कोशी र गण्डकीका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै
काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार, अहिले तराईका भू-भागमा हुस्सु लागेको छ भने कोशीसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा दिउँसो पनि हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहने अनुमान छ।
राति पनि कोशी र गण्डकीका उच्च भेगमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ भने तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ।
माघ २४, २०८२ शनिबार ०७:१५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।