रास्वपाले दलगत ट्रेड युनियन खारेज गर्ने भनिरहँदा श्रमिकका अधिकारबारे कांग्रेस सभापति थापाले के भने?
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र लोकतन्त्रले सुनिश्चित गरेका श्रमिकका अधिकार रक्षा गर्न आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।
फागुन २१ गते भएकाे निर्वाचनमा लगभग दुई तिहाइ बहुमत ल्याएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दलगत ट्रेड युनियनहरू खारेज गर्ने तयारी गरिरहेको बेला सभापति थापाले यस्तो धारणा राखेका हुन्।
रास्वपाले संविधानले व्यवस्था गरेको एउटा मात्र आधिकारिक ट्रेड युनियन कायम राखेर पार्टीपिच्छे खोलिने (दलगत) ट्रेड युनियनहरू खारेज गर्ने बताइरहँदा थापाले भने संविधानले ग्यारेन्टी गरेका सामाजिक न्याय र समानताका विषयमा कांग्रेस प्रस्ट रहेको बताए।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले भने, ‘संविधान र लोकतन्त्रले दिएका श्रमिकका अधिकारहरूलाई सुनिश्चित गर्ने विषयमा हामी भिजनरी भएर काम गर्छौं।’ यद्यपि उनले समग्र श्रमिकका अधिकारका विषयमा बोले पनि दलगत ट्रेड युनियनबारे भने मौन बसे।
यसका साथै, सभापति थापाले समसामयिक राजनीतिक र भ्रष्टाचारका मुद्दाहरूमा पनि गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले भदौ २४ गते एक नेताको घरमा ठूलो रकम भेटिएको भनिएको घटनाको तत्काल गहिरो अनुसन्धान हुनुपर्ने माग गरे।
त्यसैगरी, विवादित गिरिबन्धु टी इस्टेट प्रकरण, नेताको घरमा पैसा भेटिएको घटना लगायत पछिल्लो समय चर्चामा रहेका सम्पूर्ण काण्ड र विषयहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए।
यस्ता अनुसन्धानहरू कुनै राजनीतिक पूर्वाग्रह वा प्रतिशोधरहित ढङ्गले अघि बढ्नुपर्ने उनको भनाइ थियो।
चैत १०, २०८२ मंगलबार १४:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।