राजीनामाको अध्याय सकियो, अब महाधिवेशनको तयारीमा लागौँ : कांग्रेस सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो राजीनामा र त्यसमाथि केन्द्रीय कार्यसमितिले गरेको निर्णयको अध्याय अब सकिएको बताएका छन्।
केन्द्रीय समितिले आफ्नो राजीनामा अस्वीकार गरेपछिको बैठकलाई सम्बोधन गर्दै उनले अब पार्टीको सम्पूर्ण ध्यान आगामी महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका हुन्।
चुनावी नतिजाको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिए पनि केन्द्रीय समितिले त्यसलाई अस्वीकार गरेको थियो।
सोही विषयलाई प्रस्ट्याउँदै सभापतिले भने, ‘निर्वाचनसँग जोडिएर मैले गरेको निर्णय (राजीनामा) र त्यो निर्णयमाथि केन्द्रीय समितिले गरेको निर्णयको अध्याय अब सकियो। अब हामी महाधिवेशनतर्फ अघि बढ्नुपर्छ।’
आफूले नेतृत्वको हैसियतले जवाफदेहिता वहन गर्न मात्र राजीनामा दिएको उनले बैठकमा स्पष्ट पारे।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेर निर्वाचनको सम्पूर्ण प्रक्रिया विधिवत् रूपमा पूरा गरेपछि मात्र आफूले राजीनामा बुझाएको उनको भनाइ थियो।
‘मेरो नेतृत्वमा हामी निर्वाचनमा गएपछि मैले त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने मान्यताका साथ राजीनामा दिएको हुँ’, उनले भने।
विशेष महाधिवेशनबाट अत्यन्तै प्रतिकूल अवस्थामा आफूहरू निर्वाचित भएर आएको स्मरण गर्दै उनले निर्वाचनको समय र नतिजालाई लिएर विभिन्न कोणबाट समीक्षा हुन सक्ने बताए।
‘निर्वाचनमा जाँदा हामी नभएको भए के हुन्थ्यो वा हामीले तयारीका लागि अझ बढी समय पाएको भए नतिजा कस्तो हुन्थ्यो भन्ने कुरा पक्कै पनि छलफलमा रहला’, उनले भने।
विगतका कामकारबाही र निर्णयहरूको साङ्गोपाङ्गो समीक्षा अब महाधिवेशनमै हुने उनले बताए।
नेतृत्वमा रहेर अहिलेसम्म गरिएका निर्णयहरू सही थिए वा थिएनन् भन्ने विषयको अन्तिम फैसला र छलफल गर्ने थलो अब पार्टीको महाधिवेशन नै हुने भन्दै उनले सम्पूर्ण नेता-कार्यकर्तालाई त्यता केन्द्रित हुन आग्रह गरेका छन्।
चैत १०, २०८२ मंगलबार १३:५७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।