रसुवाको कालिकास्थानमा इभी गाडीलाई स्कुटीले ठक्कर दिँदा एक घाइते

रसुवाको कालिकास्थानमा इभी गाडीलाई स्कुटीले ठक्कर दिँदा एक घाइते

रसुवा : पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवाको कालिका गाउँपालिका-२, प्राधिकरण चोकमा दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

यात्रु ओराल्न रोकिएको विद्युतीय (इभी) गाडीलाई पछाडिबाट स्कुटीले ठक्कर दिँदा स्कुटी चालक घाइते भएकी हुन्।

प्रहरीका अनुसार, दिउँसो करिब १२:५० बजे बेत्रावतीबाट कालिकास्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज १३२६ नम्बरको इभी गाडी प्राधिकरण चोकमा यात्रु झार्न रोकिएको थियो।

सोही क्रममा पछाडिबाट एउटै दिशामा आउँदै गरेको प्र. ३-०२-००९ प ६५९४ नम्बरको स्कुटीले उक्त गाडीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटी चालक कालिका गाउँपालिका-३ बेलचौरकी २२ वर्षीया शान्ति तामाङ सामान्य घाइते भएकी छन्। उनको स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेको छ।

इभी गाडी चलाइरहेका उत्तरगया गाउँपालिका-४ कर्मीडाँडाका २४ वर्षीय अनिश न्यौपाने भने सकुशल छन्।

ठक्करबाट इभी गाडीको पछाडिको ब्याक लाइट र बडीमा सामान्य क्षति पुगेको छ भने स्कुटीको अगाडिको हेडलाइट र भाइजरमा क्षति भएको छ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी हवल्दार आशाराम थोक्करको नेतृत्वमा दुई जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवै सवारी साधनका चालकसँग आवश्यक कागजपत्र रहेको पाइएको छ।

हाल दुर्घटनामा परेको स्कुटीलाई इलाका प्रहरी कार्यालय कालिकास्थानले आफ्नो नियन्त्रणमा राखेको छ भने इभी गाडी र त्यसका चालक प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।

चैत १०, २०८२ मंगलबार ०९:३९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।