पदयात्री पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक लैजानुपर्ने
काठमाडौं : देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लिएर जानैपर्ने भएको छ। अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ।
निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झण्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जानकारी गराएको छ।
विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार पदयात्रा अनुमतिसम्बन्धी प्राविधिक कठिनाइ भएमा सहजीकरणका लागि यसअघि नै छुट्टै सम्पर्क नम्बर (+९७७ ९७६१४२३६३६) को व्यवस्था गरिएको छ। निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति प्रदान गर्नेगरी विभागीय निर्णय भएको उनले जानकारी दिए।
पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु) को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनेछ। अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुनेगरी निर्धारण गरिएको छ।
एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात जना पदयात्री रहनेगरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ। पदयात्रामा जाने विदेशी नागरिकले आफ्नै मुलुकबाट पदयात्रा अनुमतिको आवेदन गर्ने विदेशीलाई भिसा आवेदन नम्बरका आधारमा पदयात्राका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ।
यस्तो व्यवस्थाबाट नेपालको पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी सिर्जना, पदयात्रीको व्यक्तिगत सुरक्षा र पदयात्रा सहजीकरणमा सहयोग पुग्ने विभागले अपेक्षा गरेको छ।
चैत १०, २०८२ मंगलबार १०:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।