाइनोकुलर माइक्रोस्कोप’ दुई वटा आँखाले हेर्न मिल्ने गरी सूक्ष्म वस्तुहरूलाई ठूलो बनाएर अवलोकन गर्ने उपकरण हो।
‘हेमाटोलोजी एनालाईजर (३–पार्ट डिफ्रेन्सियशन)’ रगतका कोषहरूलाई तीन प्रकारमा वर्गीकरण गरी गणना गर्ने मेसिन हो। ‘ल्याबोरेटोरी भीडिआरएल स्याकर (डिजिटल)’ भीडिआरएल परीक्षणका लागि नमुनालाई निश्चित गतिमा हल्लाएर मिश्रण गर्ने उपकरण हो।
‘ल्याबोरेटोरी ओभन (डिजिटल)’ अस्पतालमा प्रयोग गरिने कतिपय सामग्री सुकाउन, तताउन वा स्टेरिलाइज गर्न नियन्त्रित ताप दिने यन्त्र हो।
‘ल्याबोरेटोरी वाटर बाथ (डिजिटल)’ स्वास्थ्य परीक्षणका लागि लिइएका नमुनालाई स्थिर तापक्रममा पानीमार्फत तताउने उपकरण हो।
स्वास्थ्य परीक्षणका लागि लिइएका नमुनाको रङ्गको तीव्रता मापन गरेर रासायनिक तत्वहरूको मात्रा निर्धारण गर्न ‘फुल्ली अटोमेटिक कोलोरिमिटर (डिजिटल)’ मेसिन प्रयोग गरिन्छ।
‘ल्याबोरेटोरसि सेन्ट्रीफ्युज मेसिन (डिजिटल)’ तीव्र रूपमा घुमाएर लिइएको रगतको नमुनामा रहेका तत्त्वलाई छुट्याउने उपकरण हो।
‘ल्याबोरेटोरी ब्लड ट्युब रोलर (डिजिटल) रगतका नमुनाहरूलाई समान रूपमा मिश्रण गर्न ट्युब घुमाउने एक किसिमको मेसिन हो।
रगतका सेता कोषहरू (डब्लुबिसी)को प्रकार गणना गर्न ‘डिएलसी–काउन्टर, डिजिटल’को प्रयोग गरिन्छ।
‘ल्याब रेफ्रीजेरेटर २डिग्री सेल्सियस ̴ ८डिग्री सेल्सियस (सिंगल डोर)’ लिइएका ननमूनाहरू, औषधि तथा रिएजेन्टहरूलाई चिसो तापक्रममा सुरक्षित राख्ने फ्रिज हो।
फ्लोरेस्सेन्स प्रविधि प्रयोग गरी एन्टिजेन–एन्टिबडी प्रतिक्रियाबाट परीक्षण गर्न ‘फ्लोरेस्सेन्स इम्युनोसरी एनालाइजर (एफआइए)’ मेसिनको प्रयोग हुन्छ।
न्यून मात्रामा आवश्यक पर्ने नमुना (μस्तर) सटिक रूपमा तान्ने र सार्न हातले चलाउने उपकरण ‘माइक्रोपिपेट सिंगल च्यानल (भेरियबल १०–१०० μ१ एन्ड १००–१००० μ१)’ प्रयोग गरिन्छ।
‘इलेक्ट्रोलाइट एनालाइजर’ रगत वा शरीरका तरलमा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइटको मात्रा मापन गर्ने मेसिन हो।
‘फ्रिजर (ल्याबोरेटोरी, अल्ट्रा लो (–८० डिग्री सेल्सियस))’ अत्यन्त न्यून तापक्रममा जैविक नमुनाहरू लामो समयसम्म सुरक्षित राख्ने उपकरण हो।
‘मर्चरी फ्रिजर (+१० डिग्री सेल्सियस टु–२० डिग्री सेल्सियस)’ शवलाई बिग्रिन नदिन नियन्त्रित चिसो तापक्रममा राख्ने विशेष किसिमको फ्रिज हो।
यसरी अधिकांश प्याकेज बनाई छुट्टाछुट्टै टेन्डर गरेर ल्याउन सकिने एक आपसमा असम्बन्धित सामग्रीको एउटै प्याकेज बनाएर सेटिङ अनुसार नै केन्द्रले खरिद प्रक्रिया अगाडि बढाएको देखिएको छ।
सामान ल्याइदिनुपर्ने ‘डेलिभरी डेट’मा समेत सेटिङ
यसअघि उकेराले खुलासा गरेका केन्द्रका दुई वटा टेन्डरमा जस्तै यो टेन्डरमा पनि एनसिबी गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई समेत निषेध गर्दै पहिल्यै सामान ल्याएर स्टकमा राखी उपकरण ल्याइदिनुपर्ने समय छोटो राखेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।
सेटिङको शृङ्खला अनुसार नै आर्थिक वर्ष सुरु हुनासाथ गर्नुपर्ने खरिद ढिला गरी सुरु गरेर सामान ल्याइसक्नुपर्ने समयावधि समेत कम राखेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति अपनाएको प्रस्टै देखिएको हो।
यसरी हेर्दा टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणबाटै टेन्डर पर्ने पक्का गरेर आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै सामग्री नेपाल भित्राएर स्टक राखेको सहजै अनुमान लगाउन सकिने आधार देखिन्छ।
यति ठूलो रकमको उपकरणमा टेन्डर हात पार्ने सप्लायर्स कम्पनीले टेन्डर पाएर सम्झौता भएको ४५ दिन भित्रमा स्वास्थ्य उपकरण तथा सामग्री ल्याइदिनुपर्ने सर्त राखिएको छ।
स्पेशिफिकेशन (टेन्डर कागजात)मा ‘अल दी गुड्स स्याल बी डेलिभर्ड एन्ड इन्स्टल्ड विदिन ४५ डेज् अफ कन्ट्राक साइनिङ’ भन्ने सर्त राखिएको छ।
केन्द्रले १८ किसिमको स्वास्थ्य उपकरणको एउटै प्याकेज बनाएर प्रक्रिया अगाडि बढाएको टेन्डरको स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री हेर्दा ती उपकरण तथा सामग्री नेपालमा बन्दैनन्। विदेशबाट नै ल्याउनुपर्ने हुन्छ। सामान्यतया टेन्डर पाएर सम्झौता भएपछि केही बाहेक यस्ता सामग्री ल्याएर टेन्डर पाएको संस्थामा पुर्याएर ४५ दिनभित्रमा जडान गर्न करिब असम्भव नै देखिन्छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक सापकोटाले यस अघिका दुई टेन्डरमा खरिद प्रक्रिया अगाडि बढाउँदा बढाउँदै समय लागेकाले ‘डेलिभरी’को समय ४५ दिन मात्रै राख्नुपरेको असुहाउँदो तर्क गरेका थिए।
यो खरिदमा पनि भएको अर्को सेटिङको खेल नै यही हो। यस अघि कतिपय टेन्डर हेर्दा यसरी नै ढिलो खरिद प्रक्रिया सुरु गरेर सेटिङ भए अनुसारको सप्लायर्स कम्पनीको सामग्री स्टकमा राखेर सामग्री किन्ने गरेको देखिन्छ। यसका लागि ‘डेलिभरी’को समयमा खेलेर छोटो दिँदा अन्यले सामानै ल्याउन नभ्याउने भन्दै खरिद प्रक्रियाको प्रतिस्पर्धामै सहभागी हुँदैनन्।
त्यसैले यो टेन्डरमा पनि ४५ दिनमा ल्याइदिनुपर्ने प्रावधान राख्नुले समेत सेटिङ अनुसार नै पहिल्यै जसले टेन्डर पाउने हो उसले सामग्री नेपाल ल्याएर स्टकमा राखेपछि बल्ल टेन्डर प्रक्रिया सुरु गरेको आधार देखिन्छ।
यो टेन्डरमा मात्रै हैन, सेटिङ खुलासा गर्दै यस अघि उकेराले प्रकाशित गरेका दुई वटा टेन्डर पनि केन्द्रले यस्तै गरी बदनियत राखेरै नै अगाडि बढाएको देखिएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्याकेज बनाएर टेन्डर आह्वान गरेको ‘ल्याबोरेटोरी इक्वीप्मेन्ट’को ठेक्का (आइएफबी) नम्बर ‘पीएचएलएमसी–केपी–जी–एनसीबी–०८–२०८२–०८३’ हो। सो टेन्डरको कागजातमा, ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ ल्याबोरेटोरी इक्वीप्मेन्ट’ लेखिएको छ।
केन्द्रले दुई करोड ४८ लाखको यो टेन्डरका लागि २०८२ फागुन २९ (मार्च १३)मा प्रि–बिड मिटिङ राखेको थियो। तर, केन्द्रले प्रि–बिड मितिपछि स्पेशिफिकेशन संशोधन गरेन।
केन्द्रले यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति २०८२ चैत ११ (मार्च २५) दिउँसो १२ बजे सम्मलाई तोकेको छ भने सोही दिन दिउँसो १ बजेलाई टेन्डर खुल्ने समय तोकिएको थियो। हालसम्म पनि यो टेन्डर संशोधन गरेर नसुधारिएकाले अब मन्त्रालय लगायत अख्तियार प्राप्त निकायले एक्सन नलिएको खण्डमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक सापकोटा लगायतले चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने करिब निश्चित छ।
चैत ११, २०८२ बुधबार ०२:०९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।