धिरज बाहिरिएपछि फेरियो ‘जलाकी’को कथा
काठमाडौं : फिल्म ‘खुश्मा’मा रुचाइएको जोडी धिरज मगर र उपासना सिंह ठकुरीलाई लिएर निर्देशक अशोक थापा मगर दोस्रो फिल्म ‘जलाकी’ बनाउने तयारीमा जुटे। सोहीअनुसार फिल्मको कथा र पटकथासमेत तयार पारियो।
गत वर्षको चैतमा फिल्मको शुभ-मुहूर्त गर्दा मुख्य अभिनेताका रूपमा धिरज मगर र सोनम तोप्देन दुवैलाई अनुबन्ध गरियो। फिल्ममा अभिनेत्री उपासनासँग दुई अभिनेताको त्रिकोणात्मक कथा रहने तय थियो।
तर, छायांकनको समय नजिकिँदै गर्दा कलाकारहरूको कार्यव्यस्तता र केही प्राविधिक कारणले फिल्मको कास्टिङमा परिवर्तन आएको छ। अभिनेता सोनम तोप्देन अर्को फिल्म ‘ऐरी’को छायांकनका क्रममा खुट्टा भाँचिएर घाइते भएपछि निर्माण टिमले धिरजलाई नै मुख्य भूमिकामा राखेर छायांकन अघि बढाउने योजना बनायो।
यसैबीच, धिरज अर्को फिल्म ‘मैझारो’को छायांकनमा व्यस्त भए। धिरजको व्यस्तता र सोनमको स्वास्थ्यमा भएको सुधारपछि निर्माण पक्षले पुनः सोनमलाई नै मुख्य भूमिकामा लिने निर्णय गर्यो। अन्ततः कार्यव्यस्तता देखाउँदै धिरजले फिल्मबाट हात झिके। निर्देशक मगरका अनुसार धिरज बाहिरिएपछि फिल्मको कथामा पनि केही परिवर्तन गरिएको छ।
उनले भने, "पहिला दुवै जना नै कलाकारको रूपमा हुनुहुन्थ्यो। सोनमको अर्को फिल्मको सुटिङका समयमा खुट्टामा चोट लागेपछि धिरजलाई मुख्य भूमिकामा अगाडी सारेका थियौं। सोही समयमा धिरजको पनि ‘मैझारो’ भन्ने फिल्ममा जानुपर्ने भएकाले रोकियो। अन्ततः सोनम पनि ठिक भएपछि उहाँलाई राख्यौं। धिरजले आफ्नो कामको व्यस्तता देखाएपछि सल्लाहमा नै उहाँ अलगिनु भएको हो।’
धिरज बाहिरिँदा उनको ठाउँमा कसलाई राख्नुभयो भन्ने उकेराको प्रश्नमा निर्देशक मगरले भने, "सुरुमा दुवै कलाकारको रोल थियो। पछि धिरज सल्लाहमा नै बाहिरिएपछि कथा तथा पटकथामा पनि हेरफेर गर्यौ,र सुटिङ थाल्यौं।"
हाल कास्कीका विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ। फिल्ममा अब सोनम र उपासनाको मुख्य जोडी रहनेछ। मगर समुदायको कथामा आधारित यस फिल्ममा साहारा हाङमा लिम्बू, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ।
ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। छायांकन सकिएपछि छलफल गरेर प्रदर्शनको मिति तय गरिने निर्माण पक्षको भनाई छ।
चैत १०, २०८२ मंगलबार १९:१९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।