संसद भवन अझै अधुरै, सपथका लागि चिटिक्क पारियो वैकल्पिक कक्ष (फोटो फिचर)

संसद भवन अझै अधुरै, सपथका लागि चिटिक्क पारियो वैकल्पिक कक्ष (फोटो फिचर)

काठमाडौं : फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएर आएका २७५ जना नवनिर्वाचित सांसदलाई स्वागत गर्न यतिबेला संघीय संसद् सचिवालयलाई चटारो छ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवनको मुख्य कक्ष तयार नभए पनि सांसदहरूको शपथ र सुरुवाती बैठकका लागि एउटा ‘वैकल्पिक कक्ष’ भने चिटिक्क पारेर सजाइएको छ।

राष्ट्रिय सभा बैठक कक्षतर्फको माथिल्लो तलामा रहेको बहुउद्देश्यीय कक्ष (मल्टीपर्पोज हल) लाई अहिले प्रतिनिधि सभाको बैठक बस्न मिल्ने गरी रूपान्तरण गरिएको छ।

यस्तो छ भित्री तयारी
कक्षभित्र प्रवेश गर्नासाथ अगाडिपट्टि सभामुखको भव्य आसन देखिन्छ। त्यसैको छेउमा संसद् सचिवालयका महासचिव र कर्मचारीहरूको सहजताका लागि सानो स्टेज बनाइएको छ। हलमा २७५ जना सांसद नै अटाउने गरी लहरै टेबल र कुर्सीहरू मिलाएर राखिएका छन्।

प्राविधिक रूपमा पूर्ण
यो कक्ष अस्थायी भए पनि प्राविधिक रूपमा कुनै कमी हुन दिइएको छैन। हरेक दुई जना सांसदले प्रयोग गर्न मिल्ने गरी एउटा माइक जडान गरिएको छ।

हलको चारैतिर दृश्य हेर्न सहज होस् भनेर ६ वटा टेलिभिजन स्क्रिन राखिएका छन् भने बैठकको रेकर्डिङका लागि ४ वटा भिडिओ क्यामेरा जडान भइसकेका छन्।

हलको अन्तिम भागमा प्रत्यक्ष प्रसारण र अडियो-भिडिओ नियन्त्रणका लागि छुट्टै ‘कन्ट्रोल रुम’ तयार पारिएको छ।

को कहाँ बस्छन्?
तयार भएको यो वैकल्पिक कक्षमा सभामुख आसनको दायाँतर्फ सत्ता पक्ष (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसदहरू बस्नेछन्।

त्यसैगरी, बायाँतर्फ प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूका लागि सिट व्यवस्थापन गरिएको छ।

प्रवेशका लागि वैकल्पिक बाटो
भवनको मुख्य प्रवेशद्वार र बाहिरी भाग अझै निर्माणाधीन अवस्थामा छ। त्यसैले, शपथ ग्रहणमा आउने सांसदहरूले वैकल्पिक बाटो प्रयोग गर्नुपर्नेछ।

उनीहरू मुख्य द्वारको दायाँतर्फ रहेको राष्ट्रिय सभा बैठक कक्षको अगाडि हुँदै एक तला माथि उक्लेर यो हलमा प्रवेश गर्नेछन्।

शपथको कार्यतालिका
निर्वाचन आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएसँगै संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे यही कक्षमा नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने तयारी गरेको छ।

त्यसअघि, चैत ११ गते बुधबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य (७८ वर्षीय) नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुन नरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नेछन् र उनैले अन्य सांसदहरूलाई शपथ खुवाउनेछन्।

बाहिर भने अधुरै छ भवन
भित्र वैकल्पिक कक्ष झकिझकाउ भए पनि बाहिरबाट हेर्दा संसद् भवनको निर्माण निकै सुस्त देखिन्छ। २०७६ असोज १ गते ठेक्का सम्झौता भई २०७९ असोज १६ गते नै बनिसक्नुपर्ने यो भवन अहिलेसम्म पूरा भएको छैन।

निर्माण कम्पनीको म्याद पाँचौँ पटक थप्दा पनि काम नसकिएपछि संसद् सचिवालयले वैकल्पिक कक्षको सहारा लिनुपरेको हो। मुख्य बैठक कक्ष तयार नहुँदासम्म अब सुरुवाती केही संसद् बैठकहरू यही वैकल्पिक कक्षबाटै सञ्चालन हुनेछन्।

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक सञ्चालनका लागि अन्तिम सरसफाइको क्रम जारी।

अन्तिम तयारीमा कर्मचारी र कामदार।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नका लागि बनाइएको वैकल्पिक व्यवस्था।

चैत १०, २०८२ मंगलबार ०९:१९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।