३४ जनालाई स्पष्टीकरण सोधिएकोमा २४ उम्मेदवारद्वारा जवाफ पेश
काठमाडौं : निर्वाचन आउन अब २६ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको अभियोगमा स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।
आयोगले कुल ३४ जनालाई स्पष्टीकरण सोधेको थियो। तीमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा २४ जनाले जवाफ बुझाएको र अन्यको जवाफ आइनसकेको जानकारी दिए।
आचारसंहिताको प्रभावकारी पालना गराउन तथा उल्लङ्घनका घटना न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रहेका छन्।
जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाउन र कार्यान्वयन सुनिश्चित गर्न ‘निर्वाचन आचारसंहिता, २०८२’ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी प्रदान गरिएको छ।
त्यस्तै, आर्थिक विषयमा अनुगमन गर्न जिल्लामा प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई ‘आचारसंहिता अनुगमन अधिकृत’ तोकिएको छ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ।
जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका उजुरीमाथि पनि आवश्यक कारबाही भइरहेको आयोगले स्पष्ट पारेको छ।
माघ २४, २०८२ शनिबार ०९:४५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।