संसदीय दलको नेता चयन गर्दै रास्वपा, केन्द्रीय समितिको बैठकबाट हुनेछ निर्णय

संसदीय दलको नेता चयन गर्दै रास्वपा, केन्द्रीय समितिको बैठकबाट हुनेछ निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार आगामी चैत १२ गते बिहीबार अपराह्न ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको हो।

बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन र विविध विषय रहेको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए। सोही दिन नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको छ। शपथ लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'लाई संसदीय दलको नेता चयन गर्न संसदीय दललाई अख्तियारी दिने तयारी गरेको छ।

रास्वपा सह-प्रवक्ता एवं सांसद प्रतिभा रावलका अनुसार संसदीय दलको नेता चयन भएपछि सोही दिन संसदीय दलको बैठक बसेर उक्त निर्णयलाई औपचारिकता दिइनेछ। प्रतिनिधि सभामा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको रास्वपाले निर्वाचनअघि नै शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचन अगाडि रास्वपा र शाहबिच भएको सहमति अनुरूप नै उनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा अघि बढाउन लागिएको बताएका छन्।

संसदीय दलको नेता चयनको प्रक्रिया सम्पन्न भएलगत्तै प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। रास्वपाको तयारी अनुसार चैत १३ गते शुक्रबार बालेन शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन्। हाल रास्वपाका शीर्ष नेताहरू नयाँ मन्त्रिपरिषद् गठन र त्यससँग सम्बन्धित आन्तरिक तयारीमा व्यस्त छन्।

चैत ९, २०८२ सोमबार २२:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।