फिल्म ‘तेल भिसा’का निर्माता कार्की पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्कीलाई मंगलबार काठमाडौंको स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सिन्धुलीको सुनकोशी गाउँपालिका-७ घर भई हाल काठमाडौंको गोकर्णेश्वर-४, माकलबारी बस्ने ४४ वर्षीय कार्कीमाथि करिब २५० जना सर्वसाधारणलाई ठगी गरेको आरोप छ। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार कार्कीले विगत १० वर्षदेखि चाबहिलमा ‘पी एण्ड एम इनोभेटिभ सर्भिसेज’ नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए।
ठगीको उजुरी परेपछि विगत तीन महिनादेखि फरार रहेका कार्की भारतको नयाँ दिल्लीस्थित पहाडगन्जमा लुकेर बसेको अनुसन्धानबाट खुलेको छ। त्यहाँ उनले ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गरेको र भारत सरकारद्वारा जारी गरिएको आधार कार्ड तथा प्यान कार्डसमेत लिएको प्रहरीले जनाएको छ। उनलाई गोप्य सूचनाका आधारमा नेपाल आएको समयमा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कार्कीले पीडितहरूबाट प्रतिव्यक्ति १ लाखदेखि २० लाख रुपैयाँसम्म असुल गरेको देखिएको छ। हालसम्म १०० जनाभन्दा बढी पीडितहरू प्रहरीको सम्पर्कमा आइसकेका छन् भने कुल ठगी रकम २ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान छ।
कार्कीविरुद्ध वैदेशिक रोजगार विभागबाट ६ वटा पक्राउ पुर्जी जारी भएको थियो। साथै, उनीविरुद्ध २०८१ असार २४ गते प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरको मुद्दासमेत दर्ता भएको पाइएको छ। पक्राउ परेका कार्कीलाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
कार्कीद्वारा निर्मित फिल्म ‘तेल भिसा’ गत मंसिर ७ गते प्रदर्शनमा आएको थियो। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित यसै फिल्मका निर्देशक शंकर घिमिरे र निर्मात्री/अभिनेत्री ऋचा घिमिरेविरुद्ध पनि अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा गत कात्तिकमा उजुरी परेको थियो।
कार्कीले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफू केवल समन्वयकर्ता मात्र रहेको र आफू स्वयं अन्य व्यक्तिबाट ठगिएको दाबी गरेका छन्। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
चैत १०, २०८२ मंगलबार १८:४१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।