रामेछापमा ससुराले गरे ज्वाइँको हत्या
रामेछाप : रामेछापको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार हिजो सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङको बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङको कुटपिटबाट मृत्यु भएको हो।
घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७:३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ। ‘ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको र कसको घरमा जाने, कसकोमा नजाने भन्ने विषयमा झगडा हुँदा ससुराले सामान्य तरिकाले हातैले प्रहार गर्दा ज्वाइँको ज्यान गएको देखिन्छ,’ डीएसपी भट्टले भने।
प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ। पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
चैत १०, २०८२ मंगलबार १२:२२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।