रविको मुद्दा बिहीबारका लागि 'हेर्दाहेर्दै'मा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको 'संगठित अपराध' र 'सम्पत्ति शुद्धीकरण' सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ बिहीबारका लागि 'हेर्दाहेर्दै'मा राखिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मंगलबार बहस नसकिएपछि मुद्दालाई अर्को सुनुवाइका लागि चैत १२ गते बिहीबारको पेसीमा राखिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सोमबारदेखि सुरु भएको सुनुवाइमा मंगलबार रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई तथा अधिवक्ताहरू टिका कुँवर, उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गरेका थिए। बिहीबार हुने सुनुवाइमा महान्यायाधिवक्ता सबिता भण्डारी बराल र सरकारी वकिलहरूले प्रतिरक्षा बहस गर्ने छन्। त्यसपछि सभापति लामिछानेका कानुन व्यवसायीहरूले आफ्नो पक्ष प्रस्तुत गर्नेछन्।
महान्यायाधिवक्ता सबिताले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमा 'संगठित अपराध' र 'सम्पत्ति शुद्धीकरण'को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। पछि माघ २ गते सोही मुद्दाका अन्य प्रतिवादीहरूको हकमा समेत लागू हुने गरी अर्को निर्णय भएको थियो।
महान्यायाधिवक्ताको उक्त निर्णय गैरकानुनी र स्वेच्छाचारी रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल, अधिवक्ता युवराज पौडेल 'सफल' र आभास रेग्मीले सर्वोच्चमा रिट दायर गरेका थिए। निवेदकहरूले सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर मुद्दामा उन्मुक्ति दिँदा मुलुक अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्न सक्ने भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।
सरकारी पक्षले भने फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई आधार मानी अभियोग संशोधन गरिएको तर्क गर्दै आएको छ। यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी सक्कल फाइल मगाउने आदेश दिएको थियो।
चैत १०, २०८२ मंगलबार १८:१५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।